नेपालगन्ज– नेकपा एमाले बाँकेका सचिव रत्न खत्री बाँकेको राजनीतिमा चर्चित अनुहार हुन । बिद्यार्थी होस् चाहे पार्टीको मुल राजनीतिमा खत्री सदाबहार चर्चामा रहे,उत्तिकै उताडचडाव पनि व्यहोरे ।
स्ववियु निर्वाचनमा विद्यार्थीबाट सभापतिमा अनुमोदन भए । त्यसको लामो समयपछि यसपटक खत्री जनताबाट अनुमोदन हुने अवसर सहित बाँके क्षेत्र नं. ३ ‘क’ उम्मेदवार छन् । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको सांसद हुने आंकाक्षा सहित खत्री यतिबेला जनताको घरदैलोमा पुगिरहेका छन् ।
खत्रीको त्यो आंकाक्षा पुरा हुन्छ की हुँदैन निश्चित गर्न मंसिर चार पछिको अन्तिम मतगणना पर्खिनै पर्छ । तर अहिलेसम्मको ग्राउण्ड रियालिटी नियाल्दा भने खत्रीकै पक्षमा माहोल देखिएको छ । ‘अन्यथा’ बाहेक यि तीन कारणले रत्न खत्रीको बिजय सुनिश्चित देखिन्छ ।
१. भताभुङ्ग सत्तागठबन्धन
गठबन्धनका आधारमा हेर्ने हो भने नेपाली काँग्रेस, माओवादी र समाजवादी लगायत दलले उठाएका उम्मेदवार बलिया हुनुपर्ने हो । तर गठबन्धनका उम्मेदवार दुई÷दुईवटा भएपछि बलियो हुने आधार त्यसै भत्किएको छ । गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार माओवादीका आईपी खरेल हुन । तर माओवादीकै अर्को पक्षले खरेलले जित्न नसक्ने अवस्था रहेको भन्दै नेकपा एमालेबाट एकिकृत समाजवादी र त्यहाँबाट स्वतन्त्र हुँदै माओवादीमा पुगेका दलबहादुर सुनारलाई आधिकारिक मानेर समर्थन गरेको छ । यि दुईबीचको बिवाद कायम छ भने काँग्रेसका चर्चित स्थानीय नेता चन्दराम थारु नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बनेका कारण पनि गठबन्धनको मत तितरबितर हुने निश्चितप्रया छ । यि तिनै जनाले गठबन्धनकै मत काट्ने हुन एमालेको मत लिने अवस्था छैन । नेकपा एमाले एकढिक्का रहेको अबस्थामा काँग्रेस,माओवादी,समाजवादीको मत खरेल, सुनार र थारुबीच बिभाजन हुने निश्चित छ जसको प्रत्यक्ष फाईदा खत्रीले पाउने छन् । खरेल निर्वतमान सांसद, सुनार एमालेको तर्फबाट संविधानसभा सदस्य हुँदै राज्य मन्त्री समेत बनिसकेका नेता हुन । दुबै जनता टेष्टेट नेता भएका कारण उक्त क्षेत्रमा खत्रीलाई नेता चुन्नुपर्छ भन्ने मत पनि बलियो छ । एमालेमा हुँदा आन्तरिक संघर्षमा खत्रीले जहिल्यै सुनारलाई साथ दिएका थिए भने संविधानसभा निर्वाचनमा जिताउन खटिएका थिए । सुनारलाई खत्रीले साथ दिएको बिगत स्मरण गर्दै सुनारका समर्थकले समेत अहिले खत्रीलाई सहानुभुती भन्दै मत दिने निष्कर्षमा पुगेका छन् । समाजावादीका युवाहरु त एमालेमै फर्किएर खत्रीलाई जिताउन खटिसकेका छन् । पार्टी फेरिरहेको आलोचना खेपेका सुनार र आधिकारिक उम्मेदवार हुँदाहुँदै पनि गठबन्धनबाट फालिएका खरेलबीच अस्तित्वको लडाई छ । यस्तो असन्तोषदेखि वाक्क भएका माओवादी र समाजवादीकै मतदाताको मत खत्रीका पक्षमा जाँदै छ ।
