नेपालगन्ज नाकामा कुखुरा र हाँसको ‘बाेनलेस’ मासुकाे तस्करी, मलेसियाकाे उत्पादन !


नेपालगञ्ज -प्रहरीले भारतबाट अवैध रुपमा भित्रयाईएको करिब सात कुइन्टल मासु पनि नियन्त्रणमा लिएको छ ।

बरामद मासु बाेनलेस रहेकाे र मलेसियाकाे उत्पादन लेखिएको स्टिकर भेटिएको छ ।

बर्डफ्लुको उच्च जोखिमका विचपनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भने जारी नै रहेको हाल बरामद गरिएको यति धेरै परिमाणको कुखुरा र हाँसको मासुले पनि पुष्टि गरेको छ ।

यसरी दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकोले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको उनिहरुको गुनासो छ ।

भारतमा सस्तो पाइने गुाण्स्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिने क्रम नरोकिएकोले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं लगानी डुब्ने अवस्थामा आएको व्यवसायीले निरन्तर गुनासो पोख्दै रोक्न माग गर्दै आएका छन् ।

तर, व्यवसायीले जतिसुकै माग गरेपनि सो अवैध आयात र तस्करी भने निरन्तर जारी नै रहेको पाईएको छ । सोही क्रममा शुक्रवार वडा प्रहरी कार्यालय नेपालगञ्जले जानकी गाउँपालिका १ साईगाउँ नजिकबाट भन्सार र क्वारेन्टाइन छलेर चोरी पैठारी गरेर नेपालगञ्जतर्फ ल्याउँदै गरेको ४ कुइन्टल पाँच केजी कुखुराको मासु र दुई कुइन्टल ८० केजी हाँसको मासु गरेर करिब सात कुइन्टल मासु बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार कुखुराको मासुको मुल्य १ लाख ६२ हजार र हाँसको मासुको मुल्य १ लाख ९६ हजार गरेर ३ लाख ५८ हजारको मासु नियन्त्रणमा लिईएको छ ।

प्रहरीले बरामद गरेको सो मासुलाई थप आवश्यक कारबाहिको लागी पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जमा पठाईएको पनि वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।

प्रकाशित मितिः     १३ फाल्गुन २०७८, शुक्रबार १४:१८  |