ग्रीन सिटीको प्रोजेक्ट बाँके क्षेत्र नं. ३ मा लागू गर्ने किस्मतकाे संकल्प


नेपालगन्ज –  नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मत कुमार कक्षपतिले ग्रीन सिटीको प्रोजेक्ट तीनवटै पालिकामा संचालन गरिने बताएका छन् ।

जानकी गाउँपालिका वडा नं. ४ का विभिन्न टोलमा घरदैलो तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार कक्षपतिले सो कुरा बताएका हुन ।

उनी खजुरा गाउँपालिकाको अध्यक्ष हुँदा खजुरामा भित्र्याउन सफल ग्रीन सिटीको प्रोजेक्ट जानकी र बैजनाथ गाउँपालिकामा पनि विस्तार गरेर दीगो आर्थिक विकास गरिने प्रतिबद्धता जनाएका हुन ।

उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरण, शिक्षामा सीपमूलक र व्यवसायी, स्वास्थ्यमा उचित व्यवस्थापन गरेर आफ्नो क्षेत्रमा विकास गरिने बताए । रोजगारीका अवसरका लागि उद्योग कलकारखानालाई अगाडि बढाइने बताए । क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओलीले जानकी ४ लगायत आफ्नो क्षेत्रमा रहेको लालपुर्जाको समस्या समाधानमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य पदम धितालले स्थानीयका लालपुर्जा जस्ता समस्यामा एमालेको सरोकार रहेकोे बताए । एमाले उपाध्यक्ष डिल्ली बिसी, उपसचिव भूमिसरा धिताल, प्रचार संयोजक सतीश निरौला, युवा नेता किशोर थापा, किरण ढकाल लायत जिल्ला र स्थानीय नेताको घरदैलोमा सहभागिता जनाउँदै जनतासंग अन्तरक्रिया गर्दै आएका छन् ।

प्रकाशित मितिः     १७ कार्तिक २०७९, बिहीबार २०:३८  |