घुम्नुको अर्थ देख्नु, जान्नु र ज्ञान आर्जन गर्नु हो । घुमघाममा मनोरन्जन मात्र नभएर सिकाई पनि हुने गर्छ । मानिसहरुको घुम्नुको पछाडिको उद्धेश्य अनेकौ हुन्छन् । खासगरी जीवन र जगत बुझ्नको लागि, प्रकृतिसंग रमाउनको लागि अनि आनन्द महसुस गर्नको लागि वर्षेनी करोडौ मानिसहरु घुमफिरमा निस्केका हुन्छन् । त्यसैले घुमफिर वा पर्यटन भन्ने वित्तिकै प्राकृतिक र सास्कृतिक सम्पदामा रमाउन पुग्ने कार्य भनेर धेरै मानिसहरुले बने गरेका छन् । तर मानिस जिज्ञासु स्वभावको हुने र नयाँनयाँ कुराहरु थाहा पाउन, सिक्न खोज्ने भएकोले फरक सिप , सिर्जना, उत्पादन र उत्पादन प्रक्रियाले मानिसहरुलाई आकर्षित गर्ने गर्छ । विस्वमा देखिएका, सुनिएका वस्तुहरु कहाँ बन्छन? कसरि बन्छन? कहिलेदेखि बन्न शुरु गरेका हुन् ? आफुले पनि त्यस्तै उत्पादन गर्न सकिन्छ कि सकिदैन भन्ने कुराको सोधखोज गर्दै भ्रमणमा निस्कने मानिसहरुको ठुलो जमात विस्वमा छ । यो नै औद्योगिक पर्यटन हो ।
धेरै नेपालीले नेपालको पहिलो आधुनिक उद्योग बिराटनगर जुट मिल हो भन्ने सुनेका छन् । त्यसैले काम विशेषले विराटनगर पुग्ने अधिकांश मानिसहरु जुट मिल जान चाहन्छन् । मिलका विशाल भवनहरु, भवनभित्र बन्द अवस्थामा भएका मेशिनहरु, मिलसम्म पुगेको रेलमार्ग, एशियामै बढी विद्युत उत्पादन क्षमता भएको भनिएको विशाल जेनेरेटर देख्दा मानिसहरुलाई जिज्ञासु, चिन्तित र विरक्त बनाउछ । जुट मिल परिसर घुम्दा र मिलको बारेमा जान्न खोज्दा ३/४ घण्टा वितेको पत्तै हुदैन । हेटौडाको सिमेन्ट फैक्ट्री होस् वा कपडा मिल, आबुखैरेनीको टायर कारखाना, पिठौलिको चौधरी उद्योग ग्राम, सुनवलको चिनी कारखाना, बुटवलको धागो कारखाना कुनै समयमा विद्यार्थीहरु भ्रमण गर्न जाने ठाउँ थिए । भैरहवामा रहेको महेन् जनरल एण्ड सुगर मिल भ्रमण गरेको सम्झना रुपन्देही र छेउछाउका मानिसहरुको मनमा अझैपनि ताजै रहेको छ । पहिलेपहिले उद्योग/कारखानाहरुमा कसरि काम गर्छन भन्ने कौतुहलताले मानिसहरु त्यहाँ पुग्ने गर्थे, अहिले विस्वमा प्रयोग भैरहेका वस्तुको उत्पादन प्रकिर्या जान्न, प्रविधिमा आएको परिवर्तन थाहा पाउन, सिक्न र अनुकरण गर्नको लागि मानिसहरु चालु अवस्थामा रहेका र बन्द भैसकेका उद्योगहरुमा जान इच्छुक हुन्छन् । विस्वका धनि र औद्योगिक राष्ट्रमा धेरै पहिलेदेखि नै चलेको पर्यटनको यो स्वरूप अहिले विकासोन्मुख राष्ट्रहरुमा समेत फैलिएको छ । खासगरी परम्परागत र रैथाने प्रविधिमा आधारित तथा पुराना उद्योग कारखाना , पेशा र सीपले मानिसहरुलाई तान्ने गरेको छ ।