गत निर्वाचनलाई हेर्दा प्रदेश ‘क’ र ‘ख’ मा नेकपाका उम्मेदवार विजयी भएका थिए । यसपाली सत्ता गठबन्धनले ‘क’मा माओवादी र ‘ख’मा कांग्रेसलाई भाग पारेको छ।
स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेतासुनार दुई दिनअघि मात्रै माओवादी गएपछि समीकरण बिग्रिएको थियो । २०७० सालमा एमालेबाट यही क्षेत्रको सांसद बनेका सुनार समाजवादीमा विद्रोह गर्दै माओवादीमा प्रवेश गरेपछि माओवादीको उम्मेदवार खरेल कि सुनार भन्ने विवाद देखिएको छ। गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार किशोरसिंह राठौरले सुनारलाई बोकेर हिडेका छन् भने खरेल एक्लै चुनावी दौडमा लाग्ने हिम्मत देखाएका छन् । आफु माथी भएको अन्यायका बिरुद्धमा खरेल झुकेका छैनन् बरु डटेर सामाना गरिरहेका छन् । जसले जे भने पनि आधिकारिक उम्मेदवार खरेल नै भए पछि उनका पक्षमा माओवादीको मत जाने प्रष्ट छ ।
प्रष्ट देखिनेगरी नै माओवादी दुई भागमा बाँडिएको छ। एउटाले खरेल र अर्को पक्षले सुनारलाई बोकेको छ। आफ्ना उम्मेदवार नै माओवादीमा गएपछि समाजवादी पनि दुईतिर बाँडिएको छ। केहीले सुनारलाई नै मत हाल्ने मनस्थिति बनाएका छन् भने केहीले उनलाई हराउन लाग्ने प्रतिक्रिया दिएका छन्। तर हसिया हथौड़ा चुनाव चिन्हका कारण खरेलका पक्षमा मत जाने निश्चित छ । प्रदेशमा कांग्रेसबाट गएको निर्वाचनमा प्रदेश उम्मेदवार बनेका चन्तराम थारु नागरिक उन्मुक्ति पार्टीमा जानुले पनि केही असर पर्ने देखिन्छ। गएको चुनावमा उनी एक हजार ६ सय ९४ मतले पराजित भएका थिए । चन्तराम रेशम चौधरीको पार्टीमा जाँदा सत्ता गठबन्धनलाई ठूलो घाटा लाग्ने देखिन्छ । जसको फाईदा एमाले उम्मेदवार खत्रीलाई हुने छ । यसरी उम्मेदवारको रनभुल्लमा परेका मतदाताले उपयुक्त उम्मेदवार खत्रीलाई देखेका छन् ।
२.एकढिक्का एमाले
नेकपा एमालेका बिरुद्धमा काँग्रेस,माओवादी,समाजवादी लगायतका दलले गठबन्धन बनाएको स्पष्ट नै छ । गठबन्धन बिरुद्ध एक्लै चुनाव भिडिरहेको एमालेले आन्तरिक एकतामा जोड दिएको छ । अझ बलियो जनाधार हुँदाहुँदै पनि खजुरा,बैजनाथ जस्ता पालिकामा हार व्यहोरेको बदला अहिले लिनुपर्छ । त्यसैले निर्वाचनमा खटिएको एमालेको आन्तरिक एकता सुद्धृड पारेको छ । सत्तागठबन्धनको मत तितरबितर र एमालेको मत एकढिक्का भएका कारण खत्री बलियो अबस्थामा छन् ।
३. व्यक्तित्वको प्रभाव
