नेपालगन्ज : बैंक तथा बित्तिय संस्थाहरुले असोज एक देखि लागु हुने गरि ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने हुँदा कोभिड महामारी र बित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले चरणबद्ध दवावमुलक कार्यक्रम घोषणा गरेको छ ।
संघले बिहिवार चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नु पर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य आँकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको बताए । उद्योगी, व्यवसायीले एकातिर बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदरको मार खेपिरहेका छन् भने अर्कोतर्फ खुल्ला सीमानाको फाईदा उठाउँदै हुने गरेको अवैध व्यापारले बैध व्यापार गरिरहेकालाई झनै समस्यामा पारेको मन्सुरीले जनाए । महासचिव चिरन्जीवी ओलीले नेपालगन्ज उद्योग वाण्ज्यि संघ वैध व्यापारको पक्षपोषण गर्छ भने स्वदेशी अर्थतन्त्रलाई धरासायी बनाउने गरी हुने अवैध व्यापारको बिरोध गर्दै आएको बताए ।
अवैध आयातसंगै सस्तोको लोभमा सीमापारी किनमेलका लागि जाने उपभोक्ताका कारण स्वदेशी बजार ठप्प हुने अवस्था छ भने राज्यलाई करोडौंको राजश्वको घाटा भइरहेको बताउँदै संघले नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य बिगत केही महिनादेखि पुरा हुन नसकी ३५ प्रतिशतको हाराहारीमा कमी आउनुले अवैध व्यापारले कुन हदसम्म समस्या सिर्जना गरेको छ भने प्रमाणित गरेको जनाएको छ ।
अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको वातावरण बनाउन सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको भन्दै संघले बैंकको चर्को ब्याजदर नियन्त्रण र खुल्ला सीमानाका कारण उत्पन्न समस्या समाधानका लागि सरोकारवाला निकायलाई गम्भीर ध्यानार्कषण गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले निम्न अनुसार चरणबद्ध दवावमुलक कार्यक्रम गर्ने निर्णय गरेको प्रबक्ता टकबहादुर धामीले बताए ।
दवावमुलक कार्यक्रमहरु
१. पत्रकार भेटघाट
–मिति र समय : २०७९ असोज ६ गते बिहिवार दिउँसो ३ बजे
२. बैंकको ब्याजदर बृद्धिको बिरोधमा नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी
एक घण्टा धर्ना एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम
–मिति र समय : २०७९ असोज ७ गते शुक्रवार बिहान ठिक दश बजे
३. अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगन्ज भन्सार कार्यालय जमुनाहचोकमा उपभोक्ता सचेतना एवं दवावमुलक कार्यक्रम
–मिति र समय : २०७९ असोज ८ गते शनिवार आठ बजे