नेपालगन्जमा एमालेको शक्ति बढाएका पशुपतिदयाल मिश्र आक्रमक संगठन बिस्तार अभियानमा


नेपालगन्ज – बाँकेको राजनीतिमा हाइप्रोफाइल राजनीतिज्ञमा पर्छन पशुपति दयाल मिश्र । जिल्लाका थोरै यस्ता नेताको सूचीमा उनको नाम पनि आउँछ जसका पछाडी ठुलो संख्यामा कार्यकर्ता राजनीतिक बिचारसंग आवद्ध नभएपनि संगै हिड्छन् ।

२०७४ सालमा नेकपा एमालेको चुनाव चिन्ह सुर्यबाट निर्वाचन लडेका यिनै नेता मिश्र अहिले भने एमालेमै आवद्ध भई आगामी स्थानीय तहको निर्वाचित लक्षित अभियानमा सक्रिय छन् । उनको आगमनसंगै एमालेको नेपालगन्जमा शक्ति बिस्तार भएको छ । नरैनापुर, डुडुवा, जानकी जस्ता पालिकाहरुमा मिश्रको प्रभाव देखिएको छ । एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सहइन्चार्ज रहेका मिश्र सामु आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउने चुनौती पनि रहेको छ ।

कार्यकर्ता माझ मिश्र भन्छन्–‘जिल्लाभर एमालेको झण्डा गाड्ने अभियानमा हामी सबै नेता कार्यकर्ता यतिबेला सक्रियतापूर्वक लागेका छौं ।’ मिश्रको आगमनले मधेसी समुदायमा एमालेको राम्रो प्रभाव परेको छ । यतिबेला मधेसी समुदायका दिग्गज नेता तथा कार्यकर्ता पार्टीमा आवद्ध भइरहेको मिश्र बताउँछन् । त्यसको परिणाम निर्वाचनमा देखिने उनको भनाई छ । जिल्लामा एमालेको शक्ति बिस्तारमा लागिरहेका मिश्र नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा निर्वाचन लड्ने चर्चा चलेको छ ।

पार्टीले आधिकारिक निर्णय भने गरिसकेको छैन । मिश्रले आफुहरु एमालेलाई जिल्लामा बलियो बनाउन केन्द्रीत रहेकाले अहिले नै को के लड्ने भन्ने कुरा भनिहाल्ने अवस्था नरहेको बताउँछन् । तर उनी मेयरमा उठ्ने बिषयलाई प्रतिस्पर्धीहरुले चासोपूर्वक हेरिरहेका छन् । हाइप्रोफाइल नेता भएको र बिगतको संसदीय चुनावको प्रतिकुल अवस्थामा समेत सम्मानजनक मत ल्याएका कारण उनको प्रतिस्पर्धालाई सबैले नियालिरहेका छन् ।

प्रकाशित मितिः     ३ फाल्गुन २०७८, मंगलवार १६:३०  |