जनकराज सापकोटा | खाेज पत्रकारिता केन्द्र
आज राति म अनलाइनमा आउन्न, अब दश दिनपछि मात्रै कल गर्छु। त्यही भन्दे आमालाई, पीर गर्नु पर्दैन।
पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासीको कावासोती बजारबाट करीब आठ किलोमिटर उत्तर चुरेको फेदमै छ, सानो बस्ती– छिपछिपे। यही बस्तीमा जस्तापाताले छाएको सानो घरमा बस्छन्, यमकला तिवारी र उनका जेठा छोरा दीपेन्द्र। यमकलाका कान्छा छोरा नवीन युरोपको सपना बोकेर करीब पाँच वर्षअघि टर्कीतर्फ लागेका थिए। १९ मंसिर २०७४ को राति करीब ९ बजे उनै नवीनले टर्कीबाट पठाएको सन्देश दीपेन्द्रले आमा यमकलालाई सुनाएका थिए।
करीब ४ हजार ६२० किलोमिटर परबाट ‘दश दिनपछि कल गर्छु’ भन्ने सन्देश पठाएका नवीनले त्यसपछि न फोन गरे न त कुनै सन्देश नै आयो।
२४ वर्षीय नवीन कामदार भिसामा टर्की पुग्ने र त्यहाँबाट ग्रीस जाने सपना बोकेर १५ कात्तिक २०७४ मा घरबाट विदाबारी भएका थिए। घरबाट हिंडेको २४ दिनपछि नवीनले आफू टर्कीको राजधानी इस्तानबुल पुगेको खबर दाइ दीपेन्द्रलाई पठाए।
इस्तानबुल पुगेको पाँचौं दिनमा नवीन ग्रीस जान हिंड्नेहरूको समूहमै रहेकोसम्म टोलीका अन्य सदस्यबाट थाहा भएको छ। त्यसयता कान्छो छोरा आउने बाटो हेर्दाहेर्दै यमकलाका आँखा थाकिसकेका छन्।
टर्कीबाट अवैध रूपमा ग्रीस छिर्नेहरू इभ्रोस नदी वा भूमध्यसागर पार गर्ने जोखिम उठाउँछन्। क्षमता भन्दा धेरै मानिस हालिएका जोखिमपूर्ण डुंगाबाट नदी वा समुद्र पार गर्न नचाहनेले २०३ किलोमिटर लामो जंगलको बाटो पार गर्नुपर्छ।
नवीनले परिवारसँग गरेको कुराकानी र उनीसँगै हिंडेका इलाम घर बताउने मोती गुरुङ, रोहित गुरुङ र नवलपरासी कावासोतीकै टीकाराम भट्टराईको भनाइ अनुसार उनीहरू पनि पैदल मार्गबाट अगाडि बढे।
अब त देवीदेउताको भर लाग्न छाड्यो, दुःख सहेर हुर्काएको तन्नेरी छोरो परदेशमा हरायो, यस्तो कसैलाई नहोओस्।
२५ जुलाई २०१८ मा फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीमा मोती गुरुङले कठ्यांग्रिदो चिसोमा घना जंगलको बाटो हुँदै ७ रात ८ दिनसम्म हिंड्नु परेको र त्यसक्रममा भोकैप्यासै हिंडिरहेका नवीन बिरामी परेको बताए। उनले भने, “नवीनलाई जंगलमै एकजना मान्छेको जिम्मा लगाएर एजेन्टले हामीलाई अघि बढायो, त्यसपछि के भयो थाहा छैन।” ग्रीसबाट सम्पर्कमा आएका मोती त्यसपछि भने सम्पर्कमा आएनन्। उनकोे फेसबुक अकाउण्ट पनि १५ मार्च २०२० यता अपडेट भएको छैन।
दश दिनपछि फोन गर्छु भनेका भाइको कुनै खबर नआएपछि दीपेन्द्रले नवीनसहितको समूहलाई टर्कीबाट ग्रीस छिराउने जिम्मा लिएका मोहम्मद नाम गरेका पाकिस्तानी एजेन्टसँग ‘इमो’ मार्फत सम्पर्क गरेका थिए। मोहम्मदले ग्रीस जाने क्रममा नवीनको खुट्टा सुन्निएको र ज्वरो समेत आएकाले अस्पतालमा उपचार भइरहेको बताएको तर, कहाँको कुन अस्पताल हो भन्ने नखुलाएको दीपेन्द्रको भनाइ छ। न त नवीनसँगै ग्रीसका लागि हिंडेका अरू नेपालीलाई त्यसबारे थाहा छ।
