संसद र सडकमा एमसीसी बिवाद चर्किदा कहाँ छन् अर्थमन्त्री ?


सामाजिक सन्जालबाट

नेपालगन्ज-२७ माघमा अमेरिकी सहायता परियोजना एमसीसीबारे आफ्ना धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए, -मैले बुझेको एमसीसी ऊर्जा र सडकमा काम गर्ने परियोजना मात्रै हो । बाहिर प्रचार गरिएजस्तो परियोजना यो होइन ।

शर्मा त्यत्तिमै रोकिएनन्, अघि बढेर भने, -एमसीसीको टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा दौडधुपमा हुनुहुन्छ । एमसीसी पास गर्न प्रधानमन्त्रीलाई मेरो साथ रहन्छ ।

माओवादीका प्रभावशाली नेतासमेत रहेका अर्थमन्त्री शर्माले पार्टीको लाइनभन्दा फरक दृष्टिकोण राखेका थिए । पार्टीका अधिकांश नेताहरू एमसीसी संसदबाट पास गर्न नहुने पक्षमा उभिएका बेला अर्थमन्त्री शर्माले एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा मत राखेका थिए ।

तर, ८ फागुनमा संसदमा एमसीसी टेबल गर्ने कार्यसूची तय भएपछि भने अर्थमन्त्री शर्मा अकस्मात् बिरामी परेको भन्दै संसदमा उपस्थित भएनन् । संसदमा अर्थमन्त्री शर्माले नै एमसीसी टेबल गर्ने कार्यसूची थियो तर उनी उपस्थित नभएपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी टेबल गरेका थिए ।

एमसीसी टेबल भएपछि संसदमा उपस्थित नहुन बहाना खोज्दै हिँडेका अर्थमन्त्री ११ फागुनमै पर्वत हानिए । जबकि संसदमा १२ फागुनमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुने कार्यसूची थियो । कार्यसूचीअनुसार एमसीसी सम्झौता सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेस गर्नुपर्ने थियो ।

एमसीसी टेबल भएपछि भने अर्थमन्त्री शर्माले आफ्नो प्रस्ट धारणा राखेका छैनन् । उनी न एमसीसीको पक्षमा उभिएका छन्, न त विपक्षमा । एमसीसीमाथिको छलफल छल्न उनी अहिले काठमाडौंबाहिरका कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुनुअघि एक दिनअघि ११ फागुनमा उनी पर्वत र बाग्लुङका लागि निस्किए । अर्थमन्त्री शर्माले बुधबार साँझ स्काई काफेमा रमाउँदै गरेको भिडियो बाहिरियो ।

उनले बुधबार र बिहीबार पर्वत तथा बाग्लुङका पर्यटकीयस्थलको अवलोकन गरेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार उनी सोमबार मात्रै काठमाडौं आउने कार्यक्रम छ । र, काठमाडौं आएलगत्तै विराटनगर प्रस्थान गर्ने कार्यक्रम छ । एमसीसी पास गर्नुपर्छ भनेर अभिव्यक्ति दिएका अर्थमन्त्री शर्माले बिहीबार पर्वतमा भने बोली फेरेका छन् ।

कपर्वत उद्योग वाणिज्य संघको ४६औँ स्थापना दिवस तथा ३९औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एमसीसी पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने बताएका छन् । ‘एमसीसी अहिले राष्ट्रिय संकटको इस्यु र विषय बनेको छ । यसले समाज र पार्टीलाई विभाजित बनाएको छ,’ उनले भने, ‘त्यसबाट बच्न राष्ट्रिय सहमतिको आवश्यकता छ । राष्ट्रिय सहमतिबिना पास गरिए यसले नेपालमा ठूलो समस्या पैदा हुन्छ ।’

तीन वर्षअघि तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले अर्थ विधेयकका रूपमा संसदमा दर्ता गराएको विधेयक गत आइतबार सरकारले संसदमा टेबल गरेको हो । सरकारमा बसिरहने र आफ्नो जिम्मेवारीबाट भागिरहने प्रवृत्ति अर्थ मन्त्री शर्माले देखाएका छन् ।

प्रकाशित मितिः     १२ फाल्गुन २०७८, बिहीबार १६:४९  |