लघुवित्त वित्तका शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै, कृषिमा लगानीकाे हिस्सा पनि बढि


नेपालगन्ज- प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको ।

नेपाल राष्ट «बैंकले सार्बजनिक गरेको आर्थिक वर्ष २०७७/७८ काे प्रथम त्रयमास – २०७७ असोज “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार, २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११ सय ३५ वटा शाखाहरु संचालनमा रहेका छन् ।

तत्पश्चात् लघुवित्त वित्तीय संस्थाको १०३१ शाखाहरु भएको मधेस प्रदेश दोस्रो स्थानमा रहेको छ ।

यसैगरी प्रदेश नं. १ मा लघुवित्त वित्तीय संस्थाको ८४९ शाखाहरु, बाग्मती प्रदेशमा ७२० शाखाहरु, गण्डकी प्रदेशमा ५६३, कर्णाली प्रदेशमा २२५ र सुदुर पश्चिम प्रदेशमा ४४२ शाखाहरु संचालनमा रहेका छन्।

लघुवित्त वित्तीय संस्थाहरुको संख्या पछिल्लो समयमा मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेतापनि शाखा विस्तारको क्रम भने जारी नै रहेको छ । २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७८ पुस मसान्तसम्ममा उक्त संख्या घटेर ६७ कायम भएको छ । ६७ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोककर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६३ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन्।

लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा ७.४४ प्रतिशतले वृद्धि भई ४ हजार ९ सय ६५ पुगेको छ । सो अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको केन्द्र संख्या ११.४३ प्रतिशतले वृद्धि भई ४ लाख ४ हजार, सदस्य संख्या ८.२९ प्रतिशतले वृद्धि भई ५६ लाख २२ हजार, ऋणी संख्या ५.९७ प्रतिशतले वृद्धि भई ३१ लाख ७१ हजार पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुमा २३ हजार २ सय ८१ जना कर्मचारीहरु कार्यरत रहेका छन्, जुन २०७८ असारमसान्तको तुलनामा ११.५४ प्रतिशतले बढी हो । लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सा बढेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले २०७८ पुस मसान्तमा प्रवाह गरेको कर्जा रकम रु. ४ खर्ब ३० अर्ब ६८ करोड मध्ये रु. १ खर्ब ९५ अर्ब ८१ करोड अर्थात ४५.४७ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । २०७८ असार मसान्तमा कृषि क्षेत्रमा रु. १ खर्ब ६३ अर्ब ८६ करोड अर्थात ४४.८२ प्रतिशत कर्जा प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु
तथा लघु उद्योग क्षेत्रमा ३.३९ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३१.२२ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको हिस्सा
१२.७३ प्रतिशत रहेको छ ।

प्रकाशित मितिः     २२ फाल्गुन २०७८, आईतवार १६:३४  |