काेहलपुर रोहिणीस्थित भ्युटावर गुणस्तरहिन र असुरक्षित बनाएको भन्दै बिशेष अदालतमा मुद्दा


नेपालगन्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला, कोहलपुर नगरपालिका– ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दान दायर गरेको छ ।

अख्तियारका अनुसार भ्युटावर निर्माणका लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६०९ खर्च गरी गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेकोखुलेको छ ।

अख्तियारले उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिल माया रानाविरुद्ध मुद्दा दायर गरेको छ ।

 

अख्तियारकाे प्रेस बिज्ञप्ति हेर्नुस् !

 

प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०७ गते ।
————————————————-

बाँके जिल्ला, कोहलपुर- ०४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहले लागत इष्टिमेट, नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार नगरी भ्युटावर निर्माण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७१।०७२ र २०७२।०७३ मा सो भ्युटावर निर्माणको लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई रु.१५,०८,६०९।- खर्च गरी गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएकोले सरकारी रकम दुरुपयोग गरी लागत अनुमान र नक्सा समेत वेगर मचान भनी असुरक्षित तथा गुणस्तरहीन भ्युटावर निर्माण गर्ने वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिल माया रानाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिँदा निजहरूलाई सोही दफा १७ ले निर्देषित गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफाको उपदफा (१) को खण्ड (च) बमोजिम विगो रु.१५,०८,६०९।– कायम गरी कैद सजाय र विगोबमोजिम जरिवाना हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी भएको रकमसमेत निजहरूबाट असुलउपर हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा ३५ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी

प्रकाशित मितिः     ७ आश्विन २०७९, शुक्रबार १६:५५  |