काठमाडौं । भदौ महिनामा पनि देशभरी घरजग्गा कारोबार बढ्न सकेन । भदौमा देशभरी ३४ हजार ७२० घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत वर्षको भदौमा ७० हजार ९० घरजग्गा किनबेच भएका थिए ।
सरकारले भूउपयोग नियमावली २०७९ जारी गरेपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै घरजग्गा किनबेच झन सुस्ताएको हो । साउन महिनामा देशभरी ३३ हजार ८३४ घरजग्गा किनबेच भएका थिए । अघिल्लो साउनमा देशभरीका मालपोतबाट ७५ हजार ४१७ घरजग्गा किनबेच भएको भूमि विभागको तथ्यांक छ ।
सरकारले भूउपयोग नियमावली जारी गरेर २७ असारमा कृषि र गैरकृषि भूमिको वर्गीकरण नगरी कित्ताकाट नगर्न मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको थियो । कृषि र गैरकृषि भूमि छुट्याउनका लागि स्थानीय तहमा रहेका भूउपयोग परिषदलाई अख्तियारी दिइएको छ । तर, स्थानीय तहले अहिलेसम्म पनि जग्गाको वर्गिकरण गर्न नसक्दा कित्ताकाट ठप्प भएको हो ।
देशभरी कित्ताकाट ठप्प भएपछि मालपोत कार्यालयमा सेवाप्रवाह पनि ७० प्रतिशतले घटेको मालपोत अधिकृतहरुको भनाई छ ।
मोरङको बेलवारीलाई धनुषा र बाँकेले पछाडि पारे
भदौ महिनामा पनि सुनसरीको इनरुवा सबैभन्दा धेरै घरजग्गा किनबेच गर्नेमा पहिलो बन्न सफल भएको छ । एक महिनामा इनरुवा मालपोतबाट १७ सय ९५ घरजग्गा किनबेच भएका छन् ।
तर, लगातार पहिलो वा दोश्रो बन्दै आइरहेको मोरङको बेलवारी भने भदौ महिनामा कारोबारका हिसावले चौथो नम्बरमा झरेको छ । बेलवारीलाई धनुषा र बाँकेले पछाडि पारेका हुन् ।
भदौमा १४ सय ४४ घरजग्गा किनबेच गराई बाँकेको नेपालगञ्ज मालपोत कार्यालय दोश्रो बनेको छ भने तेश्रो बनेको धनुषामा १३ सय ६९ घरजग्गा किनबेच भएका छन् । बेलवारीबाट १२ सय ६९ घरजग्गा किनबेच भई चौथो बनेको छ ।
भदौ महिनामा झापाको भद्रपुरमा एक हजार ३९, सप्तरीको राजविराजमा ११ सय २५ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।
-नेपालहाेम्स डटकमबाट