कैलाली -डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको छ । बुधबार राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको आफन्त चेतन बोहराले जानकारी दिए ।
उनले मृत्यु हुनेमा प्रेम बोहरा, सीता बोहरा, भगवती बोहरा, हर्क बोहरा, धनसरि बोहरा र तुल्छी बोहरा रहेको बताए । त्यहाँ गाउ भरीको घरहरू चर्किएका छन् ।
गाउँका सबै खुल्ला ठाउँमा आगो बालेर बाहिरै बसिरहेका छन् । घर भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको छ । प्रहरी प्रशासन नसकेकाले स्थानीयहरू मिलेर उद्धार गरिरहेका छन्,-उनले भने ।
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १३ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएको थियो ।