नेपालगञ्ज,भदौं २९ । भदौ १२ गते ठुलो तामझाम सहित नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टको नेतृत्वमा शुरु भएको सडक अतिक्रमण हटाउने अभियान सेलाएको छ ।
त्यसदिनयता उक्त अभियान न कतै शुरु भएको छ नत अतिक्रमण नै हटाउने काम गरिएको छ । जनप्रतिनिधीले सस्तो प्रचारका लागि काम गरेको भन्दै आलोचना समेत भइरहेको ।
नेपालगञ्ज उप–महानगरपालिका भईसकेपछि पनि यहाँ ट्राफिक ब्यवस्थापनमा ठुलो समस्या देखिएको छ । यहाँ अव्यवस्थित अटो रिक्साको संचालन, ठेला ब्यवसायको अव्यवस्था, सडकको बीच भाँगमा पार्किङ लगायतका समस्या देखिदै आएका छन् । यि समस्याको समाधानका लागि नेपालगञ्ज उपमहानगरपालिका कडाईका साथ प्रस्तुत हुने अपेक्षा गरेपनि त्यसो हुन सकेन ।
नगर प्रमुख विष्ट सहितको टोलिले सदरलाईन क्षेत्रको स्थलगत अवलोकन गरी समस्या समाधानका लागि पहलकदमी थालेको थियो ।
नेपाल प्रहरी, ट्राफिक प्रहरी सहित नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रतिनिधि, वडा नम्बर ८ का अध्यक्ष रजनिश बाजपेयी समेत सहभागी टोलीले ट्राफिक ब्यवस्थापनमा सहयोग गर्न अटो रिक्सा चालक तथा ब्यवसायीहरुसँग आग्रह गरेको थियो । सम्वद्ध ब्यवसायीहरुको साथ र सहयोग लिएर ट्राफिक ब्यवस्थापन तथा फुटपाथ खाली गराइने नगर प्रमुख विष्टले बताएका थिए ।
पहिलो चरणमा आग्रह गरिएको र दोश्रो चरणमा ब्यवस्थापनका लागि कडारुपमा पेश हुने उप–महानगरपालिकाले जनाएको छ ।
नेपालगञ्जमा केही सडक एकतर्फी गर्ने योजना उप–महानगरपालिकाको छ । ट्राफिक ब्यवस्थापनका लागि एक महिनासम्म अभियान चलाइने र पछि पनि निरन्तरता दिइने विष्टले बताए । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष चुन्नाले नेपालगञ्ज उपमहानगरपालिकाको अभियानमा संघको पुर्ण साथ र समर्थन रहेको बताए ।
फुटपाथ खाली गराउने हो भने ब्यापार ब्यवसाय समेत राम्रो हुने भन्दै उहाँले उपमहानगरपालिकालाई संघसँग समन्वय गरेर अघि बढ्न आग्रह गरे । नगरका सबै ब्यस्त बजार र सडकमा यो अभियान संचालन गरिनेछ ।