बाँकेमा पूर्ववर्ती सरकारका विकासे याेजनामा प्रतिशाेध !


नेपालगन्ज २९ फागुण : नेकपा एमाले नेतृत्वकाे पूर्ववर्ती केन्द्र र प्रदेश सरकारकाे पालामा बाँकेमा परेका याेजना अहिले कटौती गर्न थालिएको छ । बिपक्षी दल एमालेले प्रतिशाेधपुर्ण कार्यको बिरोध भइरहेकाे छ ।

प्रतिशाेधकाे उदाहरण १-

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापन, बिद्युत बितरण लगायत पूर्वाधार निर्माणका लागी चालु आर्थिक बर्षमा बिनियोजन गरिएको मध्ये रु ३८ करोड रकम रकमान्तर गर्न उद्योग मन्त्रालयमा पत्र पठाएको छ ।

फागुण २२ गते पठाइएको पत्रमा बस्ती ब्यवस्थापनको किचलोलाई बहाना बनाउँदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले उक्त रकम रकमान्तरका लागि उद्योग मन्त्रालायलाई पत्र पठाएका हुन ।

चालु आबको लागि नौवस्ता औद्योगिक क्षेत्रका जग्गाको विकास कार्य गर्न रु २५ करोड, सडक बनाउन रु १० करोड, बिद्युत बितरण कार्यका लागि अन्य बिभिन्न जिल्लाका औद्योगिक क्षेत्र सहित १० करोड बिनियोजन गरिएको थियो । प्रथम चौमासिकमा सडक निर्माण लगायतका कामका लागि रकम निकासा माग गरिएकोमा बस्ती बिस्तारको काम हुन नसकेको जस्तो गैरजिम्मेवार कारण देखाउँदै हाल सन्चालनमा रहेका पुरानो औद्योगिक क्षेत्र मर्मत सम्भारको काममा प्रयोग हुने गरी बजेट रकमानान्तरण गर्न डिजी सिटौलाले पत्र पठाएका हुन । बस्ती ब्यवस्थापतिर लाग्नु भन्दा सरकार फेरिएसङै बिनियाेजित बजेट नै अन्त लैजान खोजिदै छ ।

प्रतिशाेधकाे उदाहरण २-

एकचालिस बर्ष पुरानो नेपालगन्ज बिमानस्थलको ‘टर्मिनल हाउस’ स्तरोन्नतीका लागि बनेको योजना कार्यान्वयन हुन पाएको छैन । रु ३ अर्व बजेट बिनियोजन गरी टेण्डर भएर सम्झौता प्रक्रिया गइसक्दा समेत योजना अगाडी बढ्न नसकेपछि नेपालगन्ज विमानस्थल स्तरोन्नती हुने आशा गर्नेहरु निरास भएका छन् ।

पूर्वबर्ती संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईको योजना खारेज गरेर बर्तमान संस्कृति मन्त्री प्रेम आलेले अन्य विमानस्थलका बजेट लग्न लागेको हल्ला पनि फैलिएको छ । तर नागरिक उड्यन प्राधिकरण स्रोतले कोरोनाका कारण बजेट अभाव भएको दाबी गर्दै स्रोत व्यवस्थापन नहुँदा योजना कार्यान्वयन हुन नसकेको प्रतिक्रिया दिएको छ ।

टर्मिनल हाउस लगायत विमानस्थल स्तरोन्नतीका लागि तत्कालिन पर्यटन मन्त्री भट्टराईसंग समन्वय गर्नुहुने नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले योजना अनुसार टर्मिनल हाउस बन्न नदिने षडयन्त्र भएको भन्दै सामाजिक सन्जालमा खबरदारी गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,

‘माननीय योगेश भट्टराई पर्यटन मन्त्री हुँदा बाँकेवासीको बिनम्र अनुरोध पछि नेपालगन्ज विमान स्थलको टर्मिनल घरको आधुनिकिकरण सहितको अन्य कामका लागि करिब ३ अर्ब बजेटको ब्यवस्था गरि टेन्डर समेत भैसकेको अवस्थामा बर्तमान सरकारले उक्त टेन्डरलाई स्थगित गरि बजेट अन्यत्र लैजाने षड्यन्त्रको घोर निन्दा गर्दछु । साथै यो बाँकेको विकास बिरोधी षड्यन्त्रको जमेर प्रतिवाद गर्न सम्पूर्ण राजनीतिक दल ,नागरिक समाज लाई आव्हान गर्द्छु ।’

२०३७ सालदेखि सन्चालनमा रहेको नेपालगन्ज बिमानस्थल देशकै घरेलु उडानमा व्यस्त बिमानस्थल हो । दैनिक कयौं उडान हुने बिमानस्थलमा संर्याैको संख्यामा यात्रुहरु आउजाउ गरिरहेका छन् । नेपालगन्ज– दिल्ली उडानको आवाज समेत उठिरहेको छ । तर टर्मिनल हाउस भने उही ४१ वर्ष पुरानैबाट काम चलाइएको छ । नागरिक उडडयन प्राधिकरण नेपालगन्जका प्रमुख सुभाष झाले बिमानस्थलको टर्मिल हाउस पुरानो र ज्यादै सांघुरो भएको बताउनुभएको छ । उहाँका अनुसार आधुनिक टर्मिन हाउसको आवश्यकता भएरै नयाँ बनाउने योजना बनेको जानकारी दिनुभयो । ‘टेण्डर भयो भन्ने जानकारी आयो तर थप के भयो भन्ने थाहा भएन । यो सबै काम केन्द्रबाटै हुन्छ ।’– उहाँले भन्नुभयो ।

प्रतिशाेधकाे उदाहरण ३-

लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारी अगाडी बढाएको छ । बाँकेको खजुरामा स्थापना गर्ने गरि पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट अन्यत्र सार्ने तयारी गरिएको खुलासा गरेका छन् ।

प्रदेश योजना आयोगले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पक्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष क्षेत्रीले खजुरामा विश्वबिद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने गरि तयारी गरिएको खुलासा गरे । उनले नयाँ करिकुलम र सोँचकासाथ विश्वबिद्यालय संचालन गर्ने प्रदेश सरकारले योजना बनाइरहेको भन्दै विश्वबिद्यालय ऐन र नियमावली बनिसकेको जानकारी दिए ।

नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति एमाले नेतृत्वकाे सरकारका पालामा आएका याेजना कित शुरू हुन नदिने, भएकै याेजनामा समेत प्रतिशाेध साध्ने काम भएको बताउनुभयाे । उहाँले भन्नुभयो – बिकासमा यस्ताे राजनीति गरेकाे ठिक भएन ।

 

 

 

 

प्रकाशित मितिः     २९ फाल्गुन २०७८, आईतवार ०७:२३  |