उच्च ब्याजदर विरुद्ध देशभर चर्कियो आन्दोलन, महासंघले आकस्मिक बैठक डाक्याे


काेहलपुर उद्योग वाणिज्य संघले गरेकाे बिराेध र्यालि ।

काठमाडौं। ऋणको ब्याज उच्च दरले बढेको भन्दै जिल्लागत संगसंगठनले आन्दोलन थालेपछि नेपाल उद्योग बाणिज्य महासंघले आकस्मिक बैठक डाकेको छ।

जिल्ला-जिल्लामा आन्दोलन हुन थालेपछि महासंघले केन्द्रिय कार्यालय टेकुमा साढे चार बजे पदाधिकारी बैठक डाकिएको हो।

महासंघका अध्यक्ष शेखर गोल्छा बिदेशबाट फर्किएलगत्तै बुधबार साँझ बैठक डाकिएको हो।

नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंकहरुले ब्याज बढाएको व्यवसायीको बुझाइ छ। अप्ठेरो बेलामा सहयोग गर्नुको साटो बैंकहरुले मनपरी सेवा शुल्क र प्रिमियम लिएको उनीहरुको आरोप छ।

भदौको आधार दर नै १० प्रतिशत पुगेको छ। असोजमा आएर बैंकहरुले निक्षेप थप महँगो बनाएका छन्। यसले गर्दा आधार दर अझ उक्लिएको छ। यस आधारमा बैंकहरुले प्रिमियम पनि बढाएका छन्। साथै निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) पनि बढाउँदै लगेका छन्।

यसले गर्दा ऋणको ब्याज दर साढे १८ प्रतिशतसम्म पुगेको छ। नयाँका साथै पुरानो ऋणको ब्याजसमेत बढेपछि निजी क्षेत्र आन्दोलित छ।

जिल्लास्थित संगठनहरुले आफ्नो हिसाबले संघर्षको कार्यक्रमहरु घोषणा गर्न थालेपछि महासंघ नेतृत्व दबाबमा परेको छ। केही दिनअघि महासंघका तीन जना उपाध्यक्षहरुले माइतिघरमा प्रदर्शन गरेका थिए।

उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघइ आँफै आन्दोलनमा सहभागी भएका थिए। यसपछि जिल्ला तथा नगरहरुमा पनि आन्दोलन सुरु भएको छ।

प्रकाशित मितिः     २३ कार्तिक २०७९, बुधबार १२:५१  |