क्यासिनोको रोजगारी पुरानै लयमा फर्कियो


बाँके–कोभिड–१९ ले खोसेको नेपालगन्जको क्यासिनोको रोजगारी पुरानै लयमा फर्किएको छ । एक क्यासिनोमा कार्यरत सुर्खेतका युवा भन्छन्–‘करिव दुई बर्ष म बेकामे भएर बसे । अहिले कोभिड–१९ अन्त्यसंगै क्यासिनो पनि खुल्यो र म अहिले नियमित काममा गइरहन्छु ।’

मासिक रु ३० देखि ४० हजारसम्म पारिश्रमिक पाउने उनी जस्तै कयौं युवायुवती नेपालगन्जको क्यासिनोले सिर्जना गरेको रोजगारी फेरी पुरानै लयमा फर्किएपछि खुसी छन् ।

नेपालगन्जमा होटल सोल्टीमा महाजोङ्ग, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कलपत्रुमा एसएन ब्लु, ड्रिमल्याण्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी ग्यामिङ्ग सन्चालनमा छ । कोभिडको महामारी अघि सन्चालनमा रहेका क्यासिनो बन्द थिए । भारतबाट कुनै नागरिक आउन नपाएपछि लामो समय बन्द रहेका क्यासिनोका कर्मचारीहरु घरतिर लाग्न बाध्य भए । बेरोजगार बनेका युवायुवतीहरु तनाव थिए । तर कोभिड अन्त्यसंगै पुराना क्यासिनो पनि र थप नयाँ क्यासिनो पनि सन्चालनमा आएपछि रोजगारी बृद्धि भएको छ ।

यहाँ सन्चालनमा रहेका क्यासिनोले कम्तिमा ५ सय जनालाई प्रत्यक्षरुपमा रोजगारी सिर्जना गरेका छन् । नाम उल्लेख गर्न नमानेका एकजना क्यासिनो सन्चालक भन्छन्–‘सानो भन्दा सानो क्यासिनोमा ५० देखि ८० जनाले रोजगारी पाएका छन् । ठुलो क्यासिनोमा त १ सय ५० जना छन् ।’

यि क्यासिनोमा कार्यरत कर्मचारीले टिप्स समेत गरेर मासिक न्यूनतम ३० हजारदेखि अधिकम डेड लाख (ब्यबस्थापनतह) सम्म पारिश्रमिक बुझ्ने गरेका छन् । धेरै क्यासिनो सन्चालनमा रहेका कारण सबै क्यासिनोमा समान तलव र नियमित पारिश्रमिक पाउने भने नहुने गरेको छ ।क्यासिनो सन्चालनमा रहेकै कारण यहाँ तारे होटलले नियमित जस्तो ग्राहक पाइरहेका छन् ।

 

प्रकाशित मितिः     १५ भाद्र २०७९, बुधबार ११:५८  |