लुम्बिनी प्रदेशमा राष्ट्र बैंकले देखेका औद्योगिक क्षेत्रको संभावना र चुनौती


संभावना  :

– नेपालमा सञ्चालनमा रहेका ६० सिमेन्ट उद्योगहरुमध्ये लुम्बिनी प्रदेशमामात्र ४५ वटा रहेको र अन्य क्षेत्रको तुलनामा खानीजन्य उद्योगको रोयल्टी कम रहेका कारण यस क्षेत्रमा क्लिंङ्कर तथा सिमेन्टको उत्पादन र निर्यात बढ्न सक्नेतथा यस्ता उद्योगले आयात प्रतिस्थापन गर्न सक्ने संभावना रहेको छ ।

– यस प्रदेशमा समेत संघिय सरकारले कोभिड—१९ प्रभावित तथा तुलनात्मक लाभको बस्तुहरुमा आयकर सहुलियत, पुनःकर्जा सुविधा, विद्युत्को निरन्तर आपूर्ति लगायत अन्य सहयोग समेत गरेकोले उद्योगी व्यवसायीहरुमा उत्साह बढेको कारण प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढ्ने संभावना रहेको छ ।

-कोभिड—१९को बन्दाबन्दी अवधिमा प्रभावित भएका अधिकांश उद्योगहरु हाल कोभिड–१९ को प्रभाव कम हुदै गएकोअवस्था र कोभिडको तेस्रो लहर त्यति घातक नरहेको एंव बजारमा माग समेत बढेको कारण सो बाट उद्योगहरुको उत्पादन, रोजगारी र आर्थिक गतिविधि बढ्न गई सो को असर स्वरुप यस प्रदेशको अन्य आर्थिक तथा सामाजिक सूचकहरु समेत अनुकूल रहने संभावना रहेको छ ।

– यस प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण क्षमता वृद्धि भएको, बन्द, हडताल जस्ता अवरोधका बावजूद पनि बेलहिया नाका सञ्चालनमा रहनु र नेपालगञ्ज भन्सार विन्दुमा एकीकृत जाँच चौकिको निर्माण कार्य भैरहेकोले निर्यात प्रोत्साहन भई औद्योगिक उत्पादनले भारतीय बजार पाउने संभावना रहेको ।

चुनौतीहरु:-

– सिमेण्ट उद्योगहरुका खानी उत्खनन्ले चुरे क्षेत्र मासिने एंव वायु प्रदुषण बढ्नुका साथै पानीका मूलहरु सुकेका कारण वातावरणमा प्रतिकूल प्रभाव परी सोलाई नियन्त्रण तथा व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।

-खानिजन्य सामानहरुको ओसारपसारमा टिपरहरुको बाक्लो आवत जावतका कारण क्षतिग्रस्त सडकलाई नियमित मर्मत गर्ने र यातायातमा जाम तथा दुर्घटना न्यून गर्ने कार्य चुनौतीपूर्ण रहेको छ । ।

– यस प्रदेशका उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नका लागि नियमित विद्युतीय आपूर्ति, कच्चा पदार्थको सहज उपलब्धता र श्रमको सहज र निरन्तर आपूर्तिलाई सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।

– पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिका कारण उत्पादन लागत महंगो परी औद्योगिक उत्पादनहरुको उपयुक्त मुल्य कायम गर्नु चुनौतीपूर्ण देखिन्छ । त्यसैगरी मूल्य वृद्धिका कारण पेट्रोलियम पदार्थ भण्डारण गर्ने कार्यमा समेत चुनौतीपूर्ण रहेको छ ।

राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन
लुम्बिनी प्रदेश
अर्ध–वार्षिक प्रतिवेदन
(आ.व.२०७८/७९) बाट

 

प्रकाशित मितिः     २० असार २०७९, सोमबार १२:०४  |