काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई कार्यबाहक गभर्नरको जिम्मेबारी दिइएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
गभर्नर अधिकारीले निलम्बनमा परेको जानकारी सञ्चार माध्यमबाट पाएको बताएका छन् । उनले निलम्बन गरिएको पत्र नपाएको बताए । छानविन समिति गठन गरेर गभर्नरलाई निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ । अर्थ मन्त्रालयले छानविन समिति गठन गरेको बताइएको छ ।
अर्थ मन्त्रालयले पूर्वन्यायाधिश पुरुषोत्तम भण्डारीको
नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ। समितिको सदस्यमा सूर्य थापा र चन्द्रकान्त पौडेल नियुक्त भएका छन । शुक्रबार गठन भएको समितिले गभर्नर अधिकारीमाथि लागेको आरोपको छानविन गरेर प्रतिवेदन सरकारलाई बुझाउनेछ।
त्यसपछि प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने छ । सरकारले हटाएको खण्डमा अधिकारी सर्वोच्च अदालतमा जान सक्ने छन् । सर्वोच्चले अन्तरिम आदेश दिएमा अधिकारीको पुनर्वहाली हुने छ ।
अधिकारीलाई तत्कालिन केपी ओली सरकारले २०७६ चैत २४ गते केन्द्रीय बैंकको गभर्नर बनाएको हो । जनार्दन शर्मा अर्थमन्त्री भएर आएदेखि नै गभर्नर अधिकारीसँग मतभेद बढदै आएको थियो ।
पछिल्लो समय अर्थतन्त्र संकट उन्मुख हुँदा पनि अर्थमन्त्री शर्माले सुधार्न पहल गर्न सकेका थिएनन् । विदेशी मुद्रा सञ्चिती घटदै गएपछि केन्द्रीय बैंकले आयात नियन्त्रण गरेको छ ।
आफुनिकट व्यवसायी पृथ्वीबहादुर शाहको १४ करोड रुपैयाँ खुला नगरेको रिस साँध्न अर्थमन्त्री शर्माले गभर्नरलाई हटाउन छानविन समिति गठन गरेका हुन
।