नेपालगन्ज— कोभिड—१९ पछि बाँकेका ठुला उद्योगहरुमा स्वचालित मेशिनको प्रयोग बढेको छ । यसले भारतबाट यहाँ ल्याउनैपर्ने कामदारको अभाव चिर्ने र उत्पादन समेत बृद्धि भइरहेको उद्योगीहरु बताउँछन् ।
नेपालगन्जको प्रतिष्ठित शिखर प्लाई उद्योगले कोभिडमा झेलेको कामदार अभावबाट पाठ सिकेर स्वचालित मेशिन भित्रा्याएको छ । ढोका निर्माणका लागि उपयोगि सावित भइरहेको उक्त मेशिन प्लाई उद्योगका क्षेत्रमा नेपालकै पहिलो भएको उद्योगी चप्पालाल बोथराले बताए ।
‘कोभिडका बेला हामीले कामदारको अभाव निकै झेल्यौं । त्यसबाट पाठ सिकेरै अटोमेटिक मेशिन ल्याएका छौं । याे अहिलेकाे आवश्यकता पनि हाे ।’– बोथराले भने–‘अहिले सीमित कामदार भएपनि उद्योग चल्ने भयो, अर्कोतिर उत्पादन पनि बढ्ने भयो ।’
बाँकेका ठुला उद्योगमा अधिकांस कामदार भारतीय छन् । कोभिडका बेला उद्योग सन्चालनको अनुमति हुँदासमेत यहाँका उद्योगीहरुले कामदार अभावमा उद्योग सन्चालनमा कठिनाई व्यहोरेका थिए ।
त्यसैबाट पाठ सिकेर उद्योगहरुले अटोमेटिक मेशिन जडानलाई प्राथमिकता दिएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए । अटोमेटिक मेशिन अहिलेको आवश्यकता पनि भएको उनको भनाई छ ।