नेपालगन्ज–एकचालिस बर्ष पुरानो नेपालगन्ज बिमानस्थलको ‘टर्मिनल हाउस’ स्तरोन्नतीका लागि बनेको योजना कार्यान्वयन हुन पाएको छैन । रु ३ अर्व बजेट बिनियोजन गरी टेण्डर भएर सम्झौता प्रक्रिया गइसक्दा समेत योजना अगाडी बढ्न नसकेपछि नेपालगन्ज विमानस्थल स्तरोन्नती हुने आशा गर्नेहरु निरास भएका छन् ।
पूर्वबर्ती संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईको योजना खारेज गरेर बर्तमान संस्कृति मन्त्री प्रेम आलेले अन्य विमानस्थलका बजेट लग्न लागेको हल्ला पनि फैलिएको छ । तर नागरिक उड्यन प्राधिकरण स्रोतले कोरोनाका कारण बजेट अभाव भएको दाबी गर्दै स्रोत व्यवस्थापन नहुँदा योजना कार्यान्वयन हुन नसकेको प्रतिक्रिया दिएको छ ।
टर्मिनल हाउस लगायत विमानस्थल स्तरोन्नतीका लागि तत्कालिन पर्यटन मन्त्री भट्टराईसंग समन्वय गर्नुहुने नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले योजना अनुसार टर्मिनल हाउस बन्न नदिने षडयन्त्र भएको भन्दै सामाजिक सन्जालमा खबरदारी गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,
‘माननीय योगेश भट्टराई पर्यटन मन्त्री हुँदा बाँकेवासीको बिनम्र अनुरोध पछि नेपालगन्ज विमान स्थलको टर्मिनल घरको आधुनिकिकरण सहितको अन्य कामका लागि करिब ३ अर्ब बजेटको ब्यवस्था गरि टेन्डर समेत भैसकेको अवस्थामा बर्तमान सरकारले उक्त टेन्डरलाई स्थगित गरि बजेट अन्यत्र लैजाने षड्यन्त्रको घोर निन्दा गर्दछु । साथै यो बाँकेको विकास बिरोधी षड्यन्त्रको जमेर प्रतिवाद गर्न सम्पूर्ण राजनीतिक दल ,नागरिक समाज लाई आव्हान गर्द्छु ।’
२०३७ सालदेखि सन्चालनमा रहेको नेपालगन्ज बिमानस्थल देशकै घरेलु उडानमा व्यस्त बिमानस्थल हो । दैनिक कयौं उडान हुने बिमानस्थलमा संर्याैको संख्यामा यात्रुहरु आउजाउ गरिरहेका छन् । नेपालगन्ज– दिल्ली उडानको आवाज समेत उठिरहेको छ । तर टर्मिनल हाउस भने उही ४१ वर्ष पुरानैबाट काम चलाइएको छ । नागरिक उडडयन प्राधिकरण नेपालगन्जका प्रमुख सुभाष झाले बिमानस्थलको टर्मिल हाउस पुरानो र ज्यादै सांघुरो भएको बताउनुभएको छ । उहाँका अनुसार आधुनिक टर्मिन हाउसको आवश्यकता भएरै नयाँ बनाउने योजना बनेको जानकारी दिनुभयो । ‘टेण्डर भयो भन्ने जानकारी आयो तर थप के भयो भन्ने थाहा भएन । यो सबै काम केन्द्रबाटै हुन्छ ।’– उहाँले भन्नुभयो ।
टेण्डर भएर पनि पछि रद्ध गरिएको बिषयले नेपालगन्ज बिमानस्थल सुधारको काम नहुने होकी भन्ने आशंका उब्जिएको छ । तर प्राधिकरणको उच्च स्रोतले कोरोनाका कारण बजेट रकमानान्तरण हुँदा नेपालगन्ज र बिराटनगर बिमानस्थलको टर्मिनल हाउस निर्माणको योजना शुरु हुन नसकेको दाबी गर्दै स्रोत व्यस्थापन हुनासाथ काम अघि बढ्ने जानकारी दिएको छ ।