९ दिनको अग्रिम हाजिरी गर्ने भेरीका डाक्टरलाई कारबाही सिफारिस


नेपालगन्ज – भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेश कुमार नागले असार २० गते नै असार २९ गतेसम्मको हाजिरी गरेको पाइएको छ ।

काममा लापरबाही गरेको भन्दै अस्पताल बिकास समितिको कारबाही सिफारिस परेका डा नागले अग्रिम हाजिरी गरेपछि स्वास्थ्य मन्त्रालयमा कारबाहीका लागि पत्र लेखिएको अध्यक्ष प्रमोद धितालले बताए ।

धितालका अनुसार डा.नागले पटक-पटक आग्रह गर्दा समेत नसुध्रिएपछि कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा लेखी पठाएको हो ।
यसअघि २०७८ साउनमा पनि समितिले कारबाहीका लागि पत्र लेखेपनि कुनै सुनुवाइ नभएका कारण डाक्टरको मनोवल बढेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

समितिले कारबाहीका लागि गरेको निर्णयमा डाक्टरले सहयोगी चाहिएको र नत्र राजिनामा दिने जस्ता धम्की दिने गरेको उल्लेख छ । उनले धम्की दिए पनि राजिनामा दिनुको साटो असार २० गते अस्पताल पुगेर २९ गतेसम्मको हाजिरी गरेपछि समिति क्रुद्ध बनेको हो ।

प्रकाशित मितिः     २१ असार २०७९, मंगलवार १५:३२  |