नवीन हराएको खबर सार्वजनिक भएको करीब सात महीनापछि नवीनसँगै यात्रा गरेका मोती गुरुङसँग सम्पर्क हुनसकेको थियो। त्यतिबेला ग्रीस पुगिसकेका उनी २५ दिन थुनामा बसेर छुटेका थिए। २५ जुलाई २०१८ र २ जुलाई २०१८ मा म्यासेन्जरमा कुराकानी हुँदा उनले इस्तानबुलबाट ग्रीस जानका लागि एक एजेन्ट, एक डोंकर (जंगलमा बाटो देखाउने मानिस) सहित चार नेपाली र तीन पाकिस्तानी मध्यरातमा सँगै हिंडेको बताए।
छोराको पर्खाइमा बिताएका प्रत्येक दिनको सम्झना मात्रैले पनि यमकलालाई हुरुक्कै बनाउँछ। उनी भन्छिन्, “छोरो हराएपछि मेरा दिनरात हराएका छन्। मर्नु न बाँच्नु भएकी छु।”
बेवारिसे मृत्यु, न्यून उजुरी
संगठित मानव तस्करकोे प्रलोभनमा परी ११ देखि १५ लाख रुपैयाँ खर्चेर टर्की पुगेका अधिकांश नेपालीको एउटै ध्याउन्न हुन्छ– जसरी हुन्छ, ग्रीस पुग्ने। तर, युरोपेली संघको सदस्य र सम्पन्न देश ग्रीस छिरेपछि पनि नेपालीको यात्रा टुङ्गिदैन।
टर्कीको कोच युनिभर्सिटीका प्राध्यापक एवं माइग्रेसन रिसर्च सेन्टर का निर्देशक आमेत इस्डुगु लिखित ट्रान्सबोर्डर क्राइम बिट्विन टर्की एण्ड ग्रीसः ह्युमन स्मग्लिङ एण्ड इट्स रिजनल कन्सिक्वेन्सेस् शीर्षकको अनुसन्धानपत्रमा टर्कीबाट ग्रीस छिरेकामध्ये १४ प्रतिशतको गन्तव्य बेलायत हुने, १३ प्रतिशतको जर्मनी, १३ प्रतिशतको ग्रीस, ६ प्रतिशतको इटली र ५ प्रतिशतको फ्रान्स हुने उल्लेख छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा प्रमुख रहिसकेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राई पनि ग्रीस पसेका नेपाली त्यहाँबाट युरोपका अन्य देश जाने प्रवृत्ति रहेको बताउँछन्।
नवीन र मोतीसँगै हिंडेर ग्रीस पसेका रोहित गुरुङसँग १८ जुलाई २०१८ मा फेसबुक म्यासेन्जर मार्फत भएको कुराकानीमा उनले आफूजस्तै गरी ग्रीस पुगेका नेपाली कोही पोर्चुगल र इटली त कोही स्पेनतिर पुगिसकेको बताएका थिए। उनका अनुसार त्यतिबेला उनी ग्रीसको एउटा होटलमा दैनिक १० डलर ज्यालामा काम गरिरहेका थिए, जुन रकम एक दिनको खाना र बसाइका लागि पर्याप्त थिएन। उनले भनेका थिए, ‘ग्रीस छिरेका ७५ प्रतिशत नेपालीको हालत यस्तै हो।’ त्यसपछि २५ डिसेम्बर २०१९ मा कुराकानी हुँदा भने उनी पनि पोर्चुगल पुगिसकेका रहेछन्।
कामदार भिसामा टर्की पुग्ने र त्यहाँबाट संगठित मानव तस्करका एजेन्टलाई लाखौं रुपैयाँ बुझाएर अवैध रूपमा ग्रीस छिर्न खोज्ने नेपालीको यकिन विवरण प्रहरी र अन्य सरकारी निकायसँग छैन।
