बैंकको ब्याज तिर्न तिर्न नसक्ने अबस्थामा छ,पुनतालिकीकरण गर्न हानकाे माग


काठमाडौं। होटलहरुको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको ब्याज तिर्न नसक्ने घोषणा गरेको छ। कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको जनाउँदै थप दुई वर्षसम्मका लागि पुनतालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

‘अहिलेको परिस्थितिमा हामीले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन असक्षम छौं। सावाँ ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पुर्‍याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय संचालन हुन नसकेको संघले जनाएको छ।

कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रुपमा फैलिरहेको डेंगीको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको संघले जनाएको छ। संघले यसमाथि पर्यटक बढी आउने सिजनमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई घटाउने दाबी गरेको छ।

बैंकको बढ्दो ब्याजदर र समयसीमा भित्र सावाँ ब्याज बुझाउन तीव्र ताकेता नै होटल उद्योगको प्रमुख चुनौती भएको भन्दै संघले भनेको छ, ‘यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन सक्षम नरहेको हुँदा सावाँ ब्याज बुझाउने समयसीमा बढाइ कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गर्नु आवश्यक छ। हालको बढ्दो ब्याजदरले होटल जस्तो अत्यन्त संवेदनशील उद्योग धान्नै नसकिने भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्छ।’

पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको सावाँ ब्याज तिर्न असक्षम रहेको घोषणा गरिसकेको जनाइएको छ। राज्यबाट अबिलम्व सम्बोधन नभएको अवस्थामा मुलुकका होटल उद्योग क्रमिक रुपमा बन्द गरिनुपर्ने बाध्यता आउने संघले चेतावनी दिएको छ।

प्रकाशित मितिः     ३० आश्विन २०७९, आईतवार १८:२५  |