नेपालगञ्ज, चैत २९ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझीको तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । उक्त घटनाको भिडियो हेर्दा जोकोहीले दुर्घटना नभई हत्याका रुपमा बुझ्छ ।
अत्यन्त हृदयबिदारक घटनाले नेपालगन्जका सडकमा हिडडुल गर्न समेत मानिसहरु डराइरहेका छन् । अराजक सवारीचालकका कारण निम्तिने यस्ता घटना रोक्न सरोकारवाला निकायले समयमै चासो दिनुपर्ने तर चासो दिदैन ।
केही दिन अघि उपमहानगरपालिका–२० को राँझाचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भयो । कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको टिपरले ठक्कर दिँदा हुम्लाको सिमकोट गाउँपालिका–२, ठेहेका ७० वर्षीय वीरबली भण्डारीको मृत्यु भएको थियो ।
पछिल्लो समयमा बाँकेमा टिपर लगायतका सार्वजनिक सवारीसाधन ‘ज्यानमारा’ बन्दै गएको यि घटनाक्रमले नै पु्ष्टि गरेको छ । टिपरको ठक्करबाट मृत्यु भएका घटना एकमात्र छैनन् । कैयौं घटना छन्, जहाँ सर्वसाधारणले सवारीसधानको ठक्करबाट ज्यान गुमाइरहेका छन् ।
बाँकेमा सवारीका कारण कारण किन सर्वसाधारणले ज्यान गुमाइरहेका छन् त ? त्यसमा एउटा मात्र कारण छैन । यसमा चालकको लापरबाही, कमजोर कानुन, प्राविधिक जटिलता जोडिएर आउँछ । अझ ट्राफिक प्रहरीको लापरबाहीको हद पनि यसैमा जोडिन्छ । बाँकेमा कमजोर नियमतका कारण मनमौजी भएका सवारी साधन निर्वाध हुँइकिन दिएको छ ।
ट्राफिक प्रहरीले वास्ता नगर्ने गरेको सर्वसाधारणको आरोप छ । तर यस्ता आरोप ट्राफिक प्रहरीले अस्वीकार गर्ने गरेपनि बास्तबिक अवस्था भने फरक छ । रोक्न सकिने कयौं सवारी दुर्घटना समेत बढिरहेका छन् । ट्राफिक नियम पालना गराउने निकाय नै कानमा तेल हालेर बसेका कारण समस्या बढेको सर्बसाधारणको भनाई छ । ट्राफिक प्रहरीका चेकपोष्ट हुँदै आउजाउ गर्ने सवारीको स्पीड एकदमै तीव्र हुन्छ ।
लेन अनुशासन, ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने सामान्य विवेक पनि छैन ।