हवाइ भाडा असाध्यै महँगो


नेपालगन्ज –  हवाइ भाडा  आकाशिएको छ। काठमाडौं–भैरहवाको सामान्य अवस्थाको भाडा ३ हजार, ३५ सय हाराहारीमा हुने गरेकामा अहिले दोब्बले बढेको छ।

असोज १५ गतेको लागि सस्तो भाडा ७ हजार ५७५ रुपैयाँ छ। भैरहवाको भाडा ८ हजार ६७५ रुपैयाँ तोकिएको छ।

भैरहवामा यति एयरलायन्स, बुद्ध एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्सले उडानतालिका सार्वजनिक गरेका छन्। असोज १४ गतेबाट दसैँको सार्वजनिक विदा छ।

१५ गतेबाट सस्तोमा हवाइ टिकट पाउन मुस्किल रहेको कम्पनीहरु बताउँछन्। वायुसेवा कम्पनीहरुले गन्तव्यको पूर्ण भाडा लिने गरी टिकट खुलाएका छन्।

सुर्खेत, भरतपुर, तुम्लिङटारलगायतका क्षेत्रमा हवाइ टिकट नै पाइँदैन। काठमाडौं–भरतपुर उडानको लागि हवाइ टिकट नै पाउन सकिने अवस्था छैन। काठमाडौं–भरतपुर रुटमा बुद्ध एयर र गुण एयरलाइन्सले मात्रै उडान गरिरहेका छन्।

काठमाडौं–धनगढी हवाइ भाडा शनिबार अर्थात् असोज १५ गते १४ हजार २५ रुपैयाँदेखि १७ हजार २५ सम्म छ। काठमाडौं–भैरहवा रुटमा उक्त दिन ७ हजार ५७५ रुपैयाँ देखि ८ हजार ७५ रुपैयाँ छ। बुद्ध एयर र श्री एयरलाइन्सले मात्र उडान गरिरहेका छन्।

त्यस्तै काठमाडौं–नेपालगञ्जको भाडा १० हजार ३८० रुपैयाँ तोकिएको छ। कम्पनीहरुले असोज १५ गते १३ हजार ९८० रुपैयाँसम्म भाडा तोकेका छन्।

नेपालगञ्जमा गुण एयरलाइन्स, बुद्ध एयरलाइन्स, श्री एयरलाइन्स, यति एयरलाइन्सले उडानतालिका सार्वजनिक गरिसकेका छन्।

यता काठमाडौं–भद्रपुर १० हजार ५२५ देखि १२ हजार ९५५ रुपैयाँ छ। यो रुटमा यति एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयर, श्री एयरलायन्सले उडान गरिरहेका छन्।

असोज १५ गते काठमाडौं–विराटनगर रुटको भाडा ८ हजार ९०५ रुपैयाँ छ। कम्पनीहरुले १० हजार २०५ रुपैयाँसम्म भाडा तोकेका छन्। बुद्ध एयर, यति एयर, सौर्य एरलायन्स, श्री एयरलाइन्स, गुण एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्।

काठमाडौं–पोखराको भाडा ५ हजार ८८५ रुपैयाँ छ। पोखरामा ६ हजार ९८५ रुपैयाँसम्म तोकिएको छ। पोखरामा बुद्ध एयर, श्री एयरलाइन्स, यति एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्।

एयरलाइन्स कम्पनीले दसैँमा एकतर्फी मात्रै यात्रुको चाप हुँदा बढी भाडा लिनुपर्ने बाध्यता रहेको बताउने गरेका छन्।

 

प्रकाशित मितिः     १० आश्विन २०७९, सोमबार १८:३३  |