नगरन्मुख क्षेत्रमा सांग्रिला बैंकको आक्रामक शाखा बिस्तार


नेपालगन्ज – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रासरुटका नागरिकलाई बैंक तथा वित्तीय सेवाको पहुँचमा ल्याउने गरी नगरन्मुख ठाउँमा आक्रमक शाखा बिस्तार गरिरहेको छ । बिशेष गरी साविकको मध्यपश्चिम र हालको कर्णाली, लुम्बिनी प्रदेशका नगरन्मुख ठाउँहरुमा शाखा बिस्तार गरी त्यहाँका निम्न आय भएका सेवाग्राहीलाई बैंकको पहुँचमा ल्याउने काम गरिएको क्षेत्रीय प्रबन्धक जयन्द्र खड्काले बताउनुभयो ।

उहाँका अनुसार बिहिवार मात्र बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ६ जयनगर  (मगरागढी) मा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले बिहीबार जयनगर (मगरागढी) शाखा सञ्चालनमा ल्याएको हो । यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु (कबिर) तथा बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईले संयुक्त रुपमा गर्नुभयो ।

यो शाखा कार्यालय सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको बैंकका अध्यक्ष प्रसाईले बताउनुभयो ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ । एक वर्षअघिसम्म यस क्षेत्रमा १६ वटा शाखा थिए । पछिल्लो एक वर्षमा नौंवटा शाखा थप भएका छन् । बर्दियाको राजापुर, सानोश्री, भुरीगाउँ लगायत पाँच स्थान, सुर्खेतको एरीचोकमा थप, सल्यान, रुकुम र दागं जिल्लाका ग्रामीण क्षेत्रमा शाखा बिस्तार गरी कारोवार भइरहेको छ ।

 

प्रकाशित मितिः     १२ फाल्गुन २०७८, बिहीबार १९:५५  |