सुर्खेत । कर्णाली प्रदेशमा तीन सय मेगावाटका दुई वटा पम्प स्टोरेज आयोजना बनाइने छ । स्वदेशी लगानीबाट सल्यानको कुपिण्डे र स्यार्पु तालबाट तीन सय मेगावाट क्षमताको पम्प स्टोरेज आयोजना बनाउन लागिएको हो । लगानी बोर्डले सल्यानको कुपिन्डे ताललाई प्रयोग गरेर सय मेगावाट र रुकुम पश्चिमको स्यार्पु ताललाई प्रयोग गरेर दुई सय मेगावाटको पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रस्ताव अघि बढाएको छ । अहिले ती दुई आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गर्ने काम भइरहेको बोर्डका प्रवक्ता अमृत लम्सालले बताए ।
‘फिल्डमै गएर लिइएको विवरणका आधारमा यी आयोजनाको अवधारणा अघि बढाएका हौं । हाल यसको प्रि–फिजिबिलिटी (पूर्वसम्भाव्यता) अध्ययन गर्ने काम भइरहेको छ । यो अध्ययन गर्न कम्तीमा पनि एक वर्ष लाग्छ,’ उनले भने, ‘अब यस अध्ययनको अन्तिम रिपोर्ट आएपछि मात्रै यी आयोजनाबारे विस्तृत विवरण आउने छ । त्यसकै आधारमा आयोजनाको थप निर्माण प्रक्रिया अघि बढ्नेछ ।’ विशेष गरी हिउँद (सुक्खा) समयको विद्युत् माग र आपूर्तिलाई सन्तुलित बनाउने उद्देश्यअनुसार बोर्डले उक्त दुई आयोजना बनाउने प्रक्रिया अघि बढाएको हो ।
अहिले यी दुवै आयोजना अध्ययनकै चरणमा रहेका छन् । आयोजनाको प्रारम्भिक डिजाइन पनि त्यसवेला नै आउनेछ । यद्यपि, पिक आवरलाई लक्षित गरेर दैनिक ६ घन्टासम्म यी आयोजना सञ्चालन गरिने योजना छ । आयोजनाको विद्युतगृह तथा दोस्रो ड्याम बनाउने स्थल र तिनीहरुको डिजाइनबारे पनि अध्ययन भएपछि थाहा हुनेछ । सम्भाव्यता अध्ययन सम्पन्न भएपछि यी आयोजनामा अनुमान गरिएको लगानी रकमको आकार सानो छ, त्यसैले यी आयोजना स्वदेशी लगानीमै बनाउन सकिने प्रवक्ता लम्सालले जनाए । ‘यी दुवै आयोजनामा जेजति लगानी अनुमान गरिएको छ, त्यो त्यति धेरै छैन,’ उनले भने, ‘त्यसैले स्वदेशी लगानीमै यो आयोजना बनाउन सकिन्छ जस्तो लाग्छ ।’
के हो पम्प स्टोरेज आयोजना ?
पम्प स्टोरेज आयोजनामा विद्युतगृह माथि र तल गरेर दुईवटा ड्याम हुन्छन् । विद्युत् उत्पादन गर्ने क्रममा माथिल्लो ड्याममार्फत विद्युतगृहमा पानी खसालिन्छ । र, विद्युतगृहबाट खेर जाने पानीलाई तल्लो ड्याममा जम्मा गरिन्छ । सोही तल्लो ड्याममा जम्मा भएको पानीलाई पम्प गरेर पुनः माथिल्लो ड्याममा पठाइन्छ । र, सोही पानीबाट पुनः बिजुली उत्पादन गरिन्छ । यो चक्र पूरा गर्दा औसतमा १० प्रतिशतसम्म पानी खेर जान सक्छ । विदेशी मुलुकहरुमा यस्ता पम्प स्टोरेज आयोजना बने पनि नेपालका लागि भने यो नयाँ प्रविधि हो ।
यसअघि नेपाल विद्युत् प्राधिकरणले पनि कास्कीको बेगनास र रुपा ताललाई प्रयोग गरेर एक सय ५० मेगावाट र कुलेखानी ड्याम प्रयोग गरेर एक सय ५० मेगावाटको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अघि बढाएको थियो । यी दुवै आयोजनाले विद्युत् विकासबाट सर्भे लाइसेन्स पनि लिएका छन् । बोर्डका अनुसार सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको मुख्य पर्यटकीय स्थलसमेत रहेको कुपिन्डे ताललाई प्रयोग गरेर सय मेगावाटको पम्प स्टोरेज आयोजना बनाउने प्रस्ताव गरिएको छ ।
जिल्ला सदरमुकाम खलंगाबाट २४ किलोमिटरको ग्रामीण सडकबाट उक्त ताल पुग्न सकिन्छ । तालको क्षेत्रफल ०.२३५ वर्ग किलोमिटर छ । त्यो ताल प्रयोग गरेर आयोजना बनाउँदा नौ करोड डलर लगानी लाग्ने अनुमान गरिएको छ । यो आयोजना बनाउँदा झन्डै ५.५ हेक्टर जमिन चाहिने अनुमान गरिएको छ । आयोजनामा ५० मेगावाट क्षमताका दुई टर्बाइन राखिने प्रस्ताव गरिएको छ । उता रुकुमको बाँफिकोट गाउँपालिकाको स्यार्पु ताललाई प्रयोग गरेर दुई सय मेगावाटको पम्प स्टोरेज बनाउने प्रस्ताव गरिएको छ ।
मुसिकोट बजारबाट ११ किलोमिटरको ग्रामीण सडक पार गरेपछि यहाँ पुग्न सकिन्छ । उक्त तालको क्षेत्रफल २.६ वर्ग किलोमिटर रहेको छ । यो ताल प्रयोग गरेर आयोजना बनाउँदा १३ करोड ५० लाख डलर लगानी लाग्ने अनुमान छ । उक्त आयोजना बनाउँदा ३.५ हेक्टर जमिन चाहिने देखिएको छ । उक्त आयोजनामा सय मेगावाट क्षमताका दुई टर्बाइन राखिनेछ ।