बाँके देशकै सबैभन्दा बढी घरजग्गा किनबेच हुने जिल्लाको सूचिमा


नेपालगन्ज । बाँके सबैभन्दा बढी घरजग्गा किनबेच हुने जिल्लामा देशकै पाचौं नम्बरमा परेको छ । उसले काठमाडौं जस्ता जिल्लालाई समेत उछिनेको छ ।

कुनै समय सबैभन्दा बढी घरजग्गा किनबेच गराउने काठमाडौं उपत्यकाका मालपोत कार्यालय पछिल्लो समय प्रमुख पाँचभित्र पनि पर्न छाडेका छन् ।

गत आर्थिक वर्ष ०७८/७९ मा पूर्वी नेपालका झापा, मोरङ, सुनसरी जिल्ला घरजग्गा किनबेचमा सबैभन्दा अगाडि देखिएका छन् । उपत्यकाका मालपोत कार्यालयलाई धनुषा र बाँकेले पनि पछाडि पारेका छन् । उपत्यकाभित्र सबैभन्दा बढी घरजग्गा किनबेच हुने ललितपुर ९लगनखेल० मालपोत छैठौं नम्बरमा रहेको छ ।

गत वर्ष सुनसरीको इनरुवा मालपोत कार्यालयले वर्षभरीमा ३५ हजार ४२८ घरजग्गा किनबेच गराई पहिलो बनेको छ । दोस्रो बरियतामा रहेको मोरङको बेलवारीमा ३० हजार ४८९ घरजग्गा किनबेच भएका छन् । पछिल्ला महिनामा इनरुवा र बेलवारीले अग्रस्थान कायम गर्दै आइरहेको देखिन्छ ।

कहिले इनरुवा त कहिले बेलवारी, गत वर्षभरी यिनै दुई मालपोत सबैभन्दा बढी घरजग्गा किनबेच गर्ने कार्यालय बन्दै आइरहेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

घरजग्गा बढी किनबेच हुनेमा झापा पनि अग्रस्थानमै रहेको छ । झापाको भद्रपुर मालपोत कार्यालयले एक वर्ष २६ हजार ७५० घरजग्गा किनबेच गरी तेस्रो बनेको छ । यस्तै, चौथो नम्बरमा रहेको धनुषाको जनकपुर मालपोतबाट २६ हजार ५३८ घरजग्गा किनबेच भएका छन् भने २४ हजार २५२ घरजग्गा किनबेच भई बाँकेको नेपालगञ्‍ज मालपोत पाँचौं नम्बरमा परेको घरजग्गा सम्बन्धि अनलाइन नेपाल होम्सले उल्लेख गरेको छ ।

पछिल्लो समय धनुषा र बाँकेमा घरजग्गा किनबेचमा उछाल आइरहेको देखिन्छ । यी मालपोत कार्यालय घरजग्गा किनबेचमा बर्षभरि नै प्रमुख १० भित्र पर्दै आइरहेको विभागले जनाएको छ ।

छैठौं नम्बरमा ललितपुरको लगनखेल मालपोत कार्यालय परेको छ । गत वर्ष लगनखेल मालपोतबाट २३ हजार ७८ घरजग्गा किनबेच भएका छन् । भक्तपुर मालपोतबाट २२ हजार ८९८ घरजग्गा किनबेच भई सातौं हुँदा कलंकीबाट १८ हजार ७६१ घरजग्गा किनबेच भएर आठौं बरियता कायम गरेको छ ।

नवौं नम्बरमा रहेको चितवन मालपोतबाट वर्षभरीमा १७ हजार ५२ घरजग्गा किनबेच भएका छन् भने मोरङकै विराटनगरबाट १५ हजार ८४८ घरजग्गा किनबेच भई दशौं नम्बरमा परेको छ । मोरङ जिल्लामा रहेका तीनवटा मोरङ जिल्लामा रहेका तीनवटा मालपोत कार्यालयमध्ये दुईवटा मालपोत बेलवरी र विराटनगर सबैभन्दा बढी घरजग्गा किनबेच गराउने प्रमुख १० भित्र अटाउन सकेका छन् ।

पाँच मालपोतकै १९.२५ प्रतिशत हिस्सा

गत वर्ष देशभरीका १२६ मालपोत कार्यालयबाट सात लाख ४७ हजारभन्दा बढी घरजग्गा किनबेच भएका छन् । जसमध्ये प्रमुख पाँच इनरुवा (सुनसरी), बेलवारी (मोरङ), भद्रपुर (झापा), जकपुरधाम (धनुषा) र नेपालगञ्‍ज (बाँके) मालपोत कार्यालयबाट मात्रै एक लाख ४३ हजार ४५७ घरजग्गा किनबेच भएका छन् । यो संख्या देशैभरी भएको कुल कारोबारको १९.२५ प्रतिशत हुन आउँछ ।

गत वर्ष भएको घरजग्गा किनबेचमा इनरुवाको ४.७५ प्रतिशत, बेलवारीको ४.०९ प्रतिशत, भद्रपुरका ३.५९ प्रतिशत, जनकपुरधामको ३.५६ प्रतिशत र नेपालगञ्‍जको ३.३२ प्रतिशत कारोबार हिस्सा रहेको देखिन्छ ।

ललितपुर मालपोत कार्यालयको ३.१० प्रतिशत हिस्सा हुँदा भक्तपुर कार्यालयको ३.०७ प्रतिशत हिस्सा रहेको छ ।

दुई देखि साढे दुई प्रतिशत कारोबार गर्ने मालपोत कार्यालय आठवटा रहेका छन् । कलंकी, चितवन, विराटनगर, मकवानपुर, कलैया (बारा), राजविराज (सप्तरी),पर्सा र काभ्रेबाट २ प्रतिशतको रेञ्‍जमा कारोबार भएको हो ।

कुल कारोबारमध्ये देशभरीका ३७ मालपोत कार्यालयबाट १.१९ प्रतिशतदेखि १.९३ प्रतिशत घरजग्गा किनबेच भएको देखिन्छ । अहिले भने देशभर घरजग्गाकाे काराेबनर ओरालो लागेको छ ।

प्रकाशित मितिः     ३१ श्रावण २०७९, मंगलवार १९:४३  |