बाँकेमा पनि मिटरव्याजीको आतंक, छानविन गर्दै प्रशासन


भदौ ८, २०७९ नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिनुभयो ।

“उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ”, उहाँले भन्नुभयो । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् ।

मिटरब्याजीले थोरै पैसा लगानी गरेर रु १० लाखदेखि रु २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख गरेको बताइएको छ । अधिकृत सोनकरले अहिले पनि फाटफुट मिटरब्याजीविरुद्ध उजुरी आइरहेको जानकारी दिँदै लिइएको उजुरी गृह मन्त्रालयलाई पत्राचार गरेको बताउनुभयो । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको बताइएको छ ।

मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । राससबाट

प्रकाशित मितिः     ८ भाद्र २०७९, बुधबार ११:४७  |