कृषि पढेका भान्जाभान्जीसंग मिलेर सिएले उत्पादन गरे सयपत्री फुल


नेपालगन्ज – तेजप्रकाश दिक्षित परिचित सिए (चार्टर्ड एकाउंटेंट्)  हुन ।

उनले कृषिमा स्नातक गरेका भान्जा भान्जी श्रुति तिवारी र ज्योतिन्द्र तिवारीसंग मिलेर यसपटक तिहारमा प्रयोग हुने फुल उत्पादन गरेका छन् ।

नेपालगन्ज- ६ मा १२ कठ्ठा भाडामा लिएर उत्पादन गरिएको फुल यतिबेला बजारमा बिक्रि भइरहेकाे छ । धनगढी, काठमाडौं, सुर्खेत, दैलेख, रुकुममा पठाएको छ । फुलेका फुल टिप्न र त्यसलाई लाेड गरेर बजार पठाउन घरका सदस्यहरु ब्यस्त छन् ।

पहिलाे उत्पादन सन्तोषजनक रहेकाे बताउँछन् सिए दिक्षित। उनी भन्छन्- हाम्रा चाडपर्वका लागि बिदेशबाट फुल किन्नुपर्ने बाध्यता देखेर याे क्षेत्रमा हात हालेका हौं । पैसा पनि हुन्छ त्याे भन्दा ठुलाे कुरा तिहारमा स्वदेशमै उत्पादन भएको माला प्रयाेग हुनु सन्तोषकाे कुरा हाे ।

केयर फार्म नेपालमार्फत फुलकाे उत्पादन भएको हाे । पहिलाे पटककाे उत्पादनबाट उत्साहित दिक्षितले अर्को पटक दुई बिघामा फुल लगाउने याेजना बनाएका छन् । यसरी स्वदेशमै फुल उत्पादन हुन थाले पनि
भारतबाट फुल भित्रीन्छ ।

नेपाली फूलभन्दा भारतबाट अवैधरुपमा ल्याइने फूलहरु बिक्री गर्ने गरेको पाइन्छ । नेपालगन्ज र भारतीय सीमा नाका खुल्ला भएका कारण पनि नेपालगन्जमा अवैधरुपमा फूल भित्र्याउन सजिलो छ । केही साना व्यापारीले त भन्सार नाका बाटै सानो–सानो परिमाणमा फूलहरु ल्याउने गरेको पाइन्छ । धेरै जसो फूलहरु कपडामा बाँधेर ल्याउने गरिन्छ ।

यसमा भन्सार कार्यालयको पनि कमी कमजोरी देखिन्छ । नेपालगन्ज सरकारले भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाए पनि हिजोका दिन जस्तै आज पनि भारतबाट फूल नेपाल ल्याइने गरिन्छ ।
जसको प्रत्यक्ष मारमा यहाँका पुष्प व्यवसायी एवम् फूल उत्पादक पर्ने गरेका छन् ।

यसका लागि नेपालगन्जका पुष्प किसान एवम् व्यवसायीले पहल नगरेका पनि होइनन् । विगतका दिनमा भारतबाट नेपालमा फूल ल्याउन प्रतिबन्ध नलगाइएको अवस्था नेपाली पुष्प किसानले भारतबाट नेपाल ल्याइने फूललाई क्यारेन्टाइनमा राखेर वा त्यसको परीक्षण गरेर ल्याउनु पर्ने माग राखेका थिए ।

प्रकाशित मितिः     ६ कार्तिक २०७९, आईतवार ०८:५६  |