नेपालगन्ज – फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन्।
बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष घिमिरेले भएका साना तथा घरेलु उद्योगलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने अवस्थामा राज्य आफैंले नयाँ उद्योग खोल्नु राम्रो नभएको बताए। सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ता चप्पल उद्योगहरु बन्द गरेर बस्नुपर्ने उनको धारणा छ।
सरकारले भएका उद्योगलाई नीतिगतरुपमा संरक्षण गर्नुपर्ने उल्लेख गर्दै घिमिरेले कुनैपनि देशमा सरकार आफैं उद्योग व्यवसायमा लाग्ने गरेको नदेखिएको बताए। उनले सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशतभन्दा बढी सञ्चालन हुन नसकेको बताए। भएका उद्योग पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा राज्य आफैँले नयाँ उद्योग खोल्नु निजी उद्योगीहरुको लागि राम्रो नहुने भन्दै उनले त्यसो भए संघ बिरोधमा उत्रने चेतावनी दिए।
खुला सीमानामा हुने जुत्ताचप्पल चोरी, पैठारी नियन्त्रणमा सरकार सशक्त रुपमा लाग्न संघले माग गरेको छ। चोरीपैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन समेत संघले सरकारसँग माग गरेको छ।