रातभर जाग्राम बसेर बिरामीलाई ‘भोजन’ गराउने दम्पति


नेपालगन्ज– उमेर झण्डै पाँच दशक पुग्न लागेका जितबहादुर घले र गङ्गा घले दम्पति नेपालगन्ज मेडिकल कलेजका बिरामी र त्यहाँ कार्यरत कर्मचारीका लागि रातमा भोजन गराउने ‘भगवान’ सावित भएका छन् ।

निदको माया मारेर रातभर जाग्राम बस्ने यि दम्पत्तिले २०७३ सालदेखि अस्पताल छेउमा ठेलामा बिभिन्न थरीका नास्ता पकाउँदै आएका छन् । कोरोना महामारी जस्तो जोखिममा समेत उनीहरुले अस्पतालका बिरामी र स्वास्थ्यकर्मीलाई नास्ताको सेवा दिइरहे ।

जतिबेला अरुलाई पानी समेत दिन मान्छेहरु हिचकिचाउँथे त्यतिबेला उनीहरुले भोका बिरामीलाई भोजन दिन्थे । ती दिन सम्झदै उनीहरु भन्छन्–‘कोरोना लागेर आजै मरिन्छ की भोलि मरिन्छ भनेझै हुन्थ्यो तर बिरामी र अस्पतालमा काम गर्ने कर्मचारीको मायाले त्यो जोखिम उठाउन आइरहन्थौं ।’

घले दम्पत्तिले ठेला शुरु गर्नु पछाडीको मार्मिक कथा छ । सुर्खेतमा होटल चलाइरहेका उनीहरुलाई २०७३ मा समस्या आइलाग्यो । जितबहादुरलाई हृदयघात भयो । उनलाई उपचारका लागि गङ्गाले नेपालगन्ज मेडिकल कलेज ल्याइन । जीवनमरणको अवस्थामा रहेका जितबहादुरलाई १९ दिन आइसियुमा राखेर उपचार गरे पछि ठिक भए ।

श्रीमान बिरामी पर्दा गङ्गा बिरामीलाई रातमा खुवाउने भोजनमो अभाव देखिन । क्यान्टिनमा चिया मात्र हुन्थ्यो अरु बाहिर पनि पाइदैन थियो । दिनभर जस्तोसुकै नास्ता पाइने भएपनि रातमा ठप्प हुन्थ्यो । अस्पतालका बिरामी र स्वास्थ्यकर्मीले नास्ता खान पाउदैन थिए । त्यही देखेर उनीहरुले सन्चो भएपछि घर गएनन् यतै अरुको ठेला भाडामा लिएर रातभर जाग्राम भएर नास्ता बनाउन शुरु गरे । शुरुका दिनमा त कोही आएनन् तर अहिले भने नगए सुःख पाइदैनन् । कुन काम गरेर नगए अस्पतालका डाक्टरदेखि अरु कर्मचारीसम्मले फोन गर्छन । यसो हुनुमा उनीहरुको सेवाभाव र गुणस्तरीय नास्ताको कारण हो ।

‘हो, यो चलाएर हाम्रो जिविकोर्जान हुन्छ त्यो भन्दा अरु केही मिल्छ भन्ने स्वार्थ छैन । हिजो हामीलाई पर्दा समस्या भोगेकाले अरु बिरामीलाई मर्का नपरोस् भनेर काम गरिरहेका छौं ।’ गङ्गाले भनिन्–‘अरु भन्दा सस्तो, गुणस्तरीय र सेवाभावले काम गर्दा हामीलाई सबैले माया गर्छन ।’ बिशुद्द सेवाभावले काम गर्दै आएका उनीहरु आधीहुरी र पानी नभएरै रातभर जाग्राम भएर काम गर्छन । साँझ ८ बजेदेखि बिहान ८ बजेसम्म ठेलामा पसल चलाउँछन् । यसमा आउने केही पैसाले आफ्नो दैनिकी भने चलेको छ । जितबहादुर भन्छन्–‘यो बाहेक अरु ठुलो केही मिल्ला भन्ने छैन । अस्पताल र त्यहाँ आउने बिरामीको मायाले हामीले यो दुःख गरिरहेका छौं ।’

यसरी काम गर्दा उनीहरुले अनेक बाधा व्यवधान व्यहोर्दै आएका छन् । रात्रीकालिन समयमा आउने अनेक मान्छेहरुले निम्त्याउने समस्या अनि प्रहरीले गर्ने धरपकडबाट उनीहरु प्नि प्रभावित छन् । केही दिनअघि सेतुबिक चोकमा ठेलामा नास्ता खान आएकाहरुबीच भएको झडपले ठुलोरुप लियो । त्यपछि भने प्रहरीले शान्ती सुरक्षाको कारण देखाउँदै ठेला लगाउन अनुमति दिन मानेको छैन ।

यसबाट तनावमा रहेका उनीहरु भन्छन्–‘प्रहरीले शान्ति सुरक्षाका लागि आफ्नो डिउटी गर्नुभएको छ , यसमा हाम्रो केही भन्नु छैन ।’ अस्पतालका बिरामी र त्यहाँका कर्मचारीका लागि मात्र ठेला सन्चालन गरिएको भएपनि बाहिरका अन्य व्यक्तिहरु आउँदा समस्या हुने गरेको छ । त्यसको पीडा उनीहरुले खेपिरहेका छन् । भन्छन्–‘हाम्रा कारणले शान्ती सुरक्षामा असर पर्नु भएन । सबै कुरा ठिकठाक भएर पहिले जस्तै अस्पतालका बिरामीलाई सेवा गर्ने अवसर मिलिरहन्छ भन्ने आशमा छौं ।

प्रकाशित मितिः     २९ भाद्र २०७९, बुधबार ०९:०८  |