दुईपटकका मेयर,अब ‘माननीय’काे दौडमा


नेपालगन्ज– नेपालगन्जका मतदाताले धवल शम्सेर राणालाई दुई पटक मेयरमा जिताए । मतदाताको त्यो बिश्वास मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन पनि कायम रहन्छ की रहँदैन ? हेर्न बाँकी छ । तर जनताप्रति आफ्नो बिश्वास कायम राखेर माननीय बन्ने दौडका लागि यतिबेला राणा जनताको घरदैलोमा पुगिरहेका छन् ।

डुडुवा गाउँपालिकामा ‘फोकस’ गरी संगठन बिस्तार गरिरहेका राणा कहिले आँपको बगैचामा स्थानीयसंग भलाकुसारी गरिरहेका भेटिन्छन् कतै चौरमा बसेर भोजन गरिएको अबस्थामा देखिन्छन् । आफ्ना बुवाको बेलादेखि स्थानीयसंगको सम्बन्धलाई नविकरण गर्ने अवसर यतिबेला नै सदुपयोग गरिरहेका छन् ।

कुनै बेला महाकाली राईस मिल सन्चालन गर्ने बुवाको सम्बन्ध डुडुवाका पुराना मान्छेसंग खास रहेको छ । धवलसंगै संगठन बिस्तारमा लागिरहेका राप्रपाका युवा नेता ऋषिराज देवकोटा भन्छन्–‘डुडुवा हाम्रो पार्टी र उहाँका लागि नयाँ र अपरिचित होइन । यहाँका सबैसंग हाम्रो खास सम्बन्धन उहिलेदेखिकै हो । अहिले झन् मजबुत बनाउने गरी काम गरिरहेका छौं ।’

राणाले डुडुवालाई ‘फोकस’ गर्नुको कारण छ । नेपालगन्ज उपमहानगरपालिकाका मतदाताबाट परिक्षण हुने भनेको मेयर पदका लागि मात्र हो । प्रतिनिधिसभामा जित्न डुडुवाबाट राम्रो मत ल्याउनैपर्छ । जित र हार निर्धारण गर्ने भएकाले राप्रपाले सबै शक्ति त्यहाँ लगाएको हो ।

आफ्नो संगठन सबै ठाउँमा बलियो रहेको राप्रपाले दाबी गरेपनि डुडुवामा राणा परीक्षण हुन बाँकी रहेकाले त्यहाँको अबस्था कस्तो छ भन्ने चुनाव अघि निश्चित छैन । राप्रपा नेता देवकोटा भन्छन्–‘डुडुवामा हाम्रो अबस्थाका बारेमा अरुले जे सोंचेका छन् हामी त्यो भन्दा भिन्न छौं । हाम्रो अबस्था सृदृड छ ।’

पार्टीगत संगठन होइन व्यक्तित्वको कारणले धवलले दुईपटक मेयर जितेको ठान्नेहरु धेरै छन् । २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट मेयर जितेका राणाले त्यो बेला शुरु गरेका विकासका कामका खातिर बिकासबादी नेताको परिचय बनाउन सके । सुशासनका सवालमा दोस्रोपटक मेयर हुँदा समेत कुनै प्रश्न उठ्न दिएनन् ।

तर विकास भने अपेक्षा गरे अनुसार हुन नसकेकाे टिप्पणी हुने गरेकाे छ । एशियाली विकास बैंकको सडक लगायतको पूर्वाधारलाई देखाएर चर्चा बटुलेको बाहेक अन्य देखिने गरी विकास नगरेको भनेर आरोप लगाउनेहरु पनि छन् ।

तर राप्रपा नेताहरु कोरोना कहर र कुनै पनि तहमा आफ्नो सरकार नहुँदाको मार राणाले खेपेको बताउँछन् । तर राणा स्वंयलले उपमहानगर हाँक्दा झेलेको त्यो पीडा सार्बजनिकरुपमा कहिल्यै प्रकट हुन दिएनन् । सीमित साधान स्रोतका कारण राणाले बनाउन चाहेका  कयौं योजना चाहेर पनि शुरु गर्न सकेन । नेपालगन्ज उपमहानगरको नगर कार्यपालिका मात्र होइन प्रदेश र केन्द्रमा राणा अनुकुलको सरकार थिएन । अर्कोतर्फ लगातार तीन वर्ष कोरोना संकट झेल्नपर्यो । यस्तो अवस्थाकाबीच एशियाली विकास बैंकको योजना सफलतापूर्वक कार्यान्वयन गरेको र अल्पमतमा हुँदा समेत उपमहानगरलाई सफलतापूर्वक सन्चालन गरी कन्या क्याप्पस जस्ता कतिपय योजना ल्याएर मुस्किल अवस्थामा समेत आफ्नो जिम्मेवारी बहन गर्ने क्षमता राणाले देखाएको राप्रपा नेताहरु बताउँछन् ।

प्रतीकुल अवस्थामा समेत राणाले राम्रो काम गरेको देवकोटा बताउँछन् । त्यहि मुद्दाका कारण फेरि पनि जनताले बिश्वास गर्ने बताउँदै राणा नेतृत्वकाे नेपालगन्जमा भएका कामकाे सुचि देवकाेटाले यसरी प्रस्तुत गरे-

-लामो समय देखि अस्तव्यस्त नेपालगन्जको मुख्य बजार सदरलाईन विस्तार र व्यवस्थापन।
-नेपालकै पहिलो अत्याधुनिक ल्यान्डफिल साइड (फोहोर फाल्ने ठाउँ ) निर्माण तथा व्यवस्थापन ।
– शहर भित्र रहेका तलाउहरु वाटरपर्क , रानी तलाउ , कान्ति तालाउ जस्ता तालतलैया व्यवस्थापन तथा निर्माण ।
-अत्याधुनिक बसपार्क निर्माण ।
-आवश्यकता अनुसार नगरका ११ ठाउँका शौचालय निर्माण तथा ४ वटा घुम्ती शौचालय सञ्चालन ।
-महिला उद्यमीका लागि ” कोसेली ” घर निर्माण ।
-नगर भित्र लगभग १०० किलोमीटर कालोपत्रे र २०० वटा पी सी सी सडक निर्माण सम्पन्न
-छात्रा कलेजका लागि ४० कोठे भवन निर्माण गरी हस्तान्तरण ( मंगल प्रसाद मा. वि. )
-मधेसी मुस्लिम समुदायलाई लक्षित गरी छात्रा स्कूल सञ्चालन ( सल्यानी बंगला)
-लामो समय देखि अस्तव्यस्त लथालिङ बागेश्वरी मन्दिर व्यवस्थित र आर्थिक पारदर्शिता कायम ।
-शहर उज्यालो बनाउने उदेश्यका साथ नेपालमै पहिलो पटक हाई मास्क लाइट जडान
-७०० क्षमता भएको सभाहल ( सिटीहल ) निर्माण ( वडा न १४)
-यातायात सुविधाकोलागि नगरभित्र नगर बस सञ्चालन ।
-नगरपालिका भित्र शुन्य भ्रष्टाचार र पारदर्शिता कायम ।
-.बालिका शिक्षा मुद्दती खाता सञ्चालन, बालकोष स्थापना तथा बालमैत्री वडा घोषणा ।
-लैंगिक हिंसा निवारण कोष स्थापना तथा अपाङ्गता परिचयपत्र वितरण ।
-शहरमा सुविधा सम्पन्न सपिङ्ग कम्प्लेक्स निर्माण सुचारु ( पुरानो नगर भवन )
-महामारी कोविड १९ मा नेपाल – भारत सीमामा होल्डिङ सेन्टर, अस्थाई अस्पताल र आईसोलेशन सेन्टर सञ्चालन ।
-आगलागी नियन्त्रण गर्न अत्याधुनिक दमकल सहित दमकल भवन निर्माण ।
-आयआर्जनको लागि तालिम प्रदानगरी रोजगारीको व्यवस्थापन गर्ने उदेश्यले स्थाई तालिम केन्द्र निर्माण ( रामलीला मैदान नजिक )
-.सुर्खेतरोड लगायत विभिन्न ठाउँ र पार्कहरुमा वृक्षारोपण ।
-शहरभित्र धार्मिक सदभाव कायम ।
– नगरभित्रको समसान घाट र कब्रिस्तान ब्यबस्थापन ।
-दुई कार्यकाल आफुले पायको तलब भत्ता गरीब ,निमुखा ,असाह्य तथा विभिन्न संघ-संस्थाहरुलाई प्रदान ।
-.महिला मैत्री र भयरहित नगरपालिका संचालन ।
-.नगरपालिकामा साना ठुला ब्यावसाय प्रबर्द्धन तथा नगरपालिकाको आयबृद्दी गर्नको लागि साना ठुला २०० वटा सटर निर्माण ।
-.महेन्द्र बहुमुखी क्याम्पसमा डिग्री-ब्लक भवन निर्माण ।
-. नेपालगन्ज लाई मेडिकल हब बनाउने क्रममा चिकित्सा फोहर ब्यबस्थापनको अवधारणा ।

तर बिभिन्न चुनावी नाराले मतदाता प्रभावित गर्ने बाँके क्षेत्र नं. २ का मतदाताले राणा लाई कसरी मूल्यांकन गर्लान ? त्यो थाहा पाउन चुनावको दिन पर्खिनै पर्ने छ । रातको आठ बजे डुडुवामा संगठन बिस्तारका लागि भेला भएका नागरिकसंग भलाकुसारी गरेपछि सामाजिक सन्जाल फेसबुकमा राणा लेख्छन् -यसपाली राप्रवालाई जिताउन जनजनमा ब्यापक तयारी देखियो ।

 

प्रकाशित मितिः     ९ भाद्र २०७९, बिहीबार १५:०८  |