एमाले एकढिक्का र भताभुङ्ग गठबन्धन मात्र होइन खत्रीको जित्ने तेस्रो आधार उनको व्यक्तित्व पनि हो । प्रतिस्पर्धी बिगतमा प्रयोग भइसकेकाहरु देखेर मतदाता वाक्क छन् । त्यसरी वाक्क भएकाहले असल व्यक्तित्वका रुपमा खत्रीलाई मतदान गर्ने मुड बनाएका छन् । काँग्रेस,माओवादी र समाजवादीका कयौं मतदाताले उनलाई मत हाल्नुको कारण सुनाउँदै भन्छन्–‘एक त हाम्रो उम्मेदवार को हो भन्ने एकिन छैन । यदि एकिन नै भयो भने पनि उनीहरु बिगतमा माननीय र मन्त्री भइसकेका तर केही नगरेका परे । त्यसैले यसपाली खत्रीलाई पालो दिनुपर्छ भन्ने लागेको छ । गठबन्धनका नाममा बिगतमा प्रयोग भइसकेका र अहिले मारामार गरिरहेकालाई मत दिनु भन्दा खत्रीलाई जिताएर पठाउँदा आँकाश खस्दैन भन्नेमा मनशाय काँग्रेस,माओवादी र समाजवादीका धेरै मतदातामा छ।’ खत्री युवा चेहेरा समेत रहेका कारण पार्टीगत मात्र होइन स्वतन्त्र मत तान्ने ल्याकत राख्छन् ।
को हुन खत्री ?
करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय रहेका खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड तथा मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । लामो समय भूमिगत र प्रहरी हिरासतमा समेत बस्नुभयो ।
एमाले निकट अनेरास्ववियुकोे केन्द्रीय प्रचार विभाग प्रमुखको रुपमा काम गरेपछि उनलोँ एमाले बाँकेको जिल्ला कमिटी सदस्य, उपसचिव र हाल दोश्रो कार्यकाल सचिवको रुपमा कार्यरत छन् ।
सुर्खेतको सिम्तामा जन्मिएपनि उनको बाल्यकाल बाँकेमा बित्यो ।े राजनीतिक कार्यक्षेत्र पनि बाँकेको बैजनाथ र खजुरा गाउँपालिकालाई बनाए । तत्कालिन जिल्ला विकास समिति बाँकेमा एमालेको तर्फबाट दलीय प्रतिनिधी र स्थानीय शान्ति समितिको प्रतिनिधी हुँदा उनले क्षेत्र र जिल्लाको विकास निर्माण र शान्ति स्थापनामा भूमिका निर्वाह गरे ।
समकालिन राजनीतिमा पार्टीको शीर्ष नेतृत्वसँग निकटको समबन्ध बनाएका खत्री जिल्लामा पार्टीगत मात्रै नभएर फरक पार्टीका नेता कार्यकर्ता र नागरिक समाज तथा विभिन्न पेशाकर्मीसँग पनि समान सम्बन्ध बनाउन सफल छन् ।
खत्रीलाई एमाले सहित राप्रपाको पनि समर्थन रहेको छ । राप्रपाका नेताहरु फत्तेसिंह थारु, ठाकुरसिंह थारु, तारकसिंह थारु ल्गायतका नेता कार्यकर्ताहरु खत्रीको पक्षमा लागेका छन् ।
राजनीतिमा पूर्णकालिन भएर लागेका खत्रीले राजनीति शास्त्रमा एमए उत्तिर्ण गरेका छन् । प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने कुशल बक्ताको रुपमा रहेका खत्रीलाई पहिलो पटक बैजनाथ र खजुराका जनताले प्रतिनिधीको रुपमा पठाउने अवसर पाएका छन् ।
यसअघि पटक पटक जनतामा अनुमोदन भएर पनि विकास र समृद्धिका लागि केही गर्न नसकेकाहरु फेरी पनि उम्मेदवार बनेका कारण आम मतदाताको रोजाईमा खत्री परेको देखिन्छ ।