गाभर हाेमस्टेमा ‘मौलिक खाना महोत्सव’ यसकारण हुँदै छ बिशेष


बाँके, ६ चैत : लुम्बिनी प्रदेशका आदिबासी जनजाती तथा हिमाली भेगमा खाइने रैथाने खानाको जानकारी गराउन १२–१३ चैतमा गाभर भ्याली होमस्टेमा आयोजना हुने ‘मौलिक खाना महोत्सव’ लाई प्लाष्टिक रहित बनाइने भएको छ ।

प्लाष्टिक र प्लाष्टिकजन्य बस्तुले पर्यावरणमा असर पार्ने भएकोले ‘मौलिक खाना महोत्सव’ मा कुनै पनि प्लाष्टिक र प्लाष्टिकजन्य बस्तु प्रयोग नगर्ने निर्णय भएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।
उनले महोत्सवलाई प्लाष्टिक मुक्त बनाउने योजना भएको सुनाए । प्लाष्टिकले बातावरणसँगै मानविय स्वास्थ्यमा असर पार्ने भएकोले महोत्सवमा प्लाष्टिक पूर्ण रुपमा बन्देज गरिएको उनको भनाई छ ।

‘गाभर भ्याली होमस्टेले रैथाने खानाको संरक्षणमात्र गरेको छैन, बातावरण संरक्षणमा पनि एक कदम अगाडी छ,’ उनले भने ।

महोत्सवमा साल र मालु पातको दुना, टपरी प्रयोग गरिने गाभर भ्याली होमस्टे संचालक समितिका सचिव अनिलकुमार थापाले बताए । उनले महोत्सवमा आएका पाहुनालाई साल र मालुबाट तयार पारिएको दुना, टपरीमा मात्र खानाका परिकार खुवाउने स्पष्ट पारे ।

आवश्यक पर्ने दुना, टपरीको जोहो भइसकेको बताउँदै उनले प्लाष्टिकका झोलासमेत प्रयोग नहुने दावी गरे । ‘महोत्सव अवधिभर झण्डै १० हजार दुना र टपरी खपत हुने अनुमान छ,’ उनले भने ।

उनले महोत्सवको खाना, हस्तकला र रैथाने अन्नपात प्रदर्शनी स्थलका लागि फुसको छाप्रो बनाउन लागिएको बताए । ‘प्रदर्शनीका लागि टेन्टको साटो खर र बाँसको छाप्रा तयार गरिदैछ,’ थापाले भने ।

प्रकाशित मितिः     ६ चैत्र २०७८, आईतवार १९:५०  |