नेपालगन्ज – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ ।
आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडलेघाटामा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.२२ अर्ब २६ करोड र राजस्व परिचालन रु ७९ अर्ब ७२ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले घटेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.० प्रतिशतले घटेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ११.८ प्रतिशत रहेको छ ।