नेपालगन्ज – यातायात व्यवसायीहरूले ऋणको ब्याजदर एक अंकमा झार्न माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गरी ‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्नुपर्ने माग अघि सारेका हुन् ।
‘कोरोना महामारीपछि नेपालको व्यापार व्यवसायमा देखिएको मन्दीसँगै नेपाली व्यापार र व्यवसाय हालसम्म पनि थला परी तरलता अभावको समस्या खेप्नु परिरहेको वर्तमान अवस्थामा वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट एक्कासि गरिएको कर्जाको ब्याजदरमा वृद्धिका साथै ‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ मा गरिएको व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपालको सार्वजनिक तथा मालवाहक यातायात र ढुवानी व्यवसायमा यथेष्ट योगदान दिँदै आएका तीनवटै महासंघले नेपालको अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको तथ्यलाई मनन गर्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने माग पनि गरेका छन् ।
तरलता अभावका कारण उद्योग व्यापार व्यवसायको मन्दीले यातायात व्यवसायलाई राहत सुविधा दिएर व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । एक पक्षीय ढंगले बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिले सार्वजनिक यातायात, मालवाहक यातायात र ढुवानी व्यवसायी पीडित हुनुपर्ने परेको ढुवानी व्यवसायी संघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए ।
उनले पहिले सामान्य किसिमले मात्र सञ्चालनमा रहेको यातायात व्यवसाय अत्यन्त जटिल अवस्थामा पुगेर बन्द नै गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए । उनले अस्वाभाविक रूपमा गरिएको ब्याजदर वृद्धिसँगै संशोधित कर्जा नीतिलाई संशोधन गरी एकल विन्दुमा ब्याजदर कायम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत सम्बद्ध सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह समेत गरे । सरकारले माग सुनुवाइ नगरे चरणबद्ध आन्दाेनल गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।