- मिसनटुडे दैनिकबाट
नेपालगन्ज – दसैं आउन अब एक हप्ता बाँकी छ । तलबी कर्मचारीहरुका लागि यो समय उत्साहको समय हो । तर बाँकेको डुडुवा गाउँपालिकाको आलेप शाखामा कार्यरत नायब सुब्बा सुजल बस्नेतमा कुनै उत्साह छैन । कारण यसवर्ष गाउँपालिका बजेट र कार्यक्रमविहीन छ । बजेट नआएका कारण गाउँपालिकाले कर्मचारीहरुलाई तलब खुवाउन पाएको छैन । दसैंअघि तलब आउने सम्भावना पनि छैन ।
गाउँपालिकाका कर्मचारीहरु अहिले प्रायः कामबिहीन छन् । दैनिक प्रशासनिक र सिफारिसबाहेकका कामहरु ठप्प छन् । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद पनि रिक्त भएको दुई महिनाभन्दा बढी भइसकेको छ । कर्मचारीहरुमा चरम निराशा छाएको छ । कार्यालयमा आएर पनि काम नहुने भएपछि अधिकांश कर्मचारीहरु हाजिर लगाएर फर्किने गरेका छन् । करारका कर्मचारीहरु अन्यौलमा
छन् । कतिपय कर्मचारीहरुले अन्यत्र जागिरको खोजी गर्न थालिसकेका गाउँपालिकाका एक कर्मचारीले बताए ।
पहुँच भएका कर्मचारीहरुले अन्यत्र सरुवा लिएर गइसकेका छन् । कर्मचारीहरुकै शब्दमा गाउँपालिकाको अवस्था ‘महाबर्बाद’ छ । एक कर्मचारीले भने, ‘दसैं त बरु अर्को वर्ष मनाइन्थ्यो । अहिले त दैनिक खर्च नै धान्न मुस्किल भइसक्यो । केटाकेटीहरुको स्कुल फीसमेत तिर्न नसक्ने अवस्था आइसकेको छ ।’
गाउँपालिकाका कर्मचारीहरु दसैंमा तलब कसरी जोहो गर्ने भनेर अहिले तनावमा छन् । एकजना कर्मचारीले जनप्रतिनिधिहरुको मनोमानीका कारण आफूहरु मात्रै नभै गाउँपालिकाबासीहरु नै समस्यामा परेको बताए । ‘हामी त ऋण दान गरेर भएपनि चलाऔँला । तर यत्रो गाउँपालिकाको सम्पूर्ण काम अवरुद्ध भएको छ । यसको क्षति कसले ब्यहोर्ने रु,’ उनले भने ।
गाउँपालिकाका लेखापाल नारायणप्रसाद सापकोटाका अनुसार अहिले सबै कर्मचारीहरुमा चरम असन्तुष्टि छ । भन्न मात्र सकेका छैनन् । गाउँपालिकाको खाता ठप्प छ । अब गाउँपालिकाको खाता कहिले सुचारु हुन्छ ठेगान पनि छैन । डुडुवामा जसपा र एमाले मिलेर कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष नरेन्द्र चौधरीलाई बजेट नै प्रस्तुत गर्न नदिएपछि गाउँसभा तीनपटक असफल भईसकेको छ । बजेट नआउँदा गाउँपालिकाका कर्मचारीहरुले यसवर्ष दसैंमा तलब नपाउने अवस्था मात्रै आएको छैन, गाउँपालिका नै कार्यक्रम र योजनाविहीन बनेको छ ।
गाउँपालिका अध्यक्ष चौधरी जनता समाजवादी पार्टीका कारण गाउँपालिका अस्तव्यस्त भएको बताउँछन् । कर्मचारीमाथि परेको पीडाबारे आफू अवगत रहेपनि अहिले केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । तिहारअघि गाउँपालिकाको समस्या समाधान हुनेमा उनी आशावादी छैनन् ।
कांग्रेस सभापति पौडेलले मिसन टुडेसँग कुरा गर्दै अहिलेसम्म जिल्लाको राजनीतिक तहबाट डुडुवाको समस्या समाधान गर्ने विषयमा कुनै छलफल नभएको बताए । उनले छलफल गर्नेबारे पनि कुराकानी नभएको बताए । ‘यसबारेमा धेरै कुरा बुझ्न बाँकी छ । सबैकुरा बुझेर आवश्यक सहजीकरण गर्न हामी लाग्नेछौँ,’ गौडेलले भने ।
यता जसपाका बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राई कांग्रेस संवादमा नै आउन नचाहेको बताउँछन् । आफूले संवादका लागि सभापतिसँग प्रयास गरेको भएपनि राम्रो प्रतिक्रिया नआएको उनले बताए । गाउँपालिका अध्यक्षले अन्य स्थानीय तहको जस्तै वडातहलाई पनि बजेटको सिलिङ दिएर बजेट ल्याउने हो भने समस्या समाधान हुने राईको भनाइ छ । ‘यसका लागि हामीले संवादको प्रयास पनि गरेका हौँ । तर उहाँहरुबाट सकारात्मक कुरो आएन । फेरिपनि हामी समस्या समाधानका लागि प्रयास गरिरहेका छौँ,’ राईले भने ।
‘आगामी सहकार्यमा आशंका’
नरेन्द्र चौधरी
अध्यक्ष, डुडुवा गाउँपालिका
डुडुवा अहिले अस्तव्यस्त हुनुमा जनता समाजवादी पार्टी मुख्य कारण हो । बहुमतको बलमा जबरजस्ती गर्न खोजेपछि कहाँ हुन्छ रु जनता र कर्मचारीमाथि त ठूलो पीडा छ नि । तर यस्तो अवस्थामा हामीले पनि केही गर्न सकिने स्थिति छैन ।
तिहारअघि गाउँपालिकाको समस्या समाधान होला जस्तो लाग्दैन । यस्तै हो भने चुनावमा जसपासँगको सहकार्य सफल हुनेमा पनि शंका लागेको छ ।
‘यसबारेमा बुझ्दै छौँ’
नारायणप्रसाद गौडेल
सभापति, नेपाली कांग्रेस बाँके
डुडुवाको समस्या हाम्रो जानकारीमा छ । तर अहिलेसम्म जिल्लाको राजनीतिक तहबाट समस्या समाधान गर्ने विषयमा कुनै छलफल भएको छैन । फेरि यो स्थानीय सरकारको पनि कुरो प¥यो ।
उहाँहरुबीच नै समाधान होस् भन्ने हाम्रो चाहना हो । यसबारेमा धेरै कुरा बुझ्न बाँकी छ । सबैकुरा बुझेर आवश्यक सहजीकरण गर्न हामी लाग्नेछौँ ।
‘संवादको प्रयास सफल भएन’
कमरुद्धिन राई
अध्यक्ष, जसपा बाँके
हामीले त प्रयास गरेका हौँ । तर उहाँहरु नै संवादमा आउन चाहनुभएन । सभापतिजीसँग एक पटक बसेर छलफल गरौँ भन्ने प्रस्ताव पनि गरेको
हुँ । उहाँहरु नै मान्नुभएन । बहुमतकै बलमा सबै गर्ने भन्ने हुँदैन ।
त्यसो हुन्थ्यो भने त नेपालगन्जमा पनि हुन्थ्यो होला । गाउँपालिका अध्यक्षले अन्य स्थानीय तहको जस्तै वडातहलाई पनि बजेटको सिलिङ दिएर बजेट ल्याउने हो भने समस्या समाधान हुन्छ ।