राजापुरका महिलाले स्वादिष्ट अचार बनाउन सिके, अब बजारीकरण गर्ने


नेपालगन्ज – ११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको मौकामा युनिक नेपालले बर्दियाको राजापुरमा आयोजना गरेको व्यावसायिक अचार बनाउने सम्बन्धी तालिमको समापन भएको छ ।

युनिक नेपालले सो तालिम विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि तीन दिनको तालिमको आयोजना गरेको हो ।

महिलाहरुलाई व्यवसायिकरुपमा अचार बनाउन तथा उत्पादन गर्न तथा बजारीकरण गरेर आर्थिक आम्दानी बृद्धिका लागि सो तालिमको आयोजना गरिएको हो ।

तालिको उद्घाटन युनिक नेपालका संरक्षक तथा भूमी सुधार व्यवस्था पूर्वमन्त्री डा. गोपाल दहितले गर्नु भएको थियो । अहिले बजारमा अचारको माग राम्रो रहेको र महिलाहरुमा अचार बनाउने सिप पनि रहने भएकाले यो तालिमले महिलाहरुलाई व्यवसायिक बनाएर जिविकोपार्जनमा सहज बनाउने विश्वास व्यक्त गर्नु भयो । साथै, उहाँले महिलाहरुले यो सिपको विकास भएपछि आत्मनिर्भर बन्न र आफ्ना बालबालिकाहरुको शिक्षादीक्षामा समेत टेवा पुर्याउने बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले युनिक नेपालले स्थापना काल देखि नै महिलाहरुको आर्थिक, सामाजिक र साँस्कृतिक सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आइ रहेको अवस्थामा महिलाहरुमा उद्यमी बनाउन अचार बनाउने तालिमको आयोजना गरेको बताउनु भयो ।

उहाँले, तालिमपछि महिलाहरुले समूह बनाएर उद्योग दर्ता गर्ने र यस कार्यमा युनिक नेपालले सहयोग गर्ने बताउनु भयो ।


तीन दिन सम्म चलेको अचार बनाउने तालिममा महिलाहरुले अमलाको अचार, खुर्सानीको अचार, मिक्स अचार, मासुको अचार, सिढ्राको अचार, मुलाको अचार र आलु चिप्स लगायतका अचार बनाउन सिक्नेछन् । तालिमको सहजीकरण रेखा शर्मा चौधरीले गरेको युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले जानकारी गराउनु भयो ।

यसैगरि, ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को पूर्वसन्ध्यामा बर्दियाको राजापुरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ४४ पिन्ट रक्त संकलन गरिएको छ ।

स्थानिय व्यक्तित्वहरुले रक्तदान गर्नु भएको छ । राजापुर नगरपालिकाको आयोजना, युनिक नेपालको आर्थिक सहयोग र नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा बर्दियाको समन्वय तथा प्राविधिक सहयोगमा नेपाल स्वयमसेवी रक्तदाता समाज राजापुरको समन्वयमा बर्दिया उद्योग वाणिज्य संगको परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्त दान जीवन दान भन्दै रगत अभावका कारणले महिला दिदी बहिनी लगायत कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने हेतुले रक्तसंकलन कार्यक्रम आयोजना गरिएको युनिक नेपालका अध्यक्ष तथा प्रमुख अतिथि पिरिम बहादुर थारुले वताउनु भयो ।

राजापुर क्षेत्रका स्थानीयलाई रगतको अभाव भइ रहने अवस्था भएकाले राजापुरमा संकलन गरिएको रगत ब्लड बैक र रेडक्रस सँगको समन्वयमा सर्वसुलभ पहुँचका लागि नगरपालिकाको पहलमा कार्यक्रम आयोजना गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो ।

कार्यक्रको समापन गर्दै सभाध्यक्ष नगर उपप्रमुख मनकला कुमारी चौधरीले नारी दिवसको अवसर पारेर पुण्यको काम गरेको र नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेर यस क्षेत्रका जनतालाई रगतको अभावलाई अन्त्य गर्ने उद्देश्यले कार्यक्रम गरेको प्रष्ट्याउनु भयो ।

रक्तदान गर्ने सबैलाई उहाँले धन्यवाद दिनु भएको छ । कार्यक्रमको सञ्चालन राजापुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता थारुले गर्नु भएको थियो । रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको रेडक्रस शाखाले जनाएको छ ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७८, मंगलवार १८:४२  |