नेपालगन्ज– मुख्यमन्त्री हुँदा शंकर पोखरेलले लुम्बिनी प्रदेशमा तीनवटा महानगर बनाउने योजना अघि सारे ।
कार्यान्वयन हुन नसकेको उक्त योजना अन्र्तगत भैरहवा–बुटवल जोडेर एउटा महानगर, घोराही–तुलसीपुर सहितको अर्को महानगर बनाउने भन्ने थियो । तीन मध्ये एउटा बाँकेको नेपालगन्ज र कोहलपुर पनि थियो । यो योजना कार्यान्वयन हुने तर परै जाओस् औपचारिक मन्चहरुमा छलफल समेत भएको पाइएन । यद्यपी पोखरेलले कुनै सम्भावना र आधार नै नभई हचुवाका भरमा उक्त योजना ल्याएका भने होइनन् । लुम्बिनीमा ‘बिग सिटी’ बनाउने प्रशस्त आधार भनेकै यिनै हुन ।
राजनीतिक दल र सरोकारवाला पक्षले बाँकेमा नेपालगन्ज–कोहलपुरलाई राजनीतिक र प्रशासनिकरुपले जोड्ने बिषयमा खासै रुची राख्ने गरी छलफल र बहस नगरे पनि सन्चारमाध्यमहरुले भने संधै ‘हट इस्यु’ बनाइरहे । नेपालगन्जका निर्वतमान मेयर धवल शम्सेर राणाले बेलाबखत यो बिषयमा जोडिएर छलफलमा सहभागित हुने गरेको देख्न र सुन्न भने पाइन्थ्यो । त्यो बाहेक नेपालगन्जमा पनि उक्त बिषयले खासै प्राथमिकता पाएको देखिदैन । कोहलपुरमा छलफल त भएन नै अनौपचारिक छलफलमा पनि ठिक बिपरित प्रतिक्रिया पाइन्थ्यो । नेपालगन्ज कोहलपुर जोड्ने बिषयमा कोहलपुरमा बहुसंख्यकको मनोबिज्ञान भिन्न छ । उनीहरु अन्य बिकल्प खोज्नुपर्ने तर नेपालगन्जसंग जोडिनुहुँदैन भन्ने पक्षमा देखिएका छन् । समग्रमा भन्दा नेपालगन्ज र कोहलपुर जोड्ने बिषयमा तिव्र राजनीतिक मतभिन्नता हुने देखिन्छ । उक्त कार्यमा जनस्तरसम्मै विभाजित मनोबिज्ञान देखिने भएकाले सहज भने छैन ।
राजनीतिक र प्रशासनिक सवालमा एक हुन असहज भएपनि आर्थिक मुद्दाले भने नेपालगन्ज र कोहलपुरलाई एउटै मालामा गाँस्ने काम गरेको छ । नेपालगन्ज–जानकी गाउँपालिका र कोहलपुरलाई जोडेकै आर्थिक मुद्दाले हो । कुनै बेला उद्योग खोल्ने बिकल्प एउटा मात्रै थियो, नेपालगन्ज औद्योगिक क्षेत्र । त्यहाँ उद्योगहरु भरिभराउ छन् । अन्य उद्योगहरु क्रमश उत्तरतर्फ सर्दैन । जानकी गाउँपालिका अन्र्तगतको गणापुरक्षेत्रमा खुलेका उद्योगहरुले बाँकेमा बढ्दो आर्थिक विकासको चित्र देखाउँछ । नेपालगन्जदेखि गनापुर र कोहलपुरसम्म लहरै उद्योगहरु खुल्ने क्रम बढेको छ । कुनै बेला खेत मात्र देखिने गनापुरक्षेत्रमा अहिले करोडौ लगानीका उद्योगहरु मात्र देख्न पाइन्छ ।
‘कोहलपुर–नेपालगन्जले औद्योगिक विकासमा सहकार्य गर्नुको बिकल्प छैन । अन्य बिषयले के गर्छ त्यो बेग्लै कुरा भयो तर आर्थिक मुद्दाले भने दुबै शहरको सम्बन्ध कसिलो बनाउन सहयोग गरेको छ ।’– नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्र अधिकारी बताउँछन् । उनी भन्छन्–‘अहिले पनि हामीले कयौं मुद्दामा सहकार्य गरिरहेका छौं ।’ नेपालगन्ज कोहलपुर औद्योगिक करिडोर निर्माण गरेर उद्योगमैत्री वातावारण निर्माणका लागि जुट्नुपर्ने अवस्था आएको अधिकारीले बताए ।्
औद्योगिक क्षेत्र बाहेकका ठाउँमा खुलेका उद्योगहरु उद्योगीहरुले स्वस्फुर्तरुपमा ठाउँ छनौट गरी निर्माण गरेका हुन । त्यस्ता कयौं ठाउँमा उद्योगहरुका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधारको अभाव छ । करोडौं लगानी खर्चिएका उद्योगहरुमा पूर्वाधारका सवालमा केन्द्र,प्रदेश मात्र होइन नजिक सिंहदरवार भनिएका स्थानीय तहले समेत सहयोग गरेको पाइदैन । कतिपय ठाउँमा त उद्योगहरुले पूर्वाधार निर्माणमा स्थानीय जनप्रतिनिधिको बिरोध सामना गरिरहेका छन् ।
नेपालगन्ज उद्योग वाण्ज्यि संघका महासचिव चिरञ्जीवी ओली नेपालगन्ज र कोहलपुर औद्योगिक करिडोरका रुपमा विकास भइसकेको बताउँछन् । ‘भोली नेपालगन्ज र कोहलपुर मिसिएर महानगर बन्छ वा बन्दैन त्यो बहस र छलफलको कुरा हो । आर्थिक मुद्दाले भने यि दुबै शहरलाई जोडिसकेको छ ।’– महासचिव ओलीको भनाई छ । आर्थिक मुद्दामा दुबैक्षेत्रका उद्योग व्यवसायीहरु एक ठाउँमा उभिएर समृद्ध बाँकेको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ओलीले ।