पसल बेच्ने बढे, किन्ने छैनन्


नेपालगन्ज– ‘गोदाम र पसलमा लाखौंको सामान स्टक छ, तर मेरो कारोवार दिनको १५ हजारसम्म ओरोलो झर्न लाग्यो । माग कतैबाट छैन ।’–घरबारीटोलका एकजना कपडाका ‘होलसेलर’ले गुनासो गर्दै चिन्ता पोख्दै थिए,–‘रातभर निद्रा लाग्दैन, तनाव नै तनाव छ ।’

दशैं र तिहारलाई व्यापारकाे सिजन मानिन्छ । यसैमा कारोवार हुने आशा गरेपनि बजारले निरास बनाइदिएको छ । सुर्खेतरोडस्थित एक फर्निचर उद्योगका सन्चालकले मंगलबार बिहान भन्दै थिए,–‘दशैंका बेला विक्री होला भनेर स्टक राखिएका फर्निचरका सामान अहिलेसम्म जस्ताको त्यस्तै छ ।’

लाखौंको कारोवार गर्ने घरवारीटोलका होलसेर हुन चाहे अन्य साना ब्यापारी  ! अहिले सबैतिरको व्यापारमा सन्नाटा छ । कतिसम्म भन्ने रिक्सा चालकहरु समेत भन्छन्–‘पहिला १५ सयसम्म कारोवार हुन्थ्यो अहिले आधा कम छ । मान्छे नै पाइदैन । रिक्सा धेरै भएर होकी मान्छे नै कम भएर हो ?’ कोभिड–१९ र त्यपछि उब्जिएको आर्थिक संकटले यसरी नेपालगन्ज मात्र होइन बिश्वभरको अर्थतन्त्र धरासायी बनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी बताउँछन् ।

उनी भन्छन्–‘कारोवार र कतैबाट पनि आर्थिक सहयोग नभएपछि अहिले पसलहरु बिक्री गर्ने बढेका छन् । तर के गर्नु किन्ने कोही छैनन् ।’ सामाजिक सन्जालमा पसल विक्रीको सूचनाहरु थुप्रै देख्न पाइन्छ । अध्यक्ष मन्सुरी भन्छन्–‘लगानी नगरिरहेको बैंकले चर्को ब्याजदर सहित ऋण तिर्न ताकेता गरिरहन्छन् अर्को तर्फ अत्याधिक महङ्गो घरभाडा । व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नु भन्दा पसल नै विक्री गर्नेहरु धेरै छन् ।’

नेपालगन्ज उद्योग वाणिज्य संघक महासचिव चिरञ्जीवी ओलीले सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत नदिएको बताउँछन् । जसका कारण नयाँ लगानीकर्ता बजारमा आउन सकेका छैनन् भने भएकै पनि बिस्तापित भइरहेका छन् ।

उनी भन्छन्–‘नेपालगन्जको बजार पहिल्यैदेखि नै भारतीय बजारबाट धेरै प्रभावित छ । यस्तो बेला व्यवसायीले झेल्नुपरेको आर्थिक संकट त थामिनसक्नुभयो ।’ ओलीले यस्तो बेला व्यवसायीलाई राहात दिनुको सटट राज्यका बिभिन्न निकायले निरुत्साहित पार्ने काम गरिरहेको बताउँछन् ।

प्रकाशित मितिः     २८ भाद्र २०७९, मंगलवार १३:१६  |