औद्योगिक पर्यटन मनोरन्जनको लागि नभएर ज्ञानको लागि गरिने पर्यटन हो । यो एक किसिमको बौद्धिक स्तरको पर्यटन पनि हो । वस्तुको उत्पादन र उपभोग, उत्पादन प्रक्रिया र प्रविधिको जानकारी लिनको लागि यस्तो पर्यटन हुने गर्छ । यसैगरी औद्योगिक उत्पादन र सीपमा आएको परिवर्तनको ऐतिहासिक अध्ययन गर्न, उद्योगहरुको इतिहास र उद्योगले प्रारेको प्रभावको सामाजिक अध्ययन गर्न, उद्योगका उत्थान र पतनका कारणहरुको पहिचान गर्न अन्वेषकहरु र इतिहासकारहरु यस्तो पर्यटनमा संलग्न हुने गर्छन् । विकसित देशहरुमा आधुनिक सिप र प्रविधिको प्रयोग गरि औद्योगिक उत्पादन भैरहेको छ तर नेपालजस्ता देशहरुमा अझैपनि १९ औ शताब्दीका प्रविधिमा आधारित एवं परम्परागत सीपमा आधारित उद्योगहरु संचालनमा छन् । यस्ता पुराना उद्योग र परम्परागत सीपमा आधारित उद्योगहरुले औद्योगिक व्यवस्थापनका विद्यार्थी , उत्पादन इन्जिनियरिंगका विद्यार्थीहरु, उद्योगीहरु र समाजशास्त्रीहरुलाई अवलोकन र अध्ययनका लागि आकर्षित गर्छन् । यस्ता पर्यटकहरु थोरै संख्यामा हुने भएपनि लामो समयसम्म एकै ठाउमा बसेर अध्ययन गर्ने पर्यटन क्षेत्रले गुणस्तरीय पर्यटक पाउन सक्छ र पर्यटन क्षेत्रले फरक किसिमले लाभ र प्रवर्द्धनका अवसरहरु पाउन सक्छ ।
यस प्रदेशमा दुईवटा औद्योगिक क्षेत्र स्थापना गरिएका छन् । बाँके जिल्लाको नेपालगन्जमा ११.९ हेक्टर (२३३.९, रोपनी) क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा २८ वटा उद्योग सञ्चालनमा रहेका छन् । त्यस्तै, २२.१ हेक्टर (४३४ रोपनी ) क्षेत्रफलमा फैलिएको बुटवल औद्योगिक क्षेत्रमा ६४ वटा उद्योग सञ्चालनमा रहेका छन् । रूपन्देहीको मोतिपुर र बाँकेको नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माणाधीन अवस्थामा रहेका छन् । प्रदेशमा करिब ६८ हजार ४०० वटा लघु, घरेलु तथा साना उद्योगहरु संचालित छन् । नवलपरासीको भुमही परासी खण्ड, रुपन्देहीको बुटवल, भैरहवा लुम्बिनी खण्ड, कपिलवस्तुको चनैटा कृष्णनगर खण्ड, दाङ्गको घोराही तुलसीपुर खण्ड, बांकेको कोहलपुर नेपालगंज खजुरा क्षेत्रमा ठुला उद्योगहरु थपिने क्रम चलिरहेको छ । यहि भदौ २ गते नेपाल सरकारले लुम्बिनी प्रदेशका सुनवल. तिलोत्तमा, सैनामैना, रामपुर, तानसेन, तुलसीपुर र खजुरामा औद्योगिक ग्रामको स्थापना गर्न क्षेत्र तोकेर राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ । भारतसंगको सिधा र सहज पहुँच अनि मधेश प्रदेशमा भन्दा शान्ति सुरक्षाको प्रत्याभूतिको कारणले तराईका राजमार्गसँग नजिक रहेका सबै पालिकाहरुमा ठुला उद्योगहरु संचालन गर्ने लहर चलेको छ । पुराना उद्योगहरु बन्द हुदै गएपनि नयाँ उद्योगहरु स्थापना गर्ने क्रम चलेकोले लुम्बिनी प्रदेश औद्योगिक अध्ययनको लागि राम्रो प्रदेशको रुपमा विकासित भैरहेको देखिन्छ ।
खासगरी परम्परागत र पृथक औद्योगिक भ्रमण गर्नको लागि प्रदेशका प्रायजसो जिल्लाहरु उपयुक्त छन् । पाल्पाको ढाका र करुवा देशभर प्रसिद्ध छ । तानसेनलाई त ढाकाको राजधानी घोषणा गरिसकेको छ । ढाका र करुवा पाल्पाको औद्योगिक पर्यटनका लागि ब्राण्ड हुन् । पूर्वी पाल्पामा बाँसका राम्रा सामाग्रीहरु बनाईन्छ । यसलाई एकीकृत उद्योगको रुपमा विकास गर्ने हो भने बेतबाँसको उत्पादन सिक्न चाहनेहरुलाई भ्रमणमा ल्याउन सकिन्छ । गुल्मीको थोर्गामा नेपालमै फरक किसिमको गुँड बनाइन्छ । उखु पेलेर खुदो र गुँड बनाउने प्रविधिले बुटवलका औद्योगिक ब्यापार मेलाहरुमा निकै दर्शकलाई आकर्षित गरेको देखिन्छ । गाउघरसम्म पर्यटकहरु पु¥याएर यो प्रविधि देखाउन सक्ने हो भने पर्यटकहरुमा गाउँमा अड्याउन सकिन्छ । पाल्पाकै चुनढुंगा खानीहरु अनि पूर्वी रुकुमका स्लेटखानीहरु फिल्मांकन, फोटो सुट र अध्ययनका लागि राम्रा गन्तव्यहरु बन्न सक्छन् । पूर्वी रुकुम र रोल्पाका उच्च पहाडी भुभागमा स्थानीय प्रविधिबाट तानहरु चलाएर राडीपाखी तयार गरिन्छ । पहाडी भेगमा स्थानीय प्रविधिको प्रयोगगरी काठका ठेकी र धातुका सामाग्रीहरु बनाउने गरिन्छ । तराईमा थारुहरुले परम्परागत ढकिया निर्माण गर्छन् । यस्ता परम्परागत लघु उद्यम औधोगिक पर्यटनका आधार बन्न सक्छन् ।
बाँकेको खजुरामा नेपालकै ठुलो कपास उद्योग छ । यो उद्योग कपास खेति गर्न चाहनेहरु र कपास तथा कपडा उत्पादनमा रुची राख्नेहरुको लागि चाखलाग्दो छ । बर्दियाको राजापुरमा जापान सरकारको सहयोगमा २०४५ सालमा निर्मित अत्याधुनिक राइसमिल, चिन सरकारको सहयोगमा नवलपरासीको सुनवलमा निर्मित चिनी मिल, बुटवल स्थित ( हाल बन्द) धागो कारखाना, कोईलाबास बजारमा बन्द भएका तोरी र राईस मिल, भैरहवामा रहेको गहँुबाली अनुसन्धान केन्को बिउ स्तरीकरण मिल लगायतका सरकारी स्वामित्वका ठुला कारखानाहरु प्रविधि सिक्ने र औद्योगिक शिक्षा हासिल गर्ने थलोको रुपमा विकसित गरि औद्योगिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । मणिग्राम कफी कम्पनीमा विगतमा रहेको कफी प्रसोधन उद्योगलाई पुनस्र्थापना गरि कफी उद्यमलाई प्रवद्र्धन दिदै कफीको बारेमा सिक्न चाहनेहरुलाई ज्ञान बाड्न सकिन्छ । कुनै समय लघु जलविद्युतको पर्याय बनेको थापा इन्जिनियरिंग, नेपाल हाईड्रो, हिमाल हाइड्रो लगायतका सस्थाहरु जलविद्युतको क्षेत्रमा रुची राख्नेहरुको लागि सिकाईको राम्रो केन् बन्न सक्छन् ।
लुम्बिनी प्रदेशमा सबैखाले उद्योगहरु भएको र उद्योगमा विविधता भएको भएपनि औद्योगिक पर्यटन शुरु हुन सकेको छैन । स्कूल र कलेजका विद्यार्थीहरु उद्योगको अवलोकन भ्रमणमा यदाकदा पुग्ने गरेको भएपनि त्यसले पर्यटनको स्वरूप ग्रहण गर्न सकेको छैन । संघीय र प्रदेश सरकारका पर्यटन नीतिहरुमा पनि औद्योगिक पर्यटन अटेको छैन र पर्यटन व्यवसायीहरुले पनि “औद्योगिक पर्यटन पनि हुन् सक्छ है ” भन्ने कुरामा ध्यान दिन सकेका छैनन् । औद्योगिक प्रतिष्ठानहरुले पनि आनो उद्योग भ्रमण गराएर पनि लाभ लिन सकिन्छ भनेर सोचेको देखिदैन । यस्ता समस्याहरु विद्यमान हुदासम्म प्रदेशमा औद्योगिक पर्यटनमा आश गर्न सकिन्न । पर्यटन व्यवसायी, सरकार र उद्योगीले ध्यान दिने हो भने औद्योगिक र प्राविधिक प्रतिष्ठानहरुले थोरै तर गुणस्तरीय पर्यटकहरुलाई भित्राउन सक्छन् । यसबाट पर्यटन क्षेत्रले मात्र नभएर औद्योगिक क्षेत्रले समेत लाभ लिन सक्नेछन् ।
-बुटवलटुडेबाट