नाकामा तस्करलाई हाइसन्चो !


नेपालगन्ज – सबैजना चुनाव केन्द्रीत छन् । ठिक यतिनै बेला चोरीपैठारी नियन्त्रणको जिम्मेवारी पाएको भन्सार, सशस्त्र र नेपाल प्रहरीले आँखा चिम्लिदा तस्करहरुलाई हाइसन्चो भएको छ । नेपालगन्ज भन्सारले लक्ष्य भेटाउन नसकेका बेला मौलाएको तस्करीले सिमित व्यापारी र केही कर्मचारी माेटाएका छन् ।

नाकामा तस्करीकाे जालाे नयाँ होइन । फरक के मात्र हो भने यो कहिले बढ्छ कहिले घट्छ । लाईन मिल्दा बढ्ने तस्करी नमिल्दा भने घट्ने गरेकाे पाइन्छ ।

भन्सार नाका हुँदै आधा दर्जन चेकपोष्ट पार गरेर अवैध सामान सके नेपालगन्ज स्टक गर्ने नत्र सिधै कोहलपुर वा अन्य जिल्लाहरुमा पठाउने गरेकाे पाइएको छ । मुल भन्सार नाका बाहेक अन्य चोरबाटोबाट दैनिक कयौं साईकलको सहारामा सामान भित्रिन्छ । हरेक रात चोरनाकामा साईकलको लाईन देखिने गरेको त्यसक्षेत्रका नागरिकहरु बताउँछन् । तर उनिहरु डर,त्रासका कारण सार्बजनिकरुप बाेल्न डराउछन् ।

यसरी भित्रिएको सामान कतिपय तस्करहरुले आफै नेपालगन्जका बिभिन्न पसलमा बिक्री गर्छन भने कतिले व्यापारीको गोदामसम्म पुर्याएर लागत पैसा लैजान्छन् । त्यसरी स्टक गरेको सामान व्यापारीले अन्य जिल्लामा पठाउँछन् ।

यस्तो समूहले  तल्लोदेखि माथिल्लो तहसम्मका कर्मचारीलाई पैसा अर्थात लाइन दिने भएकाले निर्धक्क तस्करी गरिरहेका हुन्छन् । तस्करी गर्नेहरु कहिल्यै पक्राउ पर्दैनन भने पैसामा कुरा नमिल्दा सामान मात्र बरामद हुने गरेको छ ।

तस्करी नियन्त्रणमा कुनै कमजोरी नभएको र सुरक्षा निकायले सार्माथ्य भन्दा धेरै चोरी पैठारी नियन्त्रण गरेको दाबी गर्ने नेपालगन्ज भन्सार, सशस्त्र र नेपाल प्रहरीले बेलाबखत बरामद भएका सामान सार्वजनिक गर्छ । तर तस्करीको मात्रा भन्दा निकै नगन्य सामान बरामद हुने गरेको छ । यी निकायकाे सदावहार प्रतिकृया तस्करी नबढेकाे र  नियन्त्रण गरेकाे हुने गर्दछ ।

गत असाेजमा काेहलपुरमा बरामद चिनी । यो नेपालगन्ज नाका हुँदै त्यहा पुगेकाे थियाे ।

एकातिर सरोकारवाला निकायकाे अनदेखा त अर्कोतर्फ कतिपय तस्करीलाई व्यापारीले नै प्रोत्साहन गरिरहेका छन् ।  तस्करीको सामानले स्वदेशी बजारमा पारेको गलत प्रभावदेखि वाक्क पनि छन् । यस्ता व्यापारी आफै अग्रसर भएर तस्करीका सामान बरामद गर्न थालेको घटनाले पनि बाँकेमा तस्करी मौलाएको पुष्टि गर्छ ।

गत असोज पहिलो हप्ता कोहलपुरमा व्यवसायीले कोहलपुरमा अवैध सामान चिनी बरामद गरे । आधा दर्जन चेकपोष्ट छलेर कोहलपुर पुर्याएको पाँच कुईण्टल चिनी कोहलपुरका व्यवसायीहरुले नै समातेर राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा अनुसन्धानका लागि बुझाएका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेलका अनुसार, नेपालगन्ज–कोहलपुर चल्ने बसबाट तीन जनाले चिनीका बोरा झारेका थिए । सडकमा राखिएको अवस्थामा चिनीका बोरो देखेपछि ल्याउने भागे भने व्यवसायीले चिनी राजश्व अनुसन्धानको जिम्मा लगाए । त्यसको एक हप्ता अघि पनि ठूलो परिणाममा त्यसरी नै चिनी बरामद गरिएको थियो । मंगलवार ल्याउने र एकहप्ता अघि ल्याउने एउटै समूह भएको व्यवसायीहरु बताउँछन् ।

