आन्दोलनरत व्यवसायीलाई अर्थमन्त्रीको बचन-तत्काल केहि गर्छु


नेपालगन्ज – चर्को बैकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका नेपालगन्जका उद्योग,व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई शनिवार भेटेर आफ्ना समस्या सुनाएका छन् ।

जवाफ अर्थमन्त्री जनार्दन शर्माले देशभरबाट समस्या आएको बताउँनुहुदै काठमाडौं गएर सम्भवत भाेलि नै सराेकारवाला निकायसँग बसेर समस्या समाधानकाे पहल गर्ने वचन दिनुभयाे । उहाँ निजिक्षेत्रकाे समस्याका बारेमा आफू जानकार र गम्भीर रहेकाे उल्लेख गर्दै भन्नुभयो – ठाउँ-ठाउँबाट गुनासाहरु आएका छन् । काठमाडौं गएपछि सम्बन्धित सबै निकायसँग बसेर समाधानकाे बाटाे खाेज्छु ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीकाे नेतृत्वकाे टाेलिले अर्थमन्त्री शर्मालाई भेटेर निजिक्षेत्रले हाल भाेगिरहेकाे  ब्याजदर लगायतका समाधानका लागि ज्ञापनपत्र बुझाएको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयाे ।

संघले चर्को ब्याजदर विरुद्ध र अबैध आयात विरुद्ध आन्दोलन गर्दै आएको छ । शुक्रबार नेपाल राष्ट्र बैंक नेपालगन्जमा धर्ना दिएका व्यवसायीले शनिवार जमुनाह नाकामा स्वदेशमै किनमेलका लागि प्रोत्साहन गर्न प्रचारात्मक अभियान शुरु गरेका छन् । आन्दोलनमै रहेका व्यवसायले शनिवार अर्थमन्त्री  शर्मालाई नेपालगन्जमा भेटेका हुन् ।

अर्थमन्त्रीका प्रेस बिज्ञ बरिष्ठ पत्रकार मनऋषि धितालले व्यवसायीका समस्याका बारेमा अर्थमन्त्री गम्भीर रहनुभएको र समस्या समाधानका लागि तत्कालै सराेकावाला निकायसँग छलफल गरेर समाधानकाे उपाय खाेज्न लाग्नु भएको बताउनुभयाे ।

प्रकाशित मितिः     ८ आश्विन २०७९, शनिबार ०९:४७  |