नेपालगन्ज – देशभर रहेका साठ्ठी भन्दा धेरै सिमेन्ट उद्योग मध्ये पैतालिस उद्योग लुम्विनी प्रदेशमा छन् ।
त्यसमाथि हालसम्म देशकै ठूलो सिमेन्ट उद्योग होङ्गसीको उद्योग गण्डकी प्रदेशमा भएतापनि खानीक्षेत्र लुम्विनी प्रदेशमा पर्दछ । लुम्विनी प्रदेश सिमेन्ट उद्योगको ‘हब’ बनेको छ ।
प्रदेश योजना आयोगले लुम्बिनी प्रदेशका सिमेन्ट उद्योग र खानीहरूको अवस्था तथा अर्थतन्त्रमा योगदानका विषयमा अध्ययन गर्दै छ ।
यसले सिमेन्ट उद्योगको अवस्थामा सचित्र प्रस्तुत गर्दै छ ।
सिमेन्ट उद्योगमा पछिल्लो समय २० अर्व बैदेशिक लगानी भित्रिएको छ भने १० अर्व भित्रिने क्रममा रहेको छ ।
लुम्बिनी प्रदेशको भैरहवा, नवलपरासी, दाङ, बाँकेमा उद्योगहरू संचालनमा छन् ।
लुम्बिनी प्रदेशका पाल्पा, दाङ, अर्घाखाँची, प्युठान र रोल्पामा चूनंढुङ्गाखानीको प्रख्यात छन् । यहाँका उद्योगहरुले भारतकाे उत्तरप्रदेश राज्यमा बजार खाेज्दै निर्यात गर्न शुरु गरेका छन् ।
अर्घाखाँची सिमेन्टले भारतमा निर्यात सुरु गरेको छ।
अर्घाखाँची सिमेन्टले १४ सय बोरा सिमेन्ट पहिलो पटक भारतमा पठाएको हो।
सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय गरेसँगै व्यवसायी निकासी गर्न तयार भएका हुन्।
‘आजबाट अर्घाखाँची सिमेन्टले पनि निर्यात सुरु गरेको छ’, अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाकाे भनाई उदृित गर्दै नेपालखबर अनलाइनकाे समाचारमा लेखेकाे छ ‘उत्तर प्रदेशको महाराजगन्जमा पहिलो ट्रक सिमेन्ट निर्यात गरेका हौँ।’
सरकारले निर्यातको कार्यविधि बनाएसँगै अर्घाखाँची सिमेन्टले निर्यात थालेको छ।
मुरारकाले वर्षौँदेखि उठाउँदै आएको माग सरकारले पूरा गर्दा व्यवसायी उत्साहित भएको बताए।
‘सरकारले व्यवसायीबाट कर उठाउँदै आएको छ। निर्यात गर्दा त्यही करको केही प्रतिशत फिर्ता गर्ने हो’, उनले भने, ‘८ प्रतिशत नगद अनुदान पायौँ भने केही हदसम्म भारतीय मार्केटमा प्रतिस्पर्धी हुन्छौँ।’
कम्पनीले रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४०० बोरा ९७० टन ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ पीपीसी सिमेन्ट निर्यात गरेको जनाएको छ।
कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो ।
‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धी सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्नेछ’, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले भने।
मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन । त्यही बजार ‘क्यास’ गर्न भारत निर्यात थालिएको हो । यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकहरुले उपभोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।
सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको आग्रह छ ।
भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट आईएसआई मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।
कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ । जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ ।
सरकारले ३० प्रतिशत मूल्यअभिवृद्धि गरी ५० करोडमाथिको निर्यात गर्दा ८ प्रतिशतसम्म नगद अनुदान र ५० करोडमुनिको निर्यात गर्दा सिमेन्टमा ४ प्रतिशत नगद अनुदान दिने निर्यात प्रोत्साहन कार्यविधि बनाएको छ।
गत असारमा तानसेन सिमेन्टले पनि निर्यात थालेको थियो। तानसेन सिमेन्ट भारत निर्यात सुरु भएको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट भारत निर्यात हुन थालेको हो।
नेपालबाट पहिलोपटक सिमेन्ट विदेश निर्यात हुन थालेको कम्पनीले जनाएको छ। शुक्रबार भैरहवा स्थत सुनौली नाकाबाट तीन ट्रकमा ५० केजीका ३ हजार बोरा (१५० मेट्रिकटन) तानसेन ब्रान्डको सिमेन्ट भारतको गोरखपुर निर्यात भएको हो।
कम्पनीका अनुसार पहिलो चरणमा उद्योगले १० लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको हो। तानसेन सिमेन्ट उत्पादन सुरु भएको २ वर्ष मात्रै भएको छ। जेठ १५ मा आएको बजेट कार्यक्रमल सिमेन्ट निर्यातमा नगद अनुदान दिने बताएको छ।