काठमाडौं। बैंक तथा वित्तिय संस्थामा जग्गा धितो राख्नका लागि कित्ताकाटको डकुमेन्ट लैजानु पर्ने बाध्यता हटेको छ। नेपाल राष्ट्र बैंकले एक विज्ञप्ती जारी गर्दै मेरो कित्ता मार्फत जग्गा धितो राख्ने सम्बन्धी सम्पूर्ण कामहरु गर्न निर्देशन जारी गरेको हो।
अब नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाइन प्रविधिमा आधारित मेरो कित्ता प्रणालीमार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएकाले उक्त प्रणालीमार्फत सेवा लिन सम्बन्धित संस्थाहरूले यूजर एकाउन्ट लिई डिजिटल प्रणालीमार्फत जग्गाको नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणालीमार्फत कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानीलगायतका सेवाहरू नापी कार्यालयमा उपस्थित नभइ प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको उल्लेख गरेको छ।
वित्तीय संस्थाबाट जग्गाको पूर्ण विवरणसहितको आधिकारिक पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भइ नियमानुसार राजश्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध गराउँदै आएको थियो।
डिजिटल प्रणालीमार्फत् जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ मा भएको व्यवस्था अनुसार सम्पूर्ण सेवा उपयोग गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको राष्ट्रबैंकले सूचनामा उल्लेख गरेको छ।
मातहतका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त सेवा उपयोग गर्न पत्राचार गरिदिन भन्दै नापी विभागबाट अनुरोध भइ आएकाले यस्तो सूचना जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।