एक हप्ताकै बिचमा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य १०० अमेरिक डलर बढिसकेको छ ।
‘रसिया–युक्रेन युद्ध सुरु हुने बेलामा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य ५५० अमेरिकी डलर थियो। अहिले बढेर ७६५ अमेरिकी डलर पुगिसकेको छ’ न्यौपानेले भने, ‘नेपालमा फलाम खानी छैनन्, सबै फलाम आयात गर्नुपर्छ, त्यसैले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यले आन्तरिक बजार पनि प्रभावित भयो ।’
अन्तर्राष्ट्रिय बजारमा फलामको भाउ अझै बढ्न सक्ने अनुमान छ ।
‘हामीले देशभित्रै बिलेट उद्योग लगाएर देशभित्र रहेका फलाम खानी खन्नुपर्छ, यदि हामीले नवलपरासीको फलाम खानी उत्खनन गर्न सकेको भए अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि नेपाली बजार प्रभावित हुने थिएन’ न्यौपानेले भने, ‘हामी सिमेन्टको कच्चा पदार्थ कंक्रिट र सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको हुँदा अन्तर्राष्ट्रिय बजारमा कंक्रिट र सिमेन्टको मूल्य बढ्दा पनि नेपालमा सिमेन्टको मूल्य घटिरहेको छ ।’
यदि सिमेन्टमा पनि विदेशकै भर पर्नु परेको भए अहिले सिमेन्टको मूल्य पनि बढिरहेको हुनसक्ने उनको भनाई छ ।
रसिया–युक्रेन युद्धको बाछिटा नेपाली भान्छासम्मै पुगेको छ । अहिले बजारमा खाने तेल, पेट्रोलियम पदार्थदेखि सुनलगायत विभिन्न बस्तुको मूल्य उच्च बिन्दूमा पुगेको छ । पेट्रोलको मूल्य लिटरकै १५० रुपैयाँ र मट्टितेल–डिजेलको मूल्य लिटरकै १३६ रुपैयाँ पुगेको छ ।
नेपाली मुद्रा कमजोर बन्दै गएपछि अमेरिकी डलरको भाउ पनि अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । अहिले नेपाली बजारमा पहँलो धातु सुनको मूल्य पनि बढेर तोलाको १ लाख ३ हजार रूपैयाँ नाघिसकेको छ ।