डीआईजी राई अवैध रूपमा टर्की हुँदै ग्रीस छिर्ने क्रममा दुर्घटनामा पर्ने नेपालीको संख्या ठूलो भए पनि पीडितका परिवारले हराएको, मृत्यु भएको वा संगठित मानव तस्करीमा परेको सूचना नदिने हुँदा यस्तो संख्या ठ्याक्कै थाहा नहुने बताउँछन्।
डीआईजी राईले भने जस्तै यमकलाले पनि छोराको खोजीका लागि कुनै सरकारी निकायमा निवेदन दिएकी छैनन्। नवीनलाई टर्की पठाउने काममा आफन्त नै जोडिएको हुँदा उनको परिवारले सरकारी पहलका लागि उदासीनता देखाएको हो।
डीआईजी राई भन्छन्, “घटनाबारे अनौपचारिक सूचना आए पनि पीडितका परिवार प्रहरीमा आउँदैनन्। संगठित मानव तस्करीका अधिकांश घटनामा पीडितकै चिनजानका, छिमेकी वा आफन्त जोडिएका हुन्छन्।”
यमकलाका अनुसार नवीनलाई टर्की पठाउन चाँजो मिलाउने बुटवल निवासी उनकै भिनाजु तुलसीप्रसाद न्यौपाने हुन्। साउदी अरबमा एक दशकभन्दा धेरै बसेका तुलसीले प्रक्रिया मिलाइदिएकै कारण यमकला ढुक्क थिइन्। घर छाड्ने दिन नवीनसँग भएको कुरा सम्झिंदै यमकला भन्छिन्, “मासिक ३० हजारको काम मिल्छ। पार्ट टाइम पाइयो भने अझै धेरै कमाइ हुन्छ भन्थ्यो तर, बेपत्ता भयो।”
इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट्स का अनुसार सन् २०२२ को मेसम्मका पाँच महीनामा मात्रै टर्की–ग्रीस सीमा क्षेत्रमा २१ जना आप्रवासीको मृत्यु भएको छ। सन् २०२१ को जनवरी–फेब्रुअरीमा मात्रै १० जना आप्रवासीहरू सीमा क्षेत्रमा मृत भेटिएका थिए।
अवैध बाटो भएर ग्रीस जानेहरूलाई एजेन्टले परिचय खुल्ने कुनै कागजात वा मोबाइल फोन राख्न दिंदैनन्। त्यसैले मृत वा मानसिक स्वास्थ्य बिग्रेको अवस्थामा भेटिएका यस्ता आप्रवासी कुन देशका हुन् भन्ने खुल्दैन।
घटनाबारे अनौपचारिक सूचना आए पनि पीडितका परिवार प्रहरीमा आउँदैनन्। संगठित मानव तस्करीका अधिकांश घटनामा पीडितकै चिनजानका, छिमेकी वा आफन्त जोडिएका हुन्छन्।
गएको ३ फेब्रुअरीमा टर्कीबाट अवैध रूपमा ग्रीस छिर्न खोजेका नेपाली, पाकिस्तानी र केही अफ्रिकी सहित करीब ५० जनालाई ग्रीसका सीमा सुरक्षा अधिकारीहरूले पक्राउ गरे। पक्राउ परेकालाई केही घन्टासम्म थुनामा राखी जुत्ता र न्यानो कपडा खोल्न लगाइयो। त्यसपछि उनीहरूलाई टर्कीतिर पैदलै फिर्ता पठाइयो। हिमपात भइरहेको त्यो बेला टर्कीतर्फ फर्कंदै गरेका १९ आप्रवासीहरूको चिसोले कठ्याङ्ग्रिएर बाटोमै मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरे।
टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वलकुमार घिसिङ हिमपात र अत्यधिक चिसोसँग जुध्दै फर्किनेहरूको समूहमा ८ जना नेपाली रहेको सूचना आफूले पाए पनि मृत्यु हुनेमध्ये नेपाली थिए/थिएनन् भन्ने चाहिं थाहा पाउन नसकेको बताउँछन्।
