सहकारीकाे ब्याजदर १६%, सेवा शुल्क १% कायम


काठमाडौं । सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ ।

शुक्रबार  बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको सन्दर्भ ब्याजदर निर्धारण समितिका सदस्य एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी गराउनुभयो । पटक पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निस्कर्षमा पुग्न सकेको थिएन ।

सहकारीले अभियानले बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता अभाव तथा बढेको ब्याजदर र सहकारीमा क्यापिङको रुपमा रहेको १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरले गर्दा सम्पत्ती दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै दबावमूलक अभियान संचालन गरेको थियो । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले शुक्रबार आगामी फागुन १५ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो ।

सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकमा राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई समेत आमन्त्रण गरिएको थियो । सो बैठकले अब चार/चार महिनामा नियमित रुपमा बैठक बसी सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

‘बजारमा ब्याजदर बढ्दै गएमा फेरी तत्काल बैठक बसी निर्णय गर्ने समेत सहमति भएको हो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत तोकिएको थियो ।

यस अघि प्राविधिक उपसमितिको बैठक बसेको थियो । सहकारी संस्थाहरुका लागि तोकिने सन्दर्भ ब्याजदर सहकारी संस्थाहरका लागि निर्देशक ब्याजदरका रुपमा रहेन व्यवस्था छ । धेरै छलफल पछि सरकार र अभियानबीच १६ प्रतिशतमा सहमत भएको हो ।

शुक्रबार बिहानदेखि ब्याजदर अध्ययन गर्न प्राविधिक उप समितिमा छलफल भएको थियो । प्राविधिक समितिले पछिल्लो तथ्यांकका आधारमा छलफल गरी सहकारीको सन्दर्भ ब्याजदरको टुङ्गो लगाएको हो ।

प्राविधिक उपसमितिका सदस्य एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले समितिले प्राविधिक छलफलका लागि बल उपसमितिकै कोर्टमा उपलब्ध गराएको स्थितिमा आज बिहान थप छलफल भएको बताउनुभयो ।

उहाँले इन्फ्लेसन रेट, राष्ट बैंकले जारी गरेको निर्देशन, तरलताको स्थिति आदि कारणले ब्याजदर बढाउन आवश्यकता भएको निष्कर्ष उपसमितिको रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, -बजारको आधारमा ब्याजदर स्वचालित निर्धारण हुने व्यवस्था कायम गरिनुपर्छ । आधार दर अनुसार ब्याजदर कायम गरिनुपर्छ ।

प्रकाशित मितिः     १४ फाल्गुन २०७८, शनिबार ११:१७  |