‘यसरी अवैधरुपमा भित्रिने चिनी लगायतका सामानका कारण स्वदेशी उत्पादन र बजार ध्वस्त हुने अवस्था आइसक्यो ।’– अध्यक्ष पौडेलले भने,–‘अन्तिम बिकल्पकारुपमा व्यवसायी आफै यसरी अग्रसर हुनुपर्ने भयो ।’ नेपालमा उत्पादनको भएको चिनीको मूल्य धेरै छ । तस्करहरुले न्यूनतम मुल्यमा पसल–पसलसम्म पुर्याइदिने गरेको पाइएको छ ।

तिहारका बेला नेपालगन्जमा तस्करीसंग जोडिएको एउटा बिषयले पनि बाँकेका सीमावर्तीक्षेत्रमा भइरहेको तस्करीको घटनालाई उजागर गर्छ । नेपालगन्जका अमित गुप्तालाई अवैधरुपमा सामान आयात गर्ने समूहले कुटपीट गरेको छ ।  प्रहरी अनुसन्धानकै क्रममा रहेकाले सत्यतथ्य उजार हुने नै भएपनि नेपालगन्ज नाकामा तस्करको हौसला यसरी बढेको देखिन्छ ।

पिटाई खाने अमित गुप्ता

गुप्ताले आफु एक्स्प्रेस सिटी न्यूज डटकमको प्रधानसम्पादक भएको र समाचार संकलनका क्रममा तस्करहरुले कुटपीट गरेको बताएका छन् । ‘गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नन्दई गाँउ नजिकै तस्करी  भईरहेको आधिकारीक जानकारी हुदाँ सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको’ मिडियाका निर्देशक रामदिन तेलीले दाबी गरेका छन् । यसको बास्तबिकता अनुसन्धानकै क्रममा रहेको भएपनि उक्त घटना तस्करीसंगै जोडिएकोले तस्करहरु कुन हदसम्म जान्छन भन्ने देखिएको छ ।

कस्ले गरिरहेको तस्करीलाई प्रोत्साहन ?

चर्को ब्याजदर,अबैध आयात विरुद्ध आन्दोलनको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलाई पत्रकारले प्रश्न गरे– तपाईंहरु अबैध आयात विरुद्ध आन्दोलन गर्दै हुनुहुन्छ । तर अबैध तरिकाले आएको सामन नै ब्यापारीले बेच्ने गर्दै आएका छन् । यसलाई के भन्नुहुन्छ ?

जवाफमा मन्सुरिले भने– हामी कहिले पनि अबैध ब्यापारको पक्षमा छैनौ । यदि त्यस्तो काम कसैले गर्दै आएका छन् भने कानुन बमोजिम तत्काल दण्ड गरून् ।

नेपालगन्ज उद्योग वाणिज्य संघ त अबैध आयात रोक्न माग गर्दै दावावमुलक अभियानमै रहेको महासचिव चिरञ्जीवी ओलीले बताए ।

अबैध आयात रोक्न र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न जमुनाहका पुगेर प्रचारात्मक अभियान गर्दै व्यवसायी ।

उनका अनुसार अबैध आयातसंगै खुल्ला सिमाको फाइदा उठाउदै सिमापार किनमेल गर्न जाने सर्बसाधारणलाई स्वदेशमै किनमेलको लागि प्रोत्साहित गर्न प्रचारात्मक अभियान थालिएको छ ।

तस्करी नियन्त्रणकाे माग गर्दै केही दिन अघि जमुनाह नाका पुगेका व्यवसायी ।

सस्तोमा खरिद गरेर बिना भन्सार त्यसरी ल्याउने समान मुनाफा धेरै लिएर बेचबिखन हुने गरेको पाइन्छ । यसरी हुने तस्करी नियन्त्रण गर्न उद्योग वाणिज्य संघहरु नै सडकमा आएपछि तस्करी नियन्त्रण गर्न सरकारले खटाएका निकायले सजिलो मान्नुपर्ने हो ।

तस्करी नियन्त्रण गर्न सरोकारवाला निकाय सक्रिय हुनुपर्ने र बैध ब्यापारलाई प्रोत्साहन गर्नुपर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीस बताउँछन् । उनी भन्छन– यस्तो अबैध कारोवार गर्नेले निश्चित मान्छेलाई त फाईदा गर्ला तर बैधानिक रुपले ब्यापार गर्ने ब्यापारी र राज्यलाई नोक्सान गरिरहेको छ ।

 

प्रकाशित मितिः     १५ कार्तिक २०७९, मंगलवार १३:५६  |