काठमाडौँ — वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको हो ।
‘संघको अर्को बैठकले निर्णय नगर्दासम्मका लागि निजी गाडी, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामाग्री, पर्फ्युम, मोबाइललगायत सामाग्री आयातका लागि एलसी नखोल्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।
त्यसो त बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि गत साता नै गाडी लगायत कम आवश्यक र विलासिता वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखाहरुलाई निर्देशन दिइसकेका छन् । तर उक्त विषयमा बैंकर्स संघले औपचारिक निर्णय गरिसकेको थिएन । सोही कारण आइतबार संघले औपचारिक रुपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय भएको स्रोतले बताएको छ । यो निर्णय पछि बैंकहरुले उल्लिखित वस्तु आयातका लागि एलसी खोल्ने छैन ।