तीन प्रदेशका पर्यटन व्यवसायीलाई नेपालगन्जमा ‘टुर प्याकेज’ निर्माणको प्रशिक्षण


बाँके–पश्चिम नेपाल अन्र्तगत लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायीहरुलाई ‘टुर प्याकेज’ निर्माण र अन्र्तराष्ट्रिय हवाई टिकटिङ्गका बारेमा प्रशिक्षण दिन थालिएको छ ।

पर्यटन प्रर्बधनमा टुर एण्ड ट्राभल्स् र तारे होटललाई प्रोत्साहित गर्न नाट्टा बाँकेको समन्वयमा बुधवारदेखि शुरु भएको चार दिने प्रशिक्षणको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख बिष्टले पश्चिम नेपालको पर्यटकीय गन्तव्यलाई परिचित बनाउनका लागि पर्यटन व्यवसायीले टुर प्याकेज बनाउनैपर्ने आवश्यकता देखिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘त्यसका लागि अहिले दिन लागिएको तालिम निकै प्रभावकारी रहोस् मेरो शुभकामना छ । तालिम लिइसकेपछि व्यवहारमा उतार्नुहोला ।’

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले परम्परागतरुपमा हुँदै आएको पर्यटन उद्योगलाई प्रभावकारी बनाउन तालिमको आवश्यकता खड्किएको महसुस गरिएको बताउनुभयो । ‘अनि हामीले सरोकारवाला निकायसंग सल्लाह गरेर उहाँहरुकै सहयोगमा यो प्रशिक्षण राखेका हौं ।’– अध्यक्ष सिग्देलले भन्नुभयो ।

नाट्टा बाँकेको अगुवाईमा बिभिन्न पर्यटकीय गतिविधि भइरहेका छन् । पछिल्लो समय पश्चिममा तारे होटल र टुर एण्ड ट्राभल्स्ले टुर प्याकेज उत्पादन गरी पर्यटकीय गतिविधि बढाउनुपर्ने निष्कर्ष निकालेर यस्ता प्रशिक्षणको आवश्यकता महसुस गरेका थिए ।

 

 

प्रकाशित मितिः     १६ कार्तिक २०७९, बुधबार १४:१२  |