शिखर प्लाइ पहिलो पटक भारत निर्यात


बाँके – प्लाई उद्योगमा देशभर ख्याती कमाएको नेपालगन्जको शिखर प्लाई उड उद्योगले सोमवारदेखि भारतमा निर्यात शुरु गरेको छ ।

उत्तरप्रदेशको महाराजगंजका लागि पहिलो खेपमा करिव २८ टन प्लाई पठाइएको शिखर प्लाई उद्योगका सञ्चालक चम्पाल बोथराले बताउनुभयो । बोथराका अनुसार स्वदेशी कच्चा पदार्थबाट उत्पादन भएको प्लाई निर्यात गरिएको छ ।

‘छब्बिस बर्ष अघि उद्योग खोल्दा हामीले देखेको सपना अहिले पुरा भयो ।’ आफ्नो उत्पादन भारत निर्यात गर्दा खुसी देखिनुभएका उद्योगी बोथराले भन्नुभयो–‘कृषक दाजुभाईहरुले लगाउनुभएको कच्चा पदार्थका कारण यो सम्भव भएको हो ।’ प्लाई उत्पादनका लागि नभई नहुने लिप्टीस जस्ता रुख लगाउन बोथराले अभियान नै शुरु गर्नुभएको थियो । उहाँकै सहयोगमा लगाइएका रुखहरु प्लाईमा प्रयोग गर्न मिल्ने भएका छन् । कच्चा पदार्थको सहजताका कारण निर्यातको माहोल बनेको बोथराले बताउनुभयो ।

‘बिगतमा त्यस्तो कच्चा पदार्थ भारतबाट हामीले मगाउनुपथ्र्यो । कच्चा पदार्थमै करोडौं रुपैयामा त्यता जान्थ्यो तर अहिले अबस्था ठिक बद्लिएको छ । स्वदेशमै कच्चा पदार्थको उपलब्धताले हामी प्लाई भारत निर्यात गर्न सक्षम भएका हौं । यसले देशमा बिदेशी मुद्राको बढोत्तरी र कच्चा पदार्थ उत्पादनमा लागेका कृषकलाई फाईदा गर्छ ।’– बोथराले भन्नुभयो ।


शिखर समूह अन्र्तगतको शिखर प्लाई उद्योग नेपालगन्जमा २०५२ सालमा स्थापना भएको थियो । अर्को प्लान्ट कोहलपुरको पार्वतीपुरमा सन्चालनमा छ । । यि दुबै उद्योगमा करिव सात सय जना प्रत्यक्ष रोजगारीमा छन् । उद्योगकै अग्रसरतामा कच्चा पदार्थमा प्रयोग हुने रुखहरु लगाउने कृषकलाई पनि फाईदा पुगेको छ । शिखरले उत्पादन गरेको प्लाई देशका लगभग सबै बजारमा पुगेको छ ।

सरकारले चालु बजेट मार्फत स्वदेशी उत्पादनलाई निर्यातका लागि प्रोत्साहन गर्ने नीति लिएका कारण पनि निर्यात सम्भवत भएको हो । निर्यातको करिब ८ प्रतिशतसम्म अनुदान सहयोग गर्ने नीति लिएको छ । उद्योग बोथराले सरकारका तर्फबाट सकारात्मक सहयोग रहेको बताउनुहुँदै निरन्तर निर्यातको अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘मध्यप्रदेश र बनारसबाट समेत माग भएको छ । अशाा छ,सबैको साथबाट निरन्तर निर्यात भइरहने छ ।’

प्रकाशित मितिः     २१ कार्तिक २०७९, सोमबार १४:१४  |