‘भिआइपी’ नेताकाे सादगीपन


सुर्खेत- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आइपुगे पछि मत माग्न गाउँ-गाउँमा पुगेका छन् । गाउँ पुग्दा उनकाे साथमा सधै लौरो हुन्छ ।

लौरो टेकेर गाउँ पहाड छिचोल्दै मतदाताकाे घर-घरमा पुगेर आफ्नो याेजना सुनाउछन् र मत दिन अनुराेध गर्दै आएका छन् । हातमा लौरो बाेकेर हिड्ने उनकाे पुरानै बानी भएको नेताहरु बताउँछन् ।

उनकाे अर्को बिशेषता भनेकाे अरुको घरमा खाना खादा आफुले खाएको भाडा आफै माझ्नु हो । उनकाे सरलपन कार्यकर्ता माझ लाेकपृय छ । गुर्भाकाेटबाट उदाएर देशकै उच्च तहका नेता बने पनि उनकाे सरलता र सादगिपन उदाहरणीय छ ।

मंसिर चार गते हुने चुनावमा भोट माग्नका लागि खड्का गृह जिल्ला सुर्खेत आइपुगे लगत्तै निर्वाचन क्षेत्रमा छन् । खड्का सुर्खेत क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार हुन् ।

२०४८ सालयता हरेक निर्वाचनमा विजयी हासिल गरेका खड्काले २०७४ मा भएको निर्वाचनमा गठबन्धनको असरका कारण झिनो मतले पराजय भोगेका थिए । यसपालि भने खड्कालाई गठबन्धनको साथ रहेको छ ।

उनले नागरिकका लोकतान्त्रिक अधिकारहरूलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्नका लागि पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पुर्‍याउन समेत मतदाताहरूसँग अपिल गरेका छन् ।

खड्काले प्रदेश र केन्द्र सरकार वाम लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनाहरूलाई अवसरमा बदल्न सकिने बताए । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले जिल्लामा आफूहरूले सुरु गरेका विकास निर्माणका काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्‍याउने काममा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

‘कर्णालीबाट राष्ट्रिय राजनीतिमा सधैँ मैले समन्वयकारी भूमिका निर्वाह गरेको छु । अब देशको भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न समन्वयकारीसँगै हस्तक्षेपकारी भूमिका मेरो रहन्छ,’ खड्का भन्छन्, ‘सुर्खेतसहित कर्णालीका हरेक समस्याको समाधानका लागि मेरो भूमिका रहँदै आएको छ र रहनेछ ।’

उनले आफूलाई समृद्ध र सुशासनयुक्त समाज निर्माण गर्ने अभियानमा लागेको औँल्याए । खड्काले स्थिरताका पक्षमा सडकदेखि सदनसम्म आवाज बुलन्द गर्ने र भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश निर्माणका लागि सत्ता गठबन्धन बनेको बताए ।

फरक प्रशंगमा उनले सुर्खेत विमानस्थल विस्तारका सन्दर्भमा केही प्राविधिक समस्या रहेको भन्दै प्रभावित क्षेत्रका नागरिकको समस्यालाई पनि बुझ्नुपर्ने बताए । उनले विमानस्थल विस्तारका लागि अन्य वैकल्पिक ठाउँहरूको पनि खोजी भएको जिकिर गरे । विमानस्थल विस्तारको विषयलाई लिएर राजनीति नगर्न पनि उनले सबैलाई आग्रह गरे ।

दुइ पटक गृहमन्त्री भइसकेका खड्का युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री, युवा तथा खेलकुद मन्त्री र उद्योग वाणिज्य मन्त्री समेत भइ राज्य संचालनको अनुभव हासिल गरिसकेका छन ।

पार्टिको केन्द्रिय सदस्य , सहमहामन्त्री , महामन्त्री हुदै खड्का  उपसभापति बनेका थिए ।

प्रकाशित मितिः     ३ कार्तिक २०७९, बिहीबार ०९:१९  |