संसारभरि फैलिएको आप्रवासीको सामूहिक मृत्युको यो खबरले बैतडीका दिव्यदेव अवस्थीको परिवारलाई झस्कायो। यो त्यही बेला थियो जब दिव्यदेव इस्तानबुलबाट अवैध बाटो हुँदै ग्रीसतर्फ लागेका थिए। दिव्यदेवका भिनाजु वीरेन्द्रराज जोशीले ग्रीस जान हिंडेको टोलीमा आठ जना भए पनि सात जना मात्रै टर्की फर्केको सूचना आफूलाई प्राप्त भएपछि झनै आत्तिएको बताए। उनका अनुसार गएको १७ माघबाट सम्पर्कविहीन भएका दिव्यदेवको अझै अत्तोपत्तो छैन। “दिव्यको खबर थाहा पाउन हामी छट्पटाएका छौं तर, यकिन सूचना पाउन सकेका छैनौं”, जोशी भन्छन्।
मृत्यु भएका आप्रवासीको सूचीमा पो दिव्यको नाम छ कि भनेर उनको परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखादेखि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोसम्म निवेदन दिएका छन्। ब्यूरोका पूर्व प्रमुख राई दिव्यबारे थाहा पाउन प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत पत्राचार गरिए पनि कुनै खबर नआएको बताउँछन्।
करिब एक वर्षअघि २५ कात्तिकमा पनि ग्रीसको राजधानी एथेन्सबाट ५०२ किलोमिटर पूर्वको सीमावर्ती क्षेत्रमा आप्रवासी सवार गाडी दुर्घटनामा पर्यो। तीव्र गतिका कारण भएको उक्त कार दुर्घटनामा ७ आप्रवासीको मृत्यु भएको थियो।
दुर्घटनालगत्तै नेपालमा रहेका परिवारले टर्कीबाट ग्रीसतर्फ लाग्दा सम्पर्कविहीन भएका आफन्तको खोजी शुरू गरे। उनीहरू प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पुगेपछि ब्यूरोले इन्टरपोलको सहायतामा उक्त दुर्घटनामा मृत्यु भएकाहरूको फोटो झिकायो।
घटनाको ४० दिनपछि अर्थात् ५ पुसमा आफन्तले फोटो हेरेका भरमा मृतकको पहिचान गरे। जसमा दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापा थिए।
घटनामा मृत्यु हुनेमध्ये लक्ष्मण र राजु कामदार भिसामा दुबई हुँदै टर्की पुगेका थिए। रसुवाको दुर्गम गाउँकी शर्मिला भने यसअघि १९ वर्षको उमेरमा इराक पुगेकी थिइन्। प्रतिबन्धका बाबजुद पनि इराक पुगेकी उनी त्यहाँबाट अवैध रूपमै टर्की छिरेकी थिइन्। दुई वर्षअघि वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका ओमबहादुर थापा मगर भने त्यहींबाट मानव तस्करको सहयोगमा टर्की पुगेका थिए।
दुर्घटनामा घाइते भएका कैलालीका लोकराज आचार्यले जंगलको बाटो १३ दिनसम्म हिंडेर ग्रीसको सीमा छेउ पुगेको र त्यहाँबाट गाडी चढेर ग्रीस पस्ने क्रममा दुर्घटना भएको बताए। अहिले ग्रीसमा रहेका उनी पनि गरिरहेको काम र पारिश्रमिकबाट सन्तुष्ट छैनन्।
सुख खोज्दा दुःख मात्रै
सम्बन्धित परिवारका अनुसार संगठित मानव तस्करका विभिन्न एजेन्टमार्फत टर्की पुग्नेहरूले औसतमा १० देखि १५ लाख खर्च गर्छन्। जसमा एजेन्ट खर्च, विमान टिकट र खाने–बस्ने खर्च पनि जोडिएको हुन्छ।
ग्रीस जानका लागि नवीनसँगै नेपालबाट हिंडेका रोहितले इस्तानबुलमा बस्ने एजेन्ट आशिष घिमिरेलाई थप २ हजार ९०० डलर बुझाएपछि मात्रै एक पाकिस्तानी एजेन्टमार्फत ग्रीसतर्फ लाग्न पाएका थिए।
ग्रीस जाने अवैध बाटो कतिसम्म सकसपूर्ण छ भने यस्तो बाटो रोज्नेहरू हिंसा, यातना र दुर्घटनामा मात्रै पर्दैनन् कहिले सुरक्षाकर्मीबाट पक्राउ पर्ने त कहिले बन्धक बनाइने सम्भावना पनि उत्तिकै हुन्छ। जस्तो कि, गएको ४ अप्रिलमा टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ जना नेपालीलाई ग्रीस जाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।
त्यसको केही दिनपछि २६ अप्रिलमा टर्कीको ताक्सिम स्क्वायरमा चार जना नेपालीलाई ६ जना पाकिस्तानी हतियारधारीले बन्धक बनाएका थिए। टर्कीबाट ग्रीस लैजाने एजेन्टको रूपमा ती पाकिस्तानीसँग नेपालीको भेट भएको थियो। दुई पुरुष र दुई महिला नेपाली बन्धक भएको खबर थाहा पाएपछि टर्की प्रहरीले बन्धक बनाउने एक सदस्यलाई पक्राउ गरी नेपालीलाई छुटाउन सफल भएको थियो।
सन् २०१६ र २०१७ का चार महिना ग्रीसको ठूलोमध्येको आप्रवासी शिविर, मोरिया क्याम्पमा काम गरेका एक दोभाषेका अनुसार टर्कीबाट ग्रीस जानेमध्ये अधिकांश नेपाली मानव तस्करकै सहायतामा जान्छन्।
संस्थागत आबद्धताका कारण नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, “एजेन्टले समूह बनाएर बिहानको तीन–चार बजे नै हिंडाउने रहेछन्। बाटोमा पर्ने ठूलो नदी तर्न सानो डुंगामा कोचाकोच मानिस हालिन्छन्।” उनका अनुसार यसरी ग्रीस पुगेकाहरूले शरणार्थी बन्नका लागि आवेदन दिने क्रममा आफू नेपालमा सशस्त्र हिंसा वा जातीय दंगाको शिकार भएकोले स्वदेश फर्किन नसक्ने तर्क प्रस्तुत गर्छन्।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा टर्कीमा आकर्षक रोजगारीको प्रलोभनबाट ठगिएका ३७ उजुरी परेका थिए। आर्थिक वर्ष २०७६/७७ मा भने टर्की लगिदिने भन्दै ३९ लाख रुपैयाँ ठगेको एउटा मात्र उजुरी परेको थियो। यस्तो ठगीको उजुरी दिने आर्थिक वर्ष २०७७/७८ मा चार जना थिए। उजुरीमा यी चारै जनाबाट एजेन्टले जनही साढे २२ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइराला टर्की र ग्रीस लगिदिने भन्दै ठग्नेहरूको संख्या ठूलो भए पनि उजुरी निकै कम पर्ने गरेको बताउँछन्।
एजेन्टले समूह बनाएर बिहानको तीन–चार बजे नै हिंडाउने रहेछन्। बाटोमा पर्ने ठूलो नदी तर्न सानो डुंगामा कोचाकोच मानिस हालिन्छन्।
२७ जेठ २०७५ मा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा भने यस्तो उजुरी एउटा मात्रै परेको छ। मोरङको पथरी शनिश्चरे–१४ घर भई काठमाडौंको टोखा–३ बस्ने ‘बबरमहल ६१’ (प्रहरी मिसिलमा परिवर्तित नाम) ले आफू र छोरीलाई समेत आकर्षक रोजगारीको प्रलोभन देखाएर टर्की पुर्याई अलपत्र पारेको भन्दै ५ फागुन २०७७ मा उजुरी दिएकी थिइन्।
बूढानीलकण्ठमा फेन्सी पसल सञ्चालन गर्ने ‘बबरमहल ६१’ लाई अनिल डंगोलले जानुका लामा घिसिङसँग सम्पर्क गराइदिएका थिए। जानुकाले दुवै आमा–छोरीलाई ग्रीसमा मासिक ८० देखि ९० हजार रुपैयाँ आम्दानी हुने काम लगाइदिने प्रलोभन देखाइन्। त्यसपछि जानुकामार्फत आमा–छोरीले स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका लागि गोङ्गबुमा औषधि पसल सञ्चालन गर्ने पूर्णिमा बस्नेतलाई भेटे। पूर्णिमाले उनीहरूको सम्पर्क आफ्ना बाबु भन्दै लक्की सिंह भनिने किस्मत सिंहसँग इमोमार्फत गराइन्। विदेश जानकै लागि उनीहरूले टोखामा रहेको चार आना जग्गा बेचेर पूर्णिमालाई आठ लाख रुपैयाँ दिए।
२२ असोज २०७७ मा टर्की पुगेका आमा–छोरीलाई लक्कीले काम मिलाइदिने भन्दै करीब तीन महिनासम्म बन्धकजस्तै बनाएर राखे। एकदिन लक्कीले आमालाई काम लगाइदिने भन्दै टर्कीको सीमा क्षेत्रमा पुर्याए, छोरी कोठामै थिइन्।
त्यसैबेला छोरी चाहिं टर्कीस्थित गैरआवासीय नेपाली संघको सम्पर्कमा पुग्न सफल भइछन्। संघकै पहलमा उनी ८ मंसिर २०७७ मा नेपाल फर्किइन्। आमालाई भने लक्कीले ग्रीस लैजाने भन्दै चार पटकसम्म जंगलमा हिंडाउँदै फर्काउँदै गरे। ‘बबरमहल ६१’ ले प्रहरी बयानमा भनेकी छन्, ‘ग्रीस छिर्न जंगलको बाटो हिंडिरहेका बेला एकजना पाकिस्तानी मरेको देखेपछि म बरु आत्महत्या गर्छु अगाडि बढ्दिनँ भनेर रोईकराई गरें र, मलाई लक्कीले फिर्ता ल्यायो।’
प्रहरीमा उनले गरेको बयान अनुसार लक्कीले यो प्रक्रियामा संलग्न ‘पूर्णिमा र जानुकालाई केही गर्ने छैन’ भन्ने व्यहोराको कागज गराएपछि मात्रै उनलाई नेपाल फर्काउन तयार भएका थिए। नेपाल फर्केपछि भने आमा–छोरीले आफूहरू ठगिएको र करीब रु.२० लाख गुमाएको जाहेरी प्रहरीमा दिए।
नवीनलाई जंगलमै एकजना मान्छेको जिम्मा लगाएर एजेन्टले हामीलाई अघि बढायो, त्यसपछि के भयो थाहा छैन।
यही जाहेरीका आधारमा प्रहरीले वाफलस्थित श्रम कार्यालय बाहिर बसेर एजेन्टको काम गर्नेे जीवन भट्टलाई काठमाडौंको तारकेश्वरबाट र पूर्णिमा बस्नेतलाई माछापोखरीबाट पक्राउ गर्यो। १८ चैत २०७७ मा काठमाडौं जिल्ला अदालतले मुख्य प्रतिवादी जीवन भट्टलाई तीन लाख धरौटीमा र पूर्णिमा बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। घटनामा जोडिएका अर्का प्रतिवादी लक्की सिंहलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराउने प्रयासमा छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार अमेरिकासँगै युरोपका ग्रीस, टर्की, क्रोएशिया, रोमानिया पठाइदिने संगठित मानव तस्करको गिरोह नेपालमा सक्रिय छ। यी तस्करहरूले भारतीय र पाकिस्तानी गिरोह अन्तर्गत रहेर अवैध रूपमा सिमाना कटाउने काम गर्छन्। टर्की हुँदै ग्रीस पस्न खोज्ने धेरै नेपालीको अपेक्षा भने राम्रो काम पाए ग्रीसमै बस्ने, नपाए पोर्चुगलतर्फ लाग्ने हुन्छ।
ब्यूरोका अनुसार पछिल्ला दुई वर्षमा संगठित मानव तस्करले अवैध रूपमा अमेरिका पुर्याएका १५० जना नेपाली घर फर्काइए तर, यीमध्ये तीन जनाले मात्रै प्रहरीमा उजुरी दिएका छन्।
ग्रीस र टर्कीका लागि समेत राजदूत रहेका पाकिस्तानका लागि आवासीय नेपाली राजदूत तपस अधिकारी पनि पछिल्लो डेढ वर्षमा टर्कीबाट दुई नेपालीको ‘केस’ मात्रै आफूकहाँ आएकोे बताउँछन्। “ती दुई केस पनि टर्कीमा कामदार भिसा सकिएपछि मृत्यु भएका नेपालीका थिए”, उनी भन्छन्।
आप्रवासीहरूको सामूहिक मृत्यु भएको पछिल्लो घटनाबारे भने दूतावासले टर्की सरकारसँग सोधखोज गर्दा उक्त घटनामा कोही नेपाली नपरेको खबर आएको उनले बताए।
अवैध बाटोबाट यात्रा गर्दा हुने मृत्यु, बेपत्ता, दुर्घटना र अन्य दुःखका खबरहरू सार्वजनिक भइरहँदा पनि लाखौं खर्च गरेर टर्की–ग्रीसको यात्रा गर्ने क्रम भने रोकिएको छैन।
‘कसलाई सोधौं ?’
यमकला तिवारीले घरको भित्तामा झुण्डिएका छोरा नवीनका सबै तस्वीर हटाएकी छन्। तर पनि बेपत्ता भएको छोराको सम्झनाले सताउन छोड्दैन।
पिंढीमा बसेका बेला उनका आँखा सधैं पर–परसम्म पुगेर टोलाउँछन्। भेट हुने प्रत्येक नौला मान्छेले छोराकै खबर ल्याए कि झैं लाग्छ। नचिनेको नम्बरबाट आउने फोनका प्रत्येक घण्टीले छोराको आवाज सुन्ने उत्कट तिर्सना बढाइदिन्छन्। गएको फागुन दोस्रो साता कावासोती–४ मा यमकलाको घर पुग्दा उनी उदासीमा कतै हराएकी जस्ती देखिन्थिन्।
१२ कक्षा पास गरेका नवीन बिहे भोजका भिडियो खिच्ने काम गर्थे। भिडियोको कमाइले नपुग्ने भएपछि टर्की जाने तारतम्य मिलाइवरी उनले आमालाई विदेशिने योजना सुनाएका थिए। धेरै कमाइका लागि विदेश जान लागेको भन्दै छोराले आश्वस्त पारेपछि यमकला आफैं साइत हेराउन पण्डितकहाँ पुगेकी थिइन्। पण्डितले तोकिदिएको ‘शुभ–साइत’ १५ कात्तिक २०७५ मा घरबाट हिंडेका नवीनको दशा टर्की पुगेपछि बिग्रियो।
हराएको छोराको खबर कसले ल्याइदेला ? यमकलालाई थाहा छैन। अवैध बाटो गएको भन्ने थाहा पाएकी उनले सरकारलाई सोध्न पनि सक्दिनन्। पठाउने तारतम्य मिलाएका ज्वाईंलाई सोधौं भने पनि यही कुराले छोरीको घरबार बिग्रेला कि भन्ने डर छ। भन्छिन्, “मैले छोराको खोजखबर गर्दा अरूलाई पीर पर्छ कि भन्ने डर हुन्छ।”
२०५७ सालमा पति बितेपछि यमकलाले दुई छोराको अनुहार हेरेर चित्त बुझाइन्। अहिले कान्छो नवीन बेपत्ता भएपछि उनको पीर दोब्बर भएर बल्झिएको छ।
छोराको खबर पत्ता लगाउन हात हेराउनेदेखि मठ–मन्दिरमा भाकल गर्नेसम्म सके जति सबै गरिन्। “अब त देवीदेउताको भर लाग्न छाड्यो” उनी भन्छिन्, “दुःख सहेर हुर्काएको तन्नेरी छोरो परदेशमा हरायो, यस्तो कसैलाई नहोओस्।”