मेलम्चीकाे नियति भोग्दै बाँकेमा सिक्टा सिँचाई आयोजना


नेपालगन्ज- काठमाडौमा मेलम्ची खानेपानी आयोजनाको हुन अवस्था  छ,त्यस्तै अबस्था सिक्टा सिँचाई आयोजनाको पनि छ ।

किसानको भाग्य र भविष्य बदल्ने एउटा बृहत सिँचाई आयोजना हो बाँकेको सिक्टा सिँचाई आयोजना । राष्ट्रिय गौरबको आयोजना सिक्टाको निर्माण शुरु भएको १४ वर्षपछि गत वर्षदेखि नहरमा पानी पनि चल्न शुरु भएको छ ।

तर, यतिका वर्ष निर्माण कार्य चलिरहँदा पनि सम्पन्न हुन भने अझै एक दशक लाग्ने अनुमान गरिएको छ । बाँकेको अगैयास्थित राप्ती नदिमा ब्यारेज निर्माण गरी पूर्वी र पश्चिम मुल नहर, शाखा र प्रशाखा निर्माण गरेर बाँकेको ४३ हजार हेक्टर जमिन सिँचाई गर्ने उद्देश्य रहेको एउटा ड्रिम प्रोजेक्टका रुपमा सिक्टा सिँचाई आयोजनालाई अगाडि बढाइएको छ ।

२०६३ माघ ३ गते विधिवत शिलान्यास गरी राप्तीमा चाइनाको सिनोहाइड्रो जेभिले मूल व्यारेजको काम शुरु गरेको थियो । ब्यारेजको काम सम्पन्न भएपछि पश्चिमतर्फ करीब ४५ किलोमिटर मूल नहर र विभिन्न शाखा नहरको काम शुरु गरिँरहँदा पूर्वतर्फ पनि ३८ प्लस ५०० किलोमिटर मूल नहरको काम अगाडि बढाइएको छ । शुरुमा राप्तीमा ब्यारेज निर्माण, मूल नहर र शाखा नहर निर्माण गरी करीब ८ वर्षमा आयोजना सक्ने लक्ष्य राखिएको थियो । त्यही अनुसार बजेटको अनुमान १२ अर्ब ८० करोड गरिएको थियो । केही काम थपसहित खरिद गुरुयोजना अत्यावधिक गर्दै यो बजेट दोब्बर गरी २५ अर्ब २ करोड पु¥याइएको छ ।

सिक्टा सिँचाई आयोजनाका अनुसार हालसम्म ७२ दशमलव ८ प्रतिशत वित्तीय र ६९ प्रतिशत भौतिक प्रगति भएको छ । यो हिसावले हेर्दा अझै समय र बजेट थप गर्नु पर्ने साझै अनुमान गर्न सकिन्छ ।
खरिद गुरुयोजना अध्यावधिक गर्दै अगाडि बढ्दै
लामो प्रतिक्षापछि करीब ५ हजार हेक्टरमा सिँचाई सुविधा हुने गरी गत वर्षदेखि सिक्टाले पश्चिम नहरमा पानी छोड्दा किसानमा थोरै भए पनि आशा जगाएको छ । निर्माण कार्य गर्दै जाने र सम्भव भएका ठाउँहरुमा पानी दिने गरी काम गरिएको हो । तर, पश्चिम नहरका विभिन्न शाखा नहरहरु अहिले पनि पूरा हुन सकेका छैनन् । डुडुवा शाखा नहरको निर्माण जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनलाई काम गर्न नसकेको भन्दै आयोजनाले ठेक्का सम्झौता रद्ध गरेपछि उसले मुद्दा हालेर काम अगाडि बढ्न नसकेको सिक्टा सिँचाई आयोजनाले जनाएको छ ।

पहिले पश्चिमी नहरको ४५ किलोमिटर पूरा गरेको सिक्टाले सिधनिया, डुडुवा, अकलघरुवा, गोहवा, प्रसेनीपुर, पेडारी, टिटिहिरिया, थपुवा गाउँमा शाखा प्रशाखाको काम गरिरहँदा सबैभन्दा समस्या डुडुवामा देखिएको छ । १ अर्ब बढीको उक्त शाखाको ठेक्का रद्ध भएपछि एकातिर अन्यौलता छ भने अर्कोतर्फ १७ करोड ६१ लाख बजेट साउदीको रहेको उक्त नहरमा ५५ प्रतिशत नेपाल सरकारको रहने भए पनि २०८५ सम्म म्याद थप गर्नु पर्ने देखिएको छ । उता, पूर्वीतर्फ पनि ९ हजार हेक्टर सिँचाई सुविधा दिने गरी ३८ प्लस ५०० किलोमिटरका लागि मूल नहरको काम भइरहेको छ ।

२०७४ साल साउन ९ गतेदेखि शुरु भएको उक्त ठेक्का पाएको कालिका कुमार जेबिले ४ पटक म्याद थप गरिसकेको छ । यो अवधी २०७८ चैत ३० गतेसम्म रहेको सिक्टाले जनाएको छ । ३ अर्ब ७ करोडको ठेक्का सम्झौतामा उक्त मूल नहरको करीब ८५ प्रतिशत भौतिक प्रगति भएको सिक्टा सिँचाईले जनाएको छ । सो नहर समयमा पूरा नहुनुमा ठाउँठाउँमा पर्ने जंगल क्षेत्रमा साना साना खोला हुनु, धेरै गहिरो भागमा काम गर्नु पर्ने र मुअब्जाको धेरै समस्या रहेको सिक्टा आयोजनाको भनाई रहेको छ ।

पूर्वतर्फ पहिले बनेको राजकुलो र गंगापुर सिँचाईलाई पुनः निर्माण गरेर सिक्टाको पानी मूल नहरबाट सहायक नहरमा खसालेर त्यस क्षेत्रमा करीब ९ हजार हेक्टर जमिन सिँन्चित गर्ने लक्ष्य आयोजनाको छ ।

एउटा आयोजना १४ वर्षसम्म पनि पूर्णरुपमा सम्पन्न भएर संचालनमा आउनु पर्नेमा एकदमै कम क्षेत्रफलमा अर्थात पहिलेकै पुराना सहायक नहरहरु प्रयोग गरेर सिँचाई बाडिएको छ । ४३ हजार हेक्टरमा सिँचाई सुविधा पु¥याउने लक्ष्य रहेकोमा जम्मा ५ हजार हेक्टरमा पुग्ने पानी मात्र किसानले पाएका छन् । घुलनशील माटोका कारण वर्षातका बेला ढेकेरी क्षेत्रमा नहरमा समस्या आउने गरेको छ भने सिक्टा सिचाईको मूल नहरमा नै परीक्षणका लागि एकै पटक धेरै पानी छोड्दा नहर भत्किएपछि केही समय अन्यौलमा परेको थियो ।

बाँकेको अगैयास्थित राप्ती नदिमा बाँध निर्माण गरेर राप्ती नदिको पानी किसानको खेतबारीमा सिँचाईका लागि मूल नहर र शाखा नहरमार्फत पु¥याउन थालिएको सिक्टा सिँचाईको पश्चिम मूल नहरमार्फत विभिन्न सहायक नहरमा पानी छोडेर परीक्षण गरिसकेको छ । तर, ढकेरी क्षेत्रमा घुलनसील माटो भएका कारण नहरमा परीक्षणकै क्रममा मूल नहरको ठाउँठाउँमा समस्या देखिएको थियो । किसानको खेतीबारी सिँन्चित गर्ने उद्देश्यले आयोजनाको काम २०६३ सालमा शुरु गरिएको थियो ।

उर्बर जमिनलाई सिँचाईको खाँचो पूरा गर्नका लागि नेपाल सरकारले आफ्नै लगानीमा शुरु गरेको सिक्टा सिँचाईका सबै काम पूरा गर्नका लागि करीब २५ अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । त्यसमा हालसम्म १८ अर्ब २१ लख खर्च भइसकेको छ । यो बजेट फेरी बढ्ने देखिन्छ । बाँकेको अगैयास्थित राप्ती नदिमा बाँध निर्माण पश्चिम नहरको काम सम्पन्न र पूर्वी नहरको काम चालू हुँदा शाखा नहरको काम पनि भएकै छ । तर, यहाँ विभिन्न व्यक्तिहरुको जमिन पर्ने भएकाले मुअब्जाको समस्या पनि ठूलै देखिएको सिक्टा सिँचाई आयोजनाले जनाएको छ । सिक्टाको केही भाग राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्नु, पटक पटक आयोजना प्रमुखको सरुवा भइरहनु र आवश्यकता अनुसार जनशक्ति कहिल्यै पूरा नहुनु पनि सिक्टाको अर्को चुनौती रहेको जनाइएको छ । जसका कारण समयमै राप्ती नदिको पानी किसानको खेतबारीमा सिँचाईका लागि उपयोग गरिने लक्ष्य पूरा हुन सकेको छैन ।

ढेकरीमा घुलनसील माटोका कारण ठाउँठाउँमा मूल नहर जोखिममा छ । यद्यपी सिक्टाले त्यसको तत्काल निर्माणका लागि अहिलेदेखि नै निर्माण समाग्री सो ठाउँहरुमा राखेको छ ।
अगैयामा ब्यारेज निर्माण गरेर बाँके जिल्लाका झण्डै ४३ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले नेपाल सरकारले २०६३ साल माघ २ गते सिक्टा सिँचाईको काम शुरु गरेको थियो । तत्कालीन सिँचाई राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त आयोजनाको शिलान्यास गरेका थिए । तत्कालीन अवस्थामा ८ वर्षभित्र मूल नहरको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि पछि संसोधन र समय सीमा बढाएको पाइन्छ । चाइनाको सिनो हाइड्रो लुम्बिनी जेभि कम्पनीले हेडवर्क अर्थात ब्यारेज निर्माण सम्पन्न गरिसकेको छ ।

बाँकेको अगैयाबाट वनकटवाको जेठी नालासम्म ४५ किलो मिटर मूल नहरको काम पनि सकिएको छ । तीन चरणमा निर्माण गरिएको सिक्टाको पश्चिमतर्फको मूल नहरको काम प्रायः सबै कालिका कन्स्ट्रक्सनले गरेको थियो ।
मूल नहरको कामसंगै कतिपय सहायक नहरको काम पनि अगाडि बढेको छ । राप्ती नदि पूर्व राप्तीपारी ९ हजार हेक्टर र पश्चिमतर्फ ३३ हजार हेक्टर सिँन्चित हुने अनुमान गरिए बमोजिम नै काम अगाडि बढाइएको छ । सिधनियालगायत ७ वटा सहायक नहरको काम पनि धमाधम भइरहेको छ । नेपाल सरकारले आफ्नै लगानीमा यसरी राष्ट्रिय गौरबको आयोजनाको काम संचालनमा ल्याउँदा सर्वसाधारणहरुले पनि गर्व गरेका थिए । किसानको जीवनस्तर उकास्ने गरी निर्माण भइरहेको सिक्टाले खाशगरी बाँकेका किसानहरु निकै उत्साहित भएकोमा हाल भने छिटो सक्नु पर्ने माग गर्दै आएका छन्कूल ५३ हजार खेतीयोग्य जमिन रहेको बाँकेमा करीब ३० प्रतिशत मात्र सिँचाई सुविधा रहेको छ । त्यो पनि स्थायी प्रकारको छैन, जसका कारण किसानहरु आकाशे पानीको भर पर्न वाध्य छन् । जमिन उर्बर छन् । तर, सिँचाई सुविधा नभएका कारण आकाशबाट पानी समयमा नपरेको खण्डमा खेतबारी बाँझै हुने गर्दछन् । आकाशबाट पानी परेको खण्डमा मात्र सिजन अनुसारको खेती लगाउने गर्छन किसानहरु । उर्बर भूमिहरु सिँचाई अभावकै कारण बन्जड हुँदा बाँकेका कयौं युवाहरु विदेश जान वाध्य छन् । सिक्टा सिँचाईको सुविधा आएपछि वर्ष भरी नै सिँचाई हुने र वर्षमा तीन वटा बाली सजिलै लगाउन सकिने आशामा रहेका किसानहरुलाई सिक्टाको पानी ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।

५३ हजार हेक्टर खेतीयोग्य जमिन रहेको जिल्लामा करीब ४२ हजार ७६६ हेक्टर जमिन सिक्टा सिँचाईले सिँन्चित हुने भएपछि अधिकांश किसानका खेतबारीमा सिँचाई पुग्नेछ भन्ने लागेर निकै उत्साहित थिए । तर, केही थोरै किसानहरुले मात्र पानी प्राप्त गरेका छन् । सबै किसानले पानी पाउनका लागि अझै केही वर्ष लाग्ने भएपछि कतिपय किसानमा अन्यौलता छाएको छ । किसानहरु राज्यको ठूलो लगानी लागेकाले सिक्टा सिँचाईको नहर हेर्ने नभई आफुहरुलाई पानी चाहिएको बताइरहेका छन् ।
यसरी सिक्टा सिँचाईको निर्माण अन्तिम चरणमा पुग्दा किसानहरुमा आशाका किरनहरु पलाउनु स्वाभाविकै हो । किन भने २०६३ साल अगाडि भारतले सिक्टाको निर्माण गर्ने भनेर करीब ३० वर्ष नेपाललाई कुराएको थियो ।

२०६३ यता भने निरन्तर सिक्टाको काम हुँदै निर्माणको १४ वर्ष हुँदा पनि पानी सिँचाईका लागि सबै किसानले पाउने अहिल्यै अवस्था छैन । यतिका वर्षको प्रतिक्षामा पनि पानी नपाउनु दुर्भाग्य नै भएको उनीहरुको प्रतिक्रिया
२०६३ सालमा शुरु गरेको सिक्टा सिँचाई आयोजनाको काम ६९ प्रतिशत सम्पन्न भएको
छ । निरन्तर काम पनि अगाडि बढेको छ । नेपाल सरकारले गौरवको आयोजनामा हरेक वर्ष बजेटको कमी हुन नदिई सिक्टाको काम पनि अगाडि बढाएको छ । तर, ठूलो आयोजना किसानको सपना बोकेको सिक्टाको काम लम्बिँदा बजेट पनिसंगसंगै बढ्दै गएको छ । सिँचाई विज्ञहरुको अनुमान अनुसार यो आयोजनाको काम सक्न अझै दश वर्ष लाग्ने र बजेट करीब ४० अर्व पुग्ने अनुमान गरेका छन् । यो अनुसार पूर्वनिर्धारित बजेट समय भने निकै धेरै हुन आउँछ । खरिद गुरुयोजनामा संसोधन गर्दै यसअघि आर्थिक वर्ष २०७६÷०७७ को अन्यसम्म मूल नहरको काम सक्ने लक्ष्य राखिएको थियो । तर, मूल नहरको काम अहिले पनि सकिएको छैन ।

केही समय पहिला गरिएको परीक्षणमै देखिएको समस्या अख्तियारसम्म पुगेको थियो । राप्तीलाई स्रोत मानेर शुरु गरिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना अबको केही वर्षभित्र किसानले सिँचाई पाउने र नहर संचालनमा आएपछि ५० क्युमेक्स पानी छोड्ने र त्यो पानी विभिन्न शाखा नहरहरुमा बाँडिएर जानु पर्नेमा ४ देखि ९ क्यूमेक्स पानी छोड्दा नै समस्या देखिएको थियो । मूल नहरको ढकेरी क्षेत्रमा देखिएको समस्या भने मर्मत सम्भार गरेर किसानलाई सिचाईका लागि पानी उपलब्ध गराउँदै लगिएको छ ।

एउटा नदिको बीचमा बाँध बाँधेर नदिको पानी फर्काउनलाई सामान्य लगानी र निर्माणबाट सम्भव भएको छैन । आधुनिक प्रविधिको प्रयोग गरेर नदिमा ब्यारेज निर्माण त्यसमाथि पुल निर्माण गरेर राप्तीपारीका जनतालाई कोहलपुर र नेपालगन्जसंग जोड्ने कामसमेत सिक्टाले गरेको छ । तर, यसरी ठूलो लगानीका साथ सम्पन्न हुन गइरहेको सिक्टाले किसानहरुको भाग्य र भविष्य निर्धारण गर्ने र कूल उत्पादनमा टेवा पु¥याउने लक्ष्य भए पनि ढिलाईका कारण किसान आतिएका छन् । यता सरकारी अधिकारीहरुले भने आउने जस्तोसुकै चुनौतीहरुलाई सामना गर्दै सिक्टाको काम निरन्तर अगाडि बढाएको जनाएका छन् । उनीहरुले हरेक वर्ष बजेटको कमी नभएको जनाउँदै प्राविधिक समस्याहरुलाई हल गर्दै अगाडि बढ्नुका विकल्प नभएको जनाएका छन् । उनीहरुले यो वर्ष १ अर्ब ५५ करोड ८३ लाख बजेट रहेको बताएका छन् । पश्चिमतर्फ पर्ने करीब ३० किलोमिटर वीचमा कचनापुर, बालापुर ढकेरी शम्शेरगन्जलगायतका क्षेत्रमा सिक्टाले सम्बोधन नगरेको र किसानको १ हजार ८३० हेक्टर जमिन सिँचाईबाट बञ्चित हुने देखिएकाले त्यस ठाउँका लागि पनि लिफ्टमार्फत भए पनि सिँचाई सुविधा पु¥याउने अभ्यासमा लागेको अधिकारीहरुले बताएका छन् । तराईको उर्बर भूमि बाँकेको भविष्य सिक्टा सिँचाई आयोजनालाई भएका विभिन्न वाधा अवरोध र चुनौतीलाई पार गर्दै किसानका खेतबारीमा पानी पु¥याउन सकेको खण्डमा उत्पादनमा दोब्बर हुने तथा यसले राष्ट्रिय उत्पादनमा पनि ठूलो टेवा पुग्ने देखिन्छ ।

त्यसैले यस्तो गौरबका आयोजना जुन राष्ट्रको उत्पादन र उत्पादकत्व बृद्धिसंगै राष्ट्रियरुपमा अर्थतन्त्रमा टेवा पु¥याउन प्रत्यक्ष सरोकार राख्छ ती आयोजना समयमा सक्नेतर्फ राज्यको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः     २६ चैत्र २०७८, शनिबार १